
काठमाडौं। अघिल्लो वर्षको असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म पोखरामा नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो। प्रतियोगिताको खर्च विवरण भने राष्ट्रिय खेलकुद परिषद्ले १० महिनापछि मात्रै सार्वजनिक गरेको छ।
‘प्रतियोगिताका लागि शीर्षकगत रुपमा विनियोजन भएकोमध्ये कुनै शीर्षकमा अपुग र कुनै शीर्षकमा बाँकी हुन गएपछि अपुग शीर्षकमा रकमान्तरका लागि सम्बन्धित निकायहरुसमक्ष अनुरोध गरिएको थियो,’ राखेप सदस्यसचिव टंकलाल घिसिङले भने, ‘रकमान्तरको प्रक्रिया पूरा हुन २०८० साल असार पहिलो हप्तासम्म लागेको र तत्पश्चात् भुक्तानी हुँदा खर्चको यकिन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको हो।’
प्रतियोगिताका लागि नेपाल सरकारले ६० करोड १० लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यस्तै, आन्तरिक आम्दानी ५१ लाख ५२ हजार ७०० रुपैयाँ भएको राखेपको विवरणमा उल्लेख छ।

त्यस्तै, खर्चतर्फ २० वटा शीर्षकमा ५३ करोड ४८ लाख ९२ हजार १९ रुपैयाँ र आन्तरिक स्रोततर्फ ३० लाख १२ हजार २ सय २० रुपैयाँ गरी ५३ करोड ७९ लाख ४ हजार २ सय ३९ रुपैयाँ कुल खर्च भएको राखेपको खर्च विवरणमामा उल्लेख छ।
सबैभन्दा ठूलो खर्च किट् ब्याग, निर्णायक जर्सी र खेल पोसाक शीर्षकमा देखिन्छ। यसमा १५ करोड ३९ लाख ८५ हजार ८ सय २१ रुपैयाँ खर्च देखिन्छ। त्यस्तै, दोस्रो ठूलो खर्च खाना तथा बसोबासमा १३ करोड १७ लाख ७६ हजार ९ सय ७० रुपैयाँ रहेको छ।
यी बाहेक बैठक भत्ता, टिम तयारी खर्च, प्रशिक्षक स्वयंसेवक परिचालन, उपसमिति/समिति सञ्चालन तथा व्यवस्थापन, लोग/मस्कट/मायाको चिनो/ पदक तथा ओलम्पिक टर्च व्यवस्थापन, अनुगमन तथा निरीक्षण समिति बैठक भत्ता, खेलाडी बीमा र डोपिङ टेस्ट लगायत छन्।
त्यस्तै, खेलस्थल निर्माण, प्रचारप्रसार, भीआईपी/भीभीआईपी तथा कर्मचारी दैनिक तथा भ्रमण भत्ता, उद्घाटन तथा समापन समारोह, निर्णायक भत्ता, खेल सञ्चालन र व्यवस्थापन, दैनिक भ्रमण र यातायात, खाना तथा बसोबास, पुरस्कार, खेल सामाग्री, स्वास्थ उपचार तथा सुरक्षा र प्रतियोगिता आयोजना पूर्व खर्च रहेको छ।
उक्त प्रतियोगितामा ३ हजार ४ सय १४ जना पुरुष र २ हजार ७ सय १३ जना महिला सहित कुल ६ हजार १ सय २७ जना खेलाडीले ३ सय ९७ स्वर्ण, ३ सय ९७ रजत र ५ सय ५३ कास्य सहित कुल १ हजार ३ सय ४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए। एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले प्रथम भएको थियो ।
राखेपले ६० करोड १० लाख बजेटबाट ६ करोड ८२ लाख ४८ हजार ४ सय ६० रुपैयाँ बजेट बचत गरेको छ। सदस्यसचिव घिसिङले यो रकम सरकारलाई फिर्ता जाने बताए।
राखेपका सदस्यसचिव घिसिङले ठूला चाडपर्वका समयमा प्रतियोगिता भएको र लगत्तै आमनिर्वाचन-२०७९ मा राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरु खटिएकोले खर्चको हिसाब यकिन गर्न समय लागेको बताए।
भुक्तानीका प्रक्रिया अघि बढाउँदै गर्दा नेपाल सरकारले देशको अर्थ व्यवस्थामा आएको चापलाई ध्यान दिई खर्च कटौतीका लागि सबै क्षेत्रको बजेट रोक्का गर्दा नवौँ राष्ट्रिय खेलकुदको बजेट पनि रोकिन गएपछि भुक्तानी प्रक्रिया पूर्णरुपमा प्रभावित भएको उनको तर्क छ।
‘परिषद्को अनुरोधपछि रोकिएको बजेट शीर्षकहरु फुकुवा गरी दिएकोले भुक्तानी गर्ने कार्य गरिएको थियो। जसका कारण स्वर्णपदक प्राप्त खेलाडीहरुको पुरस्कार रकम समेत ढिला भुक्तानी गर्नुपर्ने अवस्था आएको थियो,’ राखेपको विवरणमा भनिएको छ।