हलिउडमा कलाकारको हडतालले फिल्महरुको रिलिज पोस्टपोन्ड, निर्माण कम्पनीलाई घाटा

बिजमाण्डू
२०८० साउन १७ गते १२:०१ | Aug 2, 2023
हलिउडमा कलाकारको हडतालले फिल्महरुको रिलिज पोस्टपोन्ड, निर्माण कम्पनीलाई घाटा
Photo : Reuters

हलिउडमा भइरहेको हड्तालका कारण कैयौं फिल्महरुले आफ्नो प्रदर्शन मिति सारेका छन्। विभिन्न माग राखेर कलाकारहरु करिब एक महिनादेखि हड्तालमा छन्। जसकारण फिल्महरुको छायांकन पनि प्रभावित भएको छ।

Tata
GBIME

यसले सिनेमाको विश्वबजार प्रभावित भएको छ। हड्तालका कारण सोनी पिक्चर्स, डिज्नीजस्ता ठूला फिल्म निर्माण कम्पनीका परियोजनाहरु रोकिएका छन्। ‘स्पाइडर म्यान: बियन्ड द स्पाइडर भर्स’, घोस्टबस्टर्सको सिक्‍वेल र क्राभेन द हन्टर सोनी स्टुडियोले ढिलाइ गरेका केही फिल्महरु हुन्।

डिज्नीले पनि आफ्ना फिल्मको रिलिज ‘सेड्‍युल’ परिवर्तन गरेको छ। मार्भलको प्रोजेक्ट ‘क्याप्टेन अमेरिका’, र द एभेन्जर्सको फिल्म र सिरिजहरु पनि हड्तालका कारण प्रभावित भएको छ। त्यस्तै, डिज्नीको विस, म्यागेजिन ड्रिम्स, पोर थिङ्स्, द नेक्स्ड गोल विन्स् लगायतका फिल्महरुको प्रदर्शनमा पनि ढिलाइ हुने सम्भावना छ। जसकारण फिल्म निर्माण कम्पनीहरुलाई करोडौं डलरको घाटा भएको जनाइएको छ।

हलिउडको हड्तालका कारण यस वर्षको एमी अवार्डसमेत स्थगित हुने बताइएको छ। विश्व टेलिभिजन क्षेत्रकै सर्वोच्च अवार्ड मानिने एम्मी अवार्ड यसअघि सेप्टेम्बरमा हुने तय भएको थियो। तर, अब सो मितिमा अवार्ड नहुने भएको हो।

स्क्रिन एक्टर्स गिल्डको अगुवाइमा सुरु भएको आन्दोलनमा स्ट्रिमिङ प्लेटफर्महरुलाई नाफामा सम्मान विभाजन र काम गर्ने उपयुक्त वातावरण सिर्जना गर्न माग गरिएको छ। गत मे महिनादेखि हडतालमा रहेका राइटर्स गिल्स अफ अमेरिकाका सदस्यसँग मिलेर उनीहरुले आन्दोलन गरिरहेका हुन्। राइटर्स गिल्ड अफ अमेरिकाले एलायन्स अफ मोसन पिक्चर र टेलिभिजन प्रोड्युसर्सविरुद्ध हडताल गर्दै आएको छ।

यस्तै, पारिश्रमिकमा समेत वृद्धि हुनुपर्ने उनीहरुको माग छ। साथै ‘रेसिड्युअल’ बारे पुन: विचार गर्न पनि माग गरेका छन्। टेलिभिजन शो वा फिल्म फेरि प्रसारण गरेबापत कलाकारहरुले पाउने रकम ‘रेसिड्युअल’ हो।

हड्ताल चलिरहँदा न्यूयोर्क सिटी काउन्सिलको सिभिल सेवा र श्रम समितिले हड्ताल गर्ने अभिनेता र लेखकहरूको लागि निष्पक्ष सम्झौताको समर्थनमा प्रस्ताव पारित गरेको छ। सुनुवाइपछि समितिले उनीहरुको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। जुन बिहीबार पूर्ण नगर परिषद्को मतदानमा जानेछ।