विद्युत प्राधिकरणको नाफा पोहोरभन्दा १ अर्बले घट्यो, कुलमानले भने- ‘बढी बिजुली आयातले नाफा प्रभावित’

बिजमाण्डू
२०८० साउन २५ गते १५:२० | Aug 10, 2023
विद्युत प्राधिकरणको नाफा पोहोरभन्दा १ अर्बले घट्यो, कुलमानले भने- ‘बढी बिजुली आयातले नाफा प्रभावित’


काठमाडौं। नेपाल विद्युत प्राधिकरणको नाफा गत वर्षभन्दा १ अर्ब ४ करोड रुपैयाँले घटेको छ।

Tata
GBIME

आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए।

प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। प्राधिकरणको संचित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न गरिएको छ ।

प्राधिकरणको तेस्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया समेत अगाडि बढाएको घिसिङले बताए।

संस्थाले इक्रा क्रेडिट रेटिङ AA+ प्राप्त गरेको छ। ‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’ भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिई ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत चुहावट नियन्त्रण, विद्युत् महसुल वक्यौता असुलीलगायतलाई मानक मानेर कार्यसम्पादनको व्यवस्थालाई निरन्तरता दिइएको प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले जानकारी दिए।

बजेट र खर्च नियन्त्रणको लागि केन्द्रीकृत भुक्तानी एवम् अनलाइन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाएको पनि उनले बताए।

विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब बराबरको रकम प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरिएको बताइएको छ। साथै सरकारको कोषमा सावाँ, व्याज र रोयल्टी गरी करिव ३० अर्ब जम्मा गरेको छ ।

वितरण तथा ग्राहक आर्थिक वर्ष २०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत चुहावट ३.९२ प्रतिशतले घटेर हाल १३.४६ प्रतिशत पुगेको छ। वितरणतर्फको विद्युत चुहावट ९.७६ प्रतिशतमा सिमित गरिएको पनि कार्यक्रममा जानकारी दिइयो।