
काठमाडौं । काठमाडौंको कमलादीमा निर्माण गरिएको स्काईवाक टावर संचालन भएको एक महिना भएको छ। यो स्काईवाकबाट काठमाडौं शहरको ३ सय ६० डिग्रीमा भ्यु हेर्न सकिन्छ।
एक महिना पूरा भएको अवसरमा वन्डर्स नेपाल प्रालिले विज्ञप्ति जारी गर्दै संचालनको छोटो समयमा नै स्काईवाकमा उल्लेख्य ग्राहक आउनुले आफूहरु उत्साहित भएको जनाएको छ।
कम्पनीले स्काईवाक सबै सरकारी निकायबाट स्वीकृति प्राप्त निर्माण गरेको जनाएको छ। स्काईवाक गत असार १५ बाट संचालनमा आएको हो।
कम्पनीले नेपाल सरकार, काठमाडौं महानगरपालिकासँगै अन्य निकायहरुबाट पूरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रियाहरुलाई पूर्ण रुपमा आत्मसात गर्दै व्यवसाय संचालन गरिरहेको जनाएको छ। कम्पनीले आउने दिनमा पनि नीतिगत तथा प्रक्रियागत पक्षलाई पालना गर्ने प्रतिबद्धता जनाएको छ।
कुल ७८.५ मिटर अग्लो स्काईवाक टावर करिब दुई अर्ब रुपैयाँ लगानी भएको हो। टावरबाट उपत्यका सहर हेर्नेमात्रै होइन १८, १९ र २०औँ तलामा निर्मित ‘एम्पिथिएटर’ रेष्टुराँमा खानपिन गरेर समय बिताउन पनि सकिन्छ।
टावरको २१औँ तलामा उभिएर छेवैको एक सय वर्षभन्दा बढी पुरानो त्रिचन्द्र क्याम्पस, रानीपोखरी र घन्टाघरको ‘एरियल भ्यु’ हेर्दा निकै रोमाञ्चक लाग्छ। त्यति नभएर अलिक पर समानान्तर उभिएको धरहरा, टुँडिखेलका साथै अग्ला भवनहरू पनि हेर्न पाइन्छ।
हाल स्काईवाकमात्रै निर्माण गरिए पनि दोस्रो चरणमा यहाँ बञ्जी र स्वीङलगायतका पर्यटकीय संरचना पनि थप्ने योजना छ। टावरदेखि १८औँ तलासम्म जानका लागि दुईवटा लिफ्टको व्यवस्था गरिएको छ, जहाँ ३० सेकेन्डमै माथि पुग्न सकिन्छ। दुईवटा लिफ्टबाट २४ जनाका दरले एकैपटकमा ४८ जना माथि जान सकिन्छ।
टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ। स्काइवाकलाई कम्पनीले टिकट दर प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकेको छ। तीन फिटभन्दा कम उचाइका र ८० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टिकट लाग्ने छैन भने ७० देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
