प्रधानमन्त्रीले सचिवहरुलाई सोधे- एउटै फाइल महिनौँसम्म विभिन्न टेबुलमा किन घुमिरहन्छ?

बिजमाण्डू
२०८० साउन १९ गते १६:५७ | Aug 4, 2023
प्रधानमन्त्रीले सचिवहरुलाई सोधे- एउटै फाइल महिनौँसम्म विभिन्न टेबुलमा किन घुमिरहन्छ?
मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्वीर: प्रधानमन्त्रीको सचिवालय


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यसअघि दिएका निर्देशन अनुसार गरेका कामको एक साताभित्र रिपोर्ट कार्ड पेस गर्न अर्को निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान बसेको मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले सचिवहरुसँग रिपोर्ट कार्ड मागेका हुन्।

Tata
GBIME

उनले यसअघि आफूले विभिन्न मितिमा निर्देशन दिएको उल्लेख गर्दै तिनको पालना भए/नभएको रिपोर्ट कार्ड हप्ता दिनमा बुझाउन भने।’विभिन्न मितिमा भएका निर्णय तथा प्रधानमन्त्रीका रूपमा मैले दिएका निर्देशनअनुरुप के–कति नतिजा हासिल भयो त्यसको तत्काल ताकेता गरी एक हप्ताभित्र रिपोर्ट कार्ड पेस गर्नुहोला,’ उनले भने।

उनले आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि कतिपय सकारात्मक काम भएपनि धेरै विषयमा नतिजामुखी हुन नसक्दा जनस्तरबाट प्रश्न उठिरहेको बताए।

दाहालले सचिवहरुसँग निर्धारण गरेका लक्ष्यअनुसार योजनाहरू किन समयमै सम्पादन गर्न सकिंदैन भनी प्रश्न गरे। भने, ‘कि हामी वस्तुसम्मत ढंगले योजना तर्जुमा गर्दैनौँ कि योजना निर्माण गर्ने प्रणालीमै खराबी छ।’

दाहालले एउटै फाइल महिनौँसम्म विभिन्न टेबुलमा घुमिरहने अवस्था कायमै रहेको भन्दै असन्तुष्टि पोखे। ‘एउटा विधेयक तयार भएर पनि विधेयक समितिमार्फत् मन्त्रिपरिषदमा पुग्न महिनौं लाग्ने अवस्था छ। एउटा नियमावली पारित गराउन हामीले महिनौँ लगाएका छौं। यस्तो ढिलासुस्ती किन?’, उनले भने।

उनले आफूले गरेका निर्णय र दिएका कैयौँ निर्देशन प्रभावकारीरुपमा कार्यान्वयन नभएको गुनासो गरे। ‘निर्णय हुने तर कार्यान्वयन नहुने परिपाटीबाट हामी मुक्त हुने कि नहुने?’, उनले प्रश्न गरे।

दाहालले एउटै फाइल महिनौँसम्म विभिन्न टेबुलमा घुमिरहने अवस्था कायमै रहेको भन्दै असन्तुष्टि पोखे। ‘एउटा विधेयक तयार भएर पनि विधेयक समितिमार्फत् मन्त्रिपरिषदमा पुग्न महिनौं लाग्ने अवस्था छ। एउटा नियमावली पारित गराउन हामीले महिनौँ लगाएका छौं। यस्तो ढिलासुस्ती किन?’, उनले भने।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्ले गरेका कैयौँ निर्णय नै कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री कार्यालयको कामप्रति समेत असन्तुष्टि जनाए। उनले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्नेमा जोड दिंदै भने, ‘प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलोको रुपमा परिचित छ। यसका लागि कामबाटै जवाफ दिनुपर्‍यो।’