तीन दलबीच कुरा नमिलेपछि संसद् स्थगित, लामिछानेको आक्रोश- संसद चल्दैन, बार्गेनिङ चल्छ

बिजमाण्डू
२०८० साउन २२ गते १७:५७ | Aug 7, 2023
तीन दलबीच कुरा नमिलेपछि संसद् स्थगित, लामिछानेको आक्रोश- संसद चल्दैन, बार्गेनिङ चल्छ
सभामुखको पहलमा बसेको तीन दलका शीर्ष नेताको बैठक। तस्वीर: प्रधानमन्त्रीको निजी सचिवालय


काठमाडौं। संसद्‍को अवरोध खुलाउने सम्बन्धमा सभामुखको पहलमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको दोस्रो बैठक पनि निष्कर्षविहीन टुंगिएको छ। प्रतिनिधि सभा बैठकको समय धकेलेर संसद भवनमा बसेको बैठकमा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको अडान नछोडेपछि शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको हो।

Tata
GBIME

सोमबार अपराह्न प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सभामुख देवराज घिमिरेले आफ्नै उपस्थितिमा सिंहदरबारमा छलफलमा राखेका थिए।

बैठकमा ती दलका प्रमुख सचेतक र सचेतक पनि थिए। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र नयाँ बानेश्वरमा छलफल गरी सहमतिमा पुग्ने बताएका थिए।

अपराह्न १ बजेका लागि तय प्रतिनिधि सभाको बैठक सहमतिका लागि भनेर अपराह्न ४ बजेका लागि सारिएको थियो। तर संसद भवनमा बसेको दोस्रो बैठकमा पनि कुरा मिलेन। एमालेका सचेतक महेश बर्तौलाले सरकारले समिति गठन गर्न नमानेकाले सहमति हुन नसकेको बताए। उनले भने, ‘सदन चलाउन हामी सहमत छौं। तर सरकार छानबिन समिति गठन गर्न तयार देखिएन।’

शीर्ष नेताबीच कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक मंगलबार अपराह्न ३ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको छ। शीर्ष नेताको बैठक मंगलबार बिहान बालुवाटारमा सभामुखको उपस्थितिमा बस्ने भनिएको छ। प्रधानमन्त्री दाहालले मंगलबारको बैठकमा सहमति भइ सदनको अवरोध हट्ने विश्वास व्यक्त गरे।

सभामुख घिमिरेले पनि सहमतिको विकल्प नरहेको भन्दै त्यसका लागि आफूले दबाब दिइरहेको र मंगलबार टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

यसैबीच तीन दलबीच कुरा नमिलेका कारण प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आक्रोश पोखेको छ।

रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ। जनसरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दु:खद’ भनेर लेखेका छन्।

एमालेले सुन प्रकरणमा छानबिन समिति गठनको माग गर्दै साउन १० देखि सदन चल्न दिएको छैन। रास्वपाले भने यस विषयमा छलफलका लागि त्यसै दिन प्रस्ताव दर्ता गराएको थियो।