भारतको विद्युतसम्बन्धी नयाँ नीति : नेपाल लगायतका छिमेकीलाई रियल टाइममा किन्न-बेच्न दिने  

दिनेश खड्का
२०८० साउन २१ गते १४:०४ | Aug 6, 2023
भारतको विद्युतसम्बन्धी नयाँ नीति : नेपाल लगायतका छिमेकीलाई रियल टाइममा किन्न-बेच्न दिने  


काठमाडौं। नेपालले भारतमा ‘रियल टाइम मार्केट’मा बिजुली किनबेच गर्न पाउने भएको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण (सीइए)ले क्रस बोर्डर विद्युत व्यापार नियमलाई संशोधन गरेर रियल टाइम मार्केटमा बिजुली बेच्ने सुविधा दिएको हो।

Tata
GBIME

यो सुविधा नेपालले मात्रै नभएर छिमेकी मुलुकहरु भुटान, म्यानमार र बंगलादेशले पाउनेछन्। यी देशले पनि अब भारतमा विद्युत खरिदबिक्री रियल टाइममा गर्न पाउनेछन्।

भारतले अहिलेसम्म छिमेकी मुलुकहरुलाई दैनिक विद्युत बजार ( हे-अहेड मार्केट) मा विद्युत खरिद बिक्रीका लागि अनुमति दिइएको थियो।

अहिले नेपालले भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत ‍डे-अहेड मार्केटमा विद्युत बिक्री गर्दै आएको छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ।

नेपाल विद्युत प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ। एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।

भारतसँग ३ वटा पावर एक्सचेन्ज प्लेट फर्महरु छ। जुन पावर युटिलिटीजहरुले छोटो समयका लागि विद्युत खरिदबिक्री गर्नका लागि प्रयोग गर्छन्। रियल टाइम मार्केट विद्युत खरिद बिक्रीको एउटा सेग्मेन्ट हो, जसले रियल टाइममा विद्युत खरिद र बिक्रीकर्तालाई आ-आफ्नो आवश्यकता पूरा गर्न सक्षम बनाउछ।

यो मार्केटले प्रत्येक आधा घण्टामा नयाँ लिलामीको सुविधा दिन्छ। जसमा पावर चार पटक ब्लक वा लिलामीको गेट बन्द भएको एक घण्टामा डेलिभरी हुन्छ। बिजुली कारोबारको मूल्य र मात्रा दुई पक्षीय बन्द लिलामी बिडिङ प्रक्रियामार्फत निर्धारण गरिन्छ। यदि नेपालले विद्युत खरिद वा बिक्री गर्न चाहे आधा घण्टा अघि बिडिङ गर्नुपर्छ।

भारतले श्रीलंका र माल्दिभ्सलगायत अन्य छिमेकी मुलुकहरुमा विद्युत व्यापार नेटवर्क विस्तार गर्नका लागि नयाँ नीति ल्याएको बताइएको छ।

प्राधिकरणले प्रतिस्पर्धी बजारमा बिक्रीका लागि पठाएको भारतले प्रस्ताव समेत मानेको छैन। अहिले नेपालले ४५२ मेगावाट विद्युत प्रतिस्पर्धी बजारमा बेच्नका लागि अनुमति पाएको छ।

भारतले बिजुली ब्यापारका लागि सीमा जोडेका देश बाहिर पनि हेरिरहेको छ।  भारतले समुन्द्र मुनी केबल बिछ्याएर नवीकरणीय विद्युत निर्यातका लागि सिंगारपुरको पावर ग्रीडमा जोडिन खोजेको छ। सन् २०३० सम्म भारतले ५०० गिगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ। भारतले साउदी अरेबिया र युएईसँग ग्रीड कनेक्सनका लागि छलफल गरिरहेको छ। जसको उद्देश्य ओमन हुँदै नवीकरणीय ऊर्जा निर्यात गर्नु हो।

भारतको पावर एक्सचेन्ज इण्डिया लिमिटेड र हिन्दुस्तान पावर एक्सचेन्जले पछिल्लो विकासमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

भारतले रियल टाइममा विद्युत खरिद बिक्री गर्ने सुविधा दिएको भए पनि थप आयोजनाको स्वीकृति भने दिएको छैन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाटसम्म लैजाने घोषणा गरेका छन्। तर प्राधिकरणले मध्यकालीन विद्युत खरिद सम्झौता (पीपीए)का लागि पठाएको भए पनि ६ महिनादेखि अड्काएको छ।

त्यसैगरी प्राधिकरणले प्रतिस्पर्धी बजारमा बिक्रीका लागि पठाएको प्रस्ताव समेत मानेको छैन। अहिले नेपालले ४५२ मेगावाट विद्युत प्रतिस्पर्धी बजारमा बेच्नका लागि अनुमति पाएको छ। अनुमति पाए अनुसारको विद्युत निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।

इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेडका अनुसार नेपाल र भुटानले बंगलादेशमा ४.४१ अर्ब युनिट विद्युत किनबेच गर्छन्।