
काठमाडौं। विद्युतीय सवारी साधन (ईभी) को प्रयोग बढ्दै गएपछि अमेरिकामा उत्पादक कम्पनीहरु संयुक्त चार्जिङ नेटवर्क बनाउने योजनामा छन्। सरकारी चार्जिङ स्टेसन अपर्याप्त भएपछि उत्पादक कम्पनीहरूले यस्तो योजना बनाइरहँदा नेपालका बिक्रेताहरूले भने अर्को कम्पनीका गाडीलाई आफ्नो चार्जिङ स्टेसनमा रोक लगाइरहेका छन्।
इभी बिक्रेताले आफूले राखेका चार्जरमा अर्को कम्पनीका गाडीलाई चार्जिङ सुविधा नदिँदा पछिल्लो समय नेपालमा समस्या देखिएको छ। सरकारले निर्माण गरेको चार्जिङ स्टेसन सीमित संख्यामा भएको र इभीको प्रयोग बढेकाले समस्या देखिएको हो। सरकारी चार्जिङ स्टेसनमा लामो समय पालो कुर्नुपर्ने बाध्यता छ।
नेपालमा इभीको संख्या दिनहुँ बढ्दो क्रममा रहेकाले चार्जिङ स्टेसनको आवश्यकता बढेको छ। सबैभन्दा धेरै इभी नेक्सन बिक्री गर्ने टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २० वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।
धेरै संख्यामा जेडएस इभी बिक्री गरेको एमजीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले ८ वटा फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पनि देशभर निर्माण गर्ने लक्ष्यसहित हाल ३ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। तर यी कम्पनीले आफूले बनाएका चार्जिङ स्टेसनमा अर्को कम्पनीले बिक्री गरेका गाडी चार्ज गर्न दिँदैनन्। जसका कारण उनीहरूले आफ्नो कम्पनीले भित्र्याएका गाडीको बिक्री बढाउने प्रयोजनका लागि मात्र चार्जिङ स्टेसन बनाएको जस्तो देखिएको छ।
अटो व्यवसायीहरूका अनुसार एउटा कम्पनीले बनाएको चार्जिङ स्टेसन अर्को ब्रान्डका गाडीलाई प्रयोग गर्न नदिने प्रवृत्तिले समस्या भएको छ। अटो व्यवसायीहरूको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा इभी बिक्रेता चार्जिङ नेटवर्क सेयरिङमा जानुपर्ने बताउँछन्।
यस विषयमा नाडाको बैठकमा समेत छलफल भएको छ। थापा भन्छन्, ‘इभीका आधिकारिक विक्रेताले अहिले आफ्ना गाडी खरिद गर्ने ग्राहकलाई सहज वातावरण बनाउनतिर मात्र ध्यान दिएको देखियो, तर चार्जिङ स्टेसन सेयर नगर्दा आफ्ना गाडी किन्नेहरू पनि समस्यामा परिरहेका छन् भन्ने बुझेको देखिएन।’

व्यवहारमा आफ्ना बाहेक गाडी चार्ज गर्न नदिएका विक्रेता आफूहरू चार्जिङ स्टेसन सेयरिङकै पक्षमा रहेको बताउँछन्। किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले बिक्रेता मिलेर फास्ट चार्जिङ नेटवर्क बनाउन सकिने बताए।
पारामाउन्टका महाप्रबन्धक सचिन अर्याल र साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ पनि मिलेर चार्जिङ नेटवर्क बनाइ सेयर गर्दा सबैलाई राम्रो हुने बताउँछन्। यसो गर्न सके हाल चार्जिङमा देखिएको समस्या समाधान हुने र त्यसले इभीको बजार प्रवर्द्धनमा टेवा पुग्ने उनीहरूको बुझाइ छ।

अमेरिकामा जनरल मोटर्स, बीएमडब्लु ग्रुप, होन्डा, हुन्डाई, किया, मर्सिडिज बेन्ज र स्टेलान्टिसले संयुक्त लगानीमा फास्ट चार्जिङ नेटवर्क बनाउन लागेका छन्। अमेरिका र क्यानडामा ३० हजार चार्जर जडान गर्ने यी प्रमुख अटोमोबाइल कम्पनीको तयारी छ।
पहिलो चरणमा अमेरिकाका मुख्य स्थानमा चार्जिङ नेटवर्कको स्थापना गर्ने भनिएको छ। प्रत्येक स्टेसनमा मल्टिपल हाइपावर फास्ट चार्जर रहनेछ। जसले ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ।