
काठमाडौं।संवैधानिक परिषद्को बैठक नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरी सम्पन्न भएको छ। नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डासहित बसेको बैठकमा संवैधानिक आयोगका रिक्त पदमा पनि नियुक्ति गर्नुपर्ने माग उठेपछि निर्णय हुन नसकेको हो।
प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डामा छलफल भए पनि निर्णय नभएकाले बैठक साउन १८ गते बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ६५ वर्षे उमेर हदका कारण साउन २० मा अवकाश पाउन लागेकाले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार परिषद्को बैठक बसेको थियो।
संविधानमा भने प्रधानन्यायाधीशले अवकाश पाउनु एक महिना अगावै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ। सिफारिसमा भएको ढिलाइले सर्वोच्च अदालत फेरि कामुका भरमा चल्ने भएको छ।