
काठमाडौं। नेकपा (माओवादी केन्द्र) भित्र सुन प्रकरणमा संलग्न भएको आरोप लागेका पार्टीका नेताले नै छानबिनको माग गर्नुपर्ने आवाज उठेको छ। बुधबारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीको बैठकमा शुक्रवार केन्द्रीय सदस्यले सुन प्रकरणको विषय उठाएका हुन्। सरकारलाई अनुसन्धान गर्न सजिलो बनाउनका लागि आफैँले विज्ञप्ति जारी गर्नुपर्ने माग केन्द्रीय सदस्यको छ।
माओवादीको कमिटी भद्दा भएकाले माओवादी परिषद्जस्तो भएको टिप्पणी केन्द्रीय सदस्यले गरेको बैठकमा सहभागी नेताले बताएका छन्। पार्टीको नीति कार्यक्रम समाजवादमा जाने भने पनि अहिले पार्टी अस्तव्यस्त भएकाले विघटन हुने खतरा भएको चेतावनी पनि केन्द्रीय सदस्यले दिएका छन्।
शुक्रबारको बैठकमा पनि पार्टी एकताका लागि भइरहेको पहलमा अझै नेता कार्यकर्ता लाग्नुपर्ने र समाजवादी मोर्चालाई पार्टी एकताको अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा नेताहरूले राखेका छन्।

‘महराले विज्ञप्ति जारी गर्नुपर्छ’
केन्द्रीय सदस्य लेखनाथ दाहाल (राजन) ले सुन प्रकरणमा जोडिएको आरोप लागेका उपाध्यक्ष कृष्णबहादुर महराले नै छानबिनको माग गर्नुपर्ने धारणा बैठकमा राखेका थिए।
‘उपाध्यक्ष कृष्णबहादुर महराले अनुसन्धानको माग गरेर विज्ञप्ति जारी गर्नुपर्छ। अवसर पाउँदा पार्टी र जनताको पक्षमा सदुपयोग गर्न नसक्ने, अवसर नदिए पार्टी र नेतृत्वको विरोधी भइहाल्ने महारोग पार्टीभित्र छ,’ दाहालले बैठकमा भनेका थिए।
माओवादीबाट राजकीय पद पाएकाहरूको निर्मम समीक्षा गर्नुपर्ने माग पनि केन्द्रीय सदस्यहरुले माग गरेका छन्। पार्टीबाट महत्त्वपूर्ण भूमिका पाएका कि पलायन हुने नभए नेतृत्वको आलोचना गरेर खुम्चिने गरेकाले पार्टी अस्तव्यस्तको अवस्थामा पुगेको दाहालले बताएका छन्।
‘पटक–पटक मन्त्री, सांसद र राजनीतिक नियुक्ति पाएका नेताको भूमिकाको बारेमा निर्मम समीक्षा आवश्यक छ। अवसर पाउनेहरू अधिकांशले कि पार्टी नै छोड्ने कि अध्यक्षलाई असहयोग गर्ने र पार्टीभित्र बसे पनि मुख्य नेतृत्वको आलोचना गरेर बस्ने अवस्था किन आयो?,’ दाहालले भने।
माओवादी परिषद्जस्तो!
शुक्रबार बोल्ने अधिकांश सदस्यले पार्टीको अहिलेको अवस्थालाई लिएर आलोचना गरेका थिए। अब पार्टी नसुध्रिए अघि बढ्नै नसक्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेर मात्रै उन्मुक्ति नपाइने धारणा केन्द्रीय सदस्य रञ्जित तामाङले राखेका छन्।
तामाङले अहिले माओवादी केन्द्रका कमिटी भद्दा भएकाले परिषद्जस्तो भएको टिप्पणी बैठकमा गरेका थिए।
‘चुस्त दुरुस्त कमिटी बनाउनुपर्यो। यो परिषद्जस्तो भयो। संगठनात्मक जीवन अस्तव्यस्त भइसकेको छ। अब कति बिग्रिने? यस्तो कमिटीलाई विधिसंगत बनाउन सकिँदैन। नीति कार्यक्रम राम्रो बन्छ तर कार्यान्वयन भएन। समाजवादमा जाने भनेका छौँ। अनि त्यही अनुसारको संगठन बनाउनु पर्यो नि,’ तामाङले भनेका थिए।

शुक्रबार ६५ जनाले आफ्नो धारणा राखेका छन् भने हालसम्म बोल्ने केन्द्रीय सदस्यको संख्या १३९ पुगेको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। उनले अधिकांश सदस्य प्रचण्डले प्रस्ताव गरेको प्रतिवेदनमा सहमत भए पनि व्यवहारिक पार्टीमा आलोचना गरिरहेको दाबी गरे।
‘विचार, राजनीति र कार्यदिशा खासै फरक कुरा छैनन्। मुख्य कुरा अहिले भएका कमी कमजोरी सुधार गर्नुपर्छ भन्ने हो,’ उपाध्यायले भने।
‘पार्टी सुधार्न प्रचण्ड तयार हुनुपर्छ‘
बैठकमा पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायतका नेताले धारणा राखेका थिए। उनीहरूले पनि माओवादी केन्द्र अब नसुध्रिए संकट उत्पन्न हुने धारणा राखेका थिए। एक व्यक्तिलाई मात्रै दोष दिएर अघि बढ्न नसकिने धारणा शीर्ष नेताहरूको छ।
सापकोटाले पार्टी सुधार्नका लागि प्रचण्ड नै अघि बढ्नुपर्ने भएकाले निराश नहुन भन्दै ढाडस दिएका थिए।
‘सुधार्न सकिन्छ। नसकिने केही छैन। तर यसमा प्रचण्ड कमरेड लाग्नुपर्छ। हामी सुध्रिनै नसक्ने गरी बिग्रिएका छैनौँ,’ सापकोटाले बैठकमा भनेका थिए।

केही केन्द्रीय सदस्यले भने सुधारका पक्षमा नेतृत्वले पटक-पटक वाचा गरे पनि चुकिरहेको बताएका छन्। अहिले पार्टी सत्तामा हुँदा पनि निराश हुनुपर्ने अवस्था आउनुको दोष नेतृत्वमा रहेका सबैले लिनुपर्ने धारणा पनि केन्द्रीय सदस्यहरुले राखेका हुन्।