इभी बिक्रीको असर रिकन्डिसन बजारमा, सेकेन्ड ह्यान्ड पेट्रोल गाडी बेच्ने बढे, छैन भाउ



शुक्र गिरी
२०८० साउन १७ गते ०६:४२ | Aug 2, 2023
इभी बिक्रीको असर रिकन्डिसन बजारमा, सेकेन्ड ह्यान्ड पेट्रोल गाडी बेच्ने बढे, छैन भाउ

काठमाडौं। विद्युतीय सवारीसाधन (इभी)को व्यापार ‘बुम’ हुँदाको असर पेट्रोलियम पदार्थका ‘सेकेन्ड ह्‍यान्ड’ गाडीमा देखिन थालेको छ। आफूले चलाइरहेका पेट्रोल इन्जिन गाडी बेचेर इलेक्ट्रिक मोडल किन्न चाहने बढेका छन्। धेरैजना तत्कालै बेचे आफ्नो गाडीले कति मूल्य पाउँछ भन्ने सोधिरहेका छन्।

Tata
GBIME
Zonsen

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाका अनुसार अहिले खरिदभन्दा बिक्री गर्नेको संख्या ६० प्रतिशतले बढेको छ। ‘सेकेन्ड ह्यान्डमा गाडी बेच्ने बढे। किन्न आउनेभन्दा बिक्री गर्नेहरु धेरै छन्,’ उनले भने।

गाडी बिक्री गर्न रिकन्डिसनमा पुग्नेमध्ये धेरैले केही समय अघिसम्म बैंकको ब्याजदर र किस्ताले समस्या पारेको बताउने गरेका थिए। तर अहिले बिक्री गर्न खोज्नेमध्ये धेरैजसोले इभी खरिद् गर्न चाहेको सुनाउने गरेका छन्।

उपत्यकामा सेकेन्ड ह्यान्ड गाडी बिक्रेता बाबा बसेर अटो ग्रुपका निर्देशक राजेश खड्गी बिक्री गर्न चाहनेको लहर देखेर चकित छन्। ‘हामी पुराना गाडी बिक्री गर्न आउनेको संख्या हेभी भएको पहिलो पटक देख्दै छौं,’ उनले भने, ‘सेकेन्ड ह्यान्ड बजारमा इभी पनि आएका छन्। तर पुराना पेट्रोल गाडी खरिद गर्नेको संख्या भने निकै कम छ।’

बिक्री गर्नेहरु बढे पनि किन्न चाहनेको संख्या भने निकै पातलो छ। व्यवसायीका अनुसार पेट्रोलका सेकेन्ड ह्यान्ड गाडीको व्यापारमा मन्दी नै त छैन, व्यापार भने निकै खस्किएको छ। ‘पहिला एउटै रिकन्डिसनले मासिक ३० देखि ४० वटा गाडी बिक्री गर्थे। तर अहिले १०-१५ युनिट बिक्री गर्न पनि मुस्किल पर्छ’, कोइराला भन्छन्।

भ्यालुएसन घट्दै

खड्गीका अनुसार ईभीको बजार तातेकाले अहिले पेट्रोलबाट चल्ने गाडीको भ्यालुएसन ३० प्रतिशतसम्मले घटेको छ। ‘बजारमा इन्धनका सेकेन्ड ह्यान्ड गाडीको डिमाण्ड घटेको छ,’ उनले भने, ‘यसले गर्दा गाडीको भ्यालुएसन पनि घटेको छ।’ अघिल्लो वर्ष सेकेन्ड ह्यान्ड बजारमा ४० लाख रुपैयाँ तिर्नुपर्ने गाडी अहिले ३० देखि ३२ लाखमै पाइन्छन्।

गाडी बिक्री गर्न आउनेहरुले सर्भिसिङदेखि इन्धन खर्च धान्न गाह्रो परेको पनि बताउने गरेका छन्। ‘इन्धन गाडीमा मासिक १५ हजार खर्च हुनु सामान्य हो। तर इभीमा खर्च निकै नगन्य छ। यो बुझेर पनि होला पेट्रोल गाडी बेच्न चाहनेहरु धेरै देखिएका छन्। तर भने घटिरहेको छ’, खड्गीले भने।

इभी ४० देखि ६० लाख रेन्जमा पाइने भएकाले उपभोक्ता पेट्रोलका गाडी बिक्री गरेर त्यतातर्फ आकर्षित भएका छन्। क्रेटा, सेल्टोस, इकोस्पोर्ट जस्ता गाडी २५/३० लाख रुपैयाँमा बेच्नेहरु इभी किनिरहेका छन्। इभीको बजार ३० प्रतिशतले बढेको छ।

त्यसो त बजारमा सेकेन्ड ह्यान्ड इभी गाडी पनि बिक्री हुन थालेका छन्। खड्गीको रिकन्डिसनमा अहिले २५ देखि ५२ लाखसम्मका इभी बिक्रीमा छन्। सेकेन्ड ह्यान्ड इभीको भ्यालुएसन भने पेट्रोलका गाडीको जसरी घटेको छैन। ‘हुन्डाइको एक वर्षअघि ६४ लाखमा किनेको कोना ५२ लाखमा बिक्री भयो,’ खड्गीले भने, ‘तर पेट्रोलको गाडीमा रिसेल भ्यालु त्यति छैन।’

ईभीलाई ऋण सहजै

इभी खरिद गर्नेलाई बैंक वित्तीय संस्थाले ऋण सहजै उपलब्ध गराउने गरेका छन्। इभीलाई बैंकले मूल्यको ८० प्रतिशतसम्म ऋण दिने गरेका छन्। तर पेट्रोलका गाडी किन्न ५० प्रतिशतभन्दा बढी पाइँदैन।

पछिल्लो समय सरकारले नै इभीलाई प्राथमिकतामा राखेर ऋण प्रवाह गर्न प्रोत्साहित गरेको छ। गत वर्ष ४ हजारभन्दा धेरै इभी भित्रिंदा पेट्रोलका ४ हजार गाडी भन्सार नाकामा थन्किएका थिए।