अर्बको सुन प्रकरणको अनुसन्धान अब प्रहरीले गर्ने, राजस्व अनुसन्धानले बुझाउँदै फाइल

बिजमाण्डू
२०८० साउन २१ गते १६:४८ | Aug 6, 2023
अर्बको सुन प्रकरणको अनुसन्धान अब प्रहरीले गर्ने, राजस्व अनुसन्धानले बुझाउँदै फाइल
ब्रेक शु भित्रको सुन प्रकरण अब प्रहरीले अनुसन्धान गर्ने, राजस्वले फाइल बुझाउँदै


काठमाडौं । राजस्व अनुसन्धान विभागले अर्बको सुन प्रकरणबारे अनुसन्धान फाइल नेपाल प्रहरीलाई बुझाउने भएको छ। आज पत्रकार सम्मेलन गर्दै विभागले प्रहरीलाई अनुसन्धान फाइल बुझाउने जानकारी दिएको हो।

Tata
GBIME

विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणमा पक्राउ परेका व्यक्ति, सामान र अन्य सामाग्री प्रहरीलाई हस्तान्तरण गर्ने जनाएका हुन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएको सुनबारे विभागले १८ दिन पछि जानकारी दिएको हो। ब्रेक शुमा राखेर सुन भन्सारबाट बाहिरएको थियो।

त्यसको अनुसन्धान विभागले गरिरहेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणको अनुसन्धान फाइल प्रहरीलाई बुझाउन निर्देशन दिएपछि विभागले आज औपचारिक जानकारी गराएको हो।

उनले विभागले यो प्रकरणबारे एक तहसम्म अनुसन्धान गरेको र अन्य प्रक्रियाबाट अनुसन्धान गर्नका लागि प्रहरीलाई फाइल सुम्पिन लागेको जानकारी दिए।

‘पक्राउ परेका व्यक्ति, सामान र अन्य सामाग्री प्रहरीलाई हस्तान्तरण गर्न लागेका हौं। अन्य कानून पनि आकर्षित हुने र अनुसन्धान टुंगोमा पुऱ्याउन प्रहरीलाई दिन लागिएको हो,’ ढुंगानाले भने।

विभागले हालसम्म यो प्रकरणमा १८ जनालाई पक्राउ गरिसकेको छ। जसमा ३ जना विदेशी नागरिकसमेत छन्। एक जना भने रिहा भइसकेका छन्।

भन्सार एजेन्ट रुक्मिना सुब्बालाई क्यान्सरको बिरामी भएकाले उपचारको लागि रिहा गरिएको हो। उनलाई आफन्तको जिम्मा जमानीमा रिहा गरिएको हो।

साउन ७ गते भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र सरोज श्रेष्ठसहित भन्सार एजेन्ट सुदर्शन गौतम, यादव पराजुली र रुक्मिना थापालाई पनि नियन्त्रणमा लिइएको थियो। विभागले भारतीय नागरिक थुप्तेन छिरिङ, चिनिया नागरिक जेक्युयाङ लीन, बेल्जियम नागरिक दाबा छिरिङ सहित १८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेडी ट्रेडर्सका संचालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, सुन बरामद भएको ट्याक्सीका चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, पुस्कराज भट्ट,हर्कराज राई र राजन श्रेष्ठ रहेका छन्। उनीहरु सबैलाई विभागले अब प्रहरीमा बुझाउनेछ।