
ट्वीटरलाई रिब्रान्डिङ गर्दै ‘एक्स’ बनाएका इलन मस्कले ट्वीटरको पुरानो लोगो र कार्यालयमा रहेका सयौं सामाग्रीहरु लिलामीमा राखेका छन्।
मस्कले ट्वीटरको चरा भएको साइन, कफी टेबल, ओइल पेन्टिङसहित ५८४ वटा सामाग्री ‘अक्सन’मा राखेका हुन्। लिलामीमा डेस्क, कुर्सी, डिजे बुथ, सांगीतिक सामाग्रीसहित अन्य वस्तु पनि छन्।
अक्सनलाई ‘ट्वीटर रिब्रान्डिङ: अन्लाइन अक्सन फिचरिङ मेरोरबिलिया, आर्ट, अफिस एसेट एन्ड मोर!’ भनिएको छ।
सान फ्रानसिस्कोमा रहेको एक्सको मुख्यालयमा अझै ट्वीटरको चरा लोगो राखिएको छ। मस्कले केही साताअघि चरा हटाएर ट्वीटरको लोगोलाई ‘एक्स’ बनाएका थिए। अहिले भने उनले ट्वीटरलाई पुरै रिब्रान्डिङ गर्दै एक्स नामबाट सञ्चालन गरिरहेका छन्।
कार्यालयमा रहेका बाराक ओबामा र मिसेल ओबामा र इल्लेन डेगेनरको ओइल पेन्टिङसमेत बिक्रीमा राखिएको छ।
अक्सनमा राखिएको प्रत्येक लटको सामानको सुरुवाती मूल्य २५ डलर (करिब ३ हजार ३०० रुपैयाँ) तोकिएको छ। बिडिङ सेप्टेम्बर १२ बाट सुरु हुने र सेप्टेम्बर १४ मा सकिने जनाइएको छ।
ट्वीटर खरिद गरेर त्यसलाई रिब्रान्डिङ गर्नु पूर्व नै मस्कले खर्च कटौती गर्न सुरु गरेका थिए। त्यसक्रममा उनले कयौं कर्मचारीलाई जागरिबाट निकालेका थिए। साथै, उनले भेरिफिसेकन लगायतका फिचरमा पनि व्यापक परिवर्तन गरेका थिए।
यो वर्षको सुरुवातमा पनि मस्कले सान फ्रान्सिसको मुख्यालयबाट सयौं सामान लिलामीमा राखेका थिए। त्यसबेला चरा भएको लोगो एक लाख डलरमा बिक्री भएको थियो।