लुम्बिनीमा बढ्यो भन्सार छलीका घटना, एक वर्षमा ३१ करोड बढीको सामग्री बरामद

रमेश पराजुली
२०८० साउन २३ गते १८:१५ | Aug 8, 2023
लुम्बिनीमा बढ्यो भन्सार छलीका घटना, एक वर्षमा ३१ करोड बढीको सामग्री बरामद


बुटवल । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा ३१ करोड ५५ लाख रुपैयाँभन्दा बढीको भन्सारजन्य सामग्री बरामद भएको छ।

Tata
GBIME

गत आर्थिक वर्ष २०७९-८० मा प्रदेशका विभिन्न जिल्लाबाट अवैध सामग्री नियन्त्रण गरी ३१ करोड ५५ लाख ३८ हजार ९२५ रुपैयाँ बराबरको भन्सारजन्य सामग्रीसँगै १७४ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

यस्तै, भन्सारजन्य सामग्री ओसारपसारमा संलग्न ४६६ वटा सवारी साधन बरामद गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ। बरामद गरिएका सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल छन्। जिप, कार, भ्यान र ट्रकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी कृष्णबहादुर पल्ली मगरका अनुसार प्रदेशका ८ वटा जिल्लाबाट भन्सारजन्य सामग्री बरामद गरिएको हो। जसमा सबैभन्दा बढी नवलपरासी पश्चिमबाट र सबैभन्दा कम गुल्मीबाट बरामद भएको  उनले जानकारी  दिए। अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुम पूर्वबाट भने कुनै पनि सामग्री बरामद भएको छैन।

आर्थिक वर्ष २०७८-७९ मा भने २६ करोड २८ लाख ९९ हजार १२४ रुपैयाँ बराबरको भन्सारजन्य सामग्रीसँगै १८१ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांकले देखाएको छ। सो अवधिमा सामग्री ओसारपसारमा संलग्न ५११ वटा सवारी साधन बरामद गरिएको थियो। आर्थिक वर्ष २०७९-८० मा अघिल्लो वर्षभन्दा ५ करोड २६ लाख ३९ हजार ८०१ रुपैयाँ बढीका सामग्री बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक पल्ली मगरले बताए।

कुन जिल्लाबाट कति तस्करी?

नवलपरासी पश्चिमबाट ३४ लाख रुपैयाँ बराबरको सुन, अवैध काठबाट १७ लाख ५५ हजार ५५ रुपैयाँ, नदिजन्य पदार्थबाट २५ लाख ७७ हजार ४१० रुपैयाँ र अवैध अन्य सामग्रीबाट ९ करोड २८ लाख ५१ हजार ९६६ रुपैयाँ गरी ९ करोड ७५ लाख २४ हजार ४३१ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद भएको छ।

रुपन्देहीबाट १ लाख ९८ हजार ७६० रुपैयाँ बराबरको सुन, अवैध काठबाट ५ लाख २३ हजार १७८ रुपैयाँ, नदिजन्य पदार्थबाट २८ लाख ८३ हजार ३७५ रुपैयाँ, अवैध मुद्राबाट २४ लाख ५० हजार रुपैयाँ र अवैध अन्य सामग्रीबाट ५ करोड ९६ लाख ४५ हजार १८२ रुपैयाँ गरी ६ करोड ५७ लाख ४९५ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद भएको छ।

यस्तै, कपिलवस्तुबाट १ लाख ८ हजार ६३७ रुपैयाँ बराबरको सुन, अवैध काठबाट ५० लाख ८४ हजार ७० रुपैयाँ, नदिजन्य पदार्थबाट ५ लाख ६६ हजार रुपैयाँ, अवैध मुद्राबाट ७८ लाख ८ हजार १७६ रुपैयाँ र अवैध अन्य सामग्रीबाट ४ करोड ६६ लाख ५० हजार ५०० रुपैयाँ गरी ६ करोड २ लाख १७ हजार ३७३ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद भएको छ।

दाङबाट ४ लाख १४ हजार ७०० रुपैयाँ बराबरको अवैध काठ, नदिजन्य पदार्थबाट १६ लाख २६ हजार २४९ रुपैयाँ र अवैध अन्य सामग्रीबाट ७ लाख ४० हजार रुपैयाँ गरी २७ लाख ८० हजार ९४९ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक पल्ली मगरले बताए।

त्यसैगरी, बाँकेबाट २ करोड ३० लाख ११ हजार ९४८ रुपैयाँ बराबरको सुन, अवैध काठबाट १२ लाख १९ हजार ६८ रुपैयाँ, नदिजन्य पदार्थबाट १५ लाख ८ हजार रुपैयाँ, अवैध मुद्राबाट ३५ हजार रुपैयाँ र अवैध अन्य सामग्रीबाट ४ करोड ४२ लाख ७५ हजार ३९२ रुपैयाँ गरी ६ करोड ८६ लाख ९९ हजार ४०८ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद भएको छ।

बर्दियाबाट भने ७५ लाख १६ हजार ७६१ रुपैयाँ बराबरको अवैध काठ, नदिजन्य पदार्थबाट १ लाख ६७ हजार ५०० रुपैयाँ र अवैध अन्य सामग्रीबाट ८० लाख ४८ हजार ८४८ रुपैयाँ गरी १ करोड ५७ लाख ३३ हजार १०९ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद भएको प्रहरीले जानकारी दिएको छ।

यस्तै, पाल्पाबाट २९ लाख ३ हजार ४०० रुपैयाँ बराबरको सुन, अवैध काठबाट १२ लाख २५ हजार रुपैयाँ र अवैध अन्य सामग्रीबाट ३१ लाख ९६ हजार ७६० रुपैयाँ गरी ६ करोड ८६ लाख ९९ हजार ४०८ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद भएको छ। गुल्मीमा १ लाख ६८ हजार रुपैया बराबरको अवैध नदिजन्य पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ।

सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय र युनिट छन्। तर  सीमा नाकाबाट हरेक दिनजसो भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले तस्करी रोक्न सम्भावित स्थानमा नियमित निगरानीसँगै सवारी साधन र पैदल गस्तीलाई समेत बढाएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले मुख्य नाकामा मात्र नभइ अन्य साना नाकामा पनि प्रहरीले चेकजाँचलाई कडाइ गरेको बताए।