वाणिज्य विभागले भन्यो- बजार अनुगमन गर्न जनशक्ति छैन, ११ कर्मचारीका लागि पत्राचार

बिजमाण्डू
२०८० साउन १९ गते १९:२३ | Aug 4, 2023
वाणिज्य विभागले भन्यो- बजार अनुगमन गर्न जनशक्ति छैन, ११ कर्मचारीका लागि पत्राचार


काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका लागि कर्मचारी अभाव भएको गुनासो गरेको छ। व्यापारीहरुले भारतले निर्यात रोकेको बहानामा चामलको भाउ अचाक्ली बढाएकाले बजार अनुगमनको माग बढिरहेका बेला विभागले त्यसका लागि आफूसँग जनशक्ति अभाव रहेको बताएको हो।

Tata
GBIME

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागलाई दैनिक कार्य सञ्चालनकै लागि कर्मचारी अभाव रहेको बताएका छन्। जनशक्ति अभावकै कारण बजार अनुगमन प्रभावकारी हुन नसकेको उनको भनाइ छ। विभागमा ५२ कर्मचारीको दरबन्दी रहेकामा अहिले ४३ जना कार्यरत छन्।

विभागले नजिकिएका चाडपर्वलाई लक्षित गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग ११ कर्मचारी मागेको छ। उसले आफूलाई कर्मचारी चाहिनुको कारणसहित शुक्रबार मन्त्रालयमा पत्र नै पठाएको छ।

‘हामीले कम्तीमा एक जना उपसचिव र १० जना शाखा अधिकृत माग गरेका छौँ’, महानिर्देशक ठाकुरले भने। उनले अनुमगनको अधिकार स्थानीय तहलाई रहेकाले सम्बन्धित पालिकाले पनि चामलमा भइरहेको मूल्यवृद्धिबारे अनुगमन गरे बजारमा स्वच्छता कायम हुने बताए।

विभाग मातहत विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा गरी ५ वटा कार्यालय छन्। ती कार्यालयको काम पनि बजार अनुगमन नै हो।