क्यासियरबाट सुरु घोटाला शाखा प्रमुख भएर सरुवा भएपछि खुल्यो, मुद्दती खाताको पैसा नै गायब!

सविन ढकाल
२०८० साउन १४ गते ०८:३९ | Jul 30, 2023
क्यासियरबाट सुरु घोटाला शाखा प्रमुख भएर सरुवा भएपछि खुल्यो, मुद्दती खाताको पैसा नै गायब!


काठमाडौं। २०६७ साल भदौ २४ गते रुक्सा श्रेष्ठले सिन्धु विकास बैंक, बाह्रबिसेमा जुनियर एसिस्टेन्ट भएर जागिर सुरु गरिन्। काम गर्दै जाँदा उनमा अनुभव थपिँदै गयो। त्यसपछि उनको कामको प्रकृति केही फेरियो। बैंकले उनलाई रिसेप्सनको जिम्मेवारी सुम्पियो।

Tata
GBIME

त्यसको २/३ वर्षपछि उनी फेरि रेमिटेन्स डिपार्टमा पुगिन्। बैंकको जागिर सधैं एउटै क्षेत्रमा किन हुन्थ्यो र ! २०७० सालदेखि भने उनी क्यासियरको जिम्मेवारीमा पुगिन्। पैसा र सेवाग्राहीसँग रुक्साले नजिकिने मौका पाइन्।

त्यही क्रममा उनको पदमबहादुर भन्ने एक पुरुषसँग चिनजान भयो। नाता: सेवाग्राही र बैंक कर्मचारी। व्यापार गर्ने पदमबहादुर बैंकमा धेरै कारोबार गर्ने भएकाले पनि छोटो समयमा नै दुईबीच चिनजान बढेको थियो। त्यति खेरसम्म सबै ठिकठाक नै चलेको थियो।

२०७२ सालतिर पदमबहादुरले रुक्सालाई आफूलाई पैसा चाहिएको र कसैसँग भए मिलाउन आग्रह गरे। रुक्सालाई थप काम गरे बापत रकम दिने आश्वासन दिए उनले। रुक्साले पनि विभिन्न तरिकाबाट रकम मिलाइदिइन्। त्यसबापत उनलाई पनि केही रकम जोहो हुन्थ्यो।

‘पैसा खोजेबापत तपाईँलाई कमिसन दिनेछु भनेपछि मैले पदमबहादुरलाई गाउँघरका मानिसबाट पैसा खोजिदिएकी थिएँ,’ रुक्साको अभिव्यक्ति थियो।

यतिखेरसम्म सबै ठिकठाक नै चलेको थियो। पदमले पैसा लग्थे, रुक्सालाई कमिसन आउँथ्यो। तर जब पदमबाट पैसा आउन छाड्यो। रुक्सालाई साहुले च्याप्न थाले। उनलाई तनाव थपियो। अब गर्ने के?

दिनभर अरूको पैसा गनिरहेकी रुक्साको ध्यान त्यही नोटका बन्डलतिर गयो। उनले गलत बाटो समातिन्। सेवाग्राहीले जम्मा गरेको रकम साहुलाई तिर्न थालिन्। बैंकका सेवाग्राही रकम झिक्न आउँदा बैंकको पैसाबाट मिलाउन थालिन्। लामो समयसम्म यसरी नै चलिरहेको थियो।

गत कात्तिकमा रुक्साको सरुवा भयो। सिन्धुपाल्चोक सुकुटे शाखामा प्रमुख भएर पुगिन् उनी। उता बाह्रबिसे शाखामा ग्राहकहरू पैसा निकाल्न पुग्दा खातामा पैसा नै भेटिएन। उनीहरू ‘हाम्रो पैसा खोइ?’ भन्दै बैंकलाई भन्न थाले।

त्यसपछि बैंक कर्मचारी अस्पना श्रेष्ठ र निकिता श्रेष्ठले रुक्सालाई फोन गरेर पैसा नभएको भन्दै दबाब दिन थालेका थिए। उनीहरूले पैसा मिलाउनु भन्दै बारम्बार फोन गर्ने थाले। रुक्सा अब व्यवहार मिलाउन सक्ने अवस्थामा थिइनन्। त्यसपछि आफ्ना श्रीमान् र काकालाई घटना सुनाइन् उनले। घटनाको जानकारी बैंकका अन्य कर्मचारीसम्म पनि पुग्यो।

रुक्साको गैरकानुनी धन्दाले जागिर पनि गयो। डुबेको पैसा तत्काल तिर्न कागज समेत गरियो। यतिले मात्र किन हुन्थ्यो, उनीविरुद्ध फौजदारी मुद्दासमेत दर्ता भयो। प्रहरीले दुई महिना लामो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गरेको छ।

रुक्सा श्रेष्ठ, एलिसा बस्नेत, अस्पना श्रेष्ठ, दीपक श्रेष्ठ, राजप्रकाश श्रेष्ठ, बासु श्रेष्ठ, पदमबहादुर श्रेष्ठ, निकिता श्रेष्ठ, विकेस श्रेष्ठ र संगम बस्नेतलाई प्रहरीले प्रतिवादी बनाएको छ। दीपक भने बैंक कर्मचारी एलिसाका श्रीमान् हुन्। रुक्सालाई प्रहरीले गत जेठ २५ गते पक्राउ गरेको थियो। त्यसपछि अन्य कर्मचारीहरू समातिएका हुन्। उनीहरूविरुद्ध २ करोड १९ लाख ३५ हजार ८ सय रुपैयाँ बिगोसहित कानुनबमोजिम सजाय मागदाबी गरिएको छ।

दैनिक पदमबहादुरको खातामा १० लाखसम्म जम्मा

बैंक रकम हिनामिना प्रकरणमा रुक्सा र पदमबहादुरको मुख्य भूमिका देखिएको छ। रुक्साको निर्देशनमा बैंकका कर्मचारीले दैनिक ५ देखि १० लाख रुपैयाँसम्म गैरकानुनीरुपमा जम्मा गरिदिने गरेको अनुसन्धानमा खुलेको छ।

बैंक कर्मचारी एलिसा बस्नेतले प्रहरीसँगको बयानमा रुक्साको निर्देशनमा पदमबहादुरलाई दैनिक ५ देखि १० लाख रुपैयाँ जम्मा गरिदिने गरेको बताएकी छन्। एलिसाले बैंकको टेलरमा हुँदा डेढ वर्षसम्म रकम यसरी नै जम्मा गर्ने गरेकी थिइन्।

‘बैंकको टेलर हुँदा लगभग डेढ वर्ष जति पदमबहादुर प्रधानको खातामा पैसा हालिदिने गरेकी थिएँ। पदमबहादुरको खातामा ५ लाखदेखि १० लाख रुपैयाँसम्म हाल्ने गरेकी थिएँ,’ एलिसाले बयानमा भनेकी थिइन्।

विगतमा यस्तो घटना हिमालयन फाइनान्स, नेपाल सेयर मार्केट फाइनान्सियल इन्ष्टिच्युसन, क्यापिटल मर्चेन्टमा पनि भएको थियो। ती कम्पनीहरू डुबेर अहिले अस्तित्वमै छैनन्।

मुद्दती खाताको पैसा नै गायब !
सिन्धुपाल्चोकका चित्र तामाङ ( नाम परिवर्तन) ले ८ वर्षदेखि सिन्धु विकास बैंकको शाखामा रकम जम्मा गर्दै आएका थिए। २०७८ सालमा उनले चल्ती खातामा पाँच लाख रुपैयाँ र मुद्दतीमा चार लाख रुपैयाँ जम्मा गरेका थिए। करिब एक वर्षपछि उनी ब्याज लिन भनेर बैंक पुगे। रुक्साले नै ब्याज रकम चित्रको हातमा दिएकी थिइन्।

‘९ लाख रकमको ब्याज ७० हजार रुपैयाँ भएछ भनी चेकको पछाडि पट्टी लेखेर दिएकी थिइन्,’ चित्रले भनेका छन्।

गत असार १७ गते फेरि चित्र ब्याज लिन बैंकको बाह्रबिसे शाखामा पुग्छन्। तर त्यहाँ रुक्सा हुँदिनन्। अन्य कर्मचारीले ‘तपाईँले खाताबाट पटक-पटक रकम झिक्नु भएको रहेछ। अब ३ लाख ३० हजार मात्र भएको’ सुनाउँछन्। त्यसपछि चित्र झसंग हुन्छन्। उनले बैंकको खाताबाट रकम गायब भएको भन्दै बैंकमा निवेदन दिन्छन्। त्यसपछि मात्र रुक्साको घोटाला धन्दा खुल्दै जान्छ।

उनी जस्तै अन्य सेवाग्राहीको मुद्दती खाताबाट यसरी नै रकम गायब भएको प्रहरी अनुसन्धानमा खुलेको छ।