
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज भेटवार्ता भएको छ।
उक्त भेटवार्तामा अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङको ध्यानाकर्षण गराएको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेकोसमेत उनले बताएका थिए। साथै ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न पनि आग्रह गरेका थिए।
महासंघले साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि उनले आग्रह गरेका थिए। यसैगरी नेपालमा चिनियाँ बैंक आउनसक्ने सम्भावनातर्फ पनि ढकालले राजदूतको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ।
ढकालले लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पहल गर्न पनि चीन सरकारसँग आग्रह गरेका थिए।
भेटका क्रममा राजदूत सोङले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताएका थिए। उत्पादनमूलक उद्योग, कृषि, ऊर्जालगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको उनले बताएका थिए।
नेपालमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था पनि गरिनुपर्ने राजदूत सोङको भनाइ थियो। लगानीकर्तालाई नीतिगत स्थायित्व एवं सहज व्यवहार आवश्यक रहने भन्दै चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोङले प्रस्तुत गरेका थिए।
त्यस अवसरमा राजदूत सोङले तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भइरहेको जानकारी पनि दिएका थिए। रासस