सिटिजन्स बैंकको नाफा सवा २ अर्ब, १०.४१% को वृद्धि, चैतमाभन्दा खराब ऋण घट्यो

बिजमाण्डू
२०८० साउन १२ गते ०९:५५ | Jul 28, 2023
सिटिजन्स बैंकको नाफा सवा २ अर्ब, १०.४१% को वृद्धि, चैतमाभन्दा खराब ऋण घट्यो


काठमाडौं। घटेको स्प्रेड र बढेको बेस रेटका बाबजुद सिटिजन्स बैंकले गत आर्थिक वर्ष २ अर्ब २१ करोड खुद नाफा कमाएको छ। पोहोर असारमा बैंकको नाफा २ अर्ब थियो। यो पटक १०.४१ प्रतिशत वृद्धि भएको हो।

Tata
GBIME

बैंकको पोहोरभन्दा बेस रेट ०.४२ प्रतिशत बिन्दुले बढेर १०.५१ प्रतिशत पुगेको छ। त्यहि ४.२५ प्रतिशतको स्प्रेड ४ प्रतिशतमा झर्‍यो।  

खुद ब्याज आम्दानीमा वृद्धि हुँदा बैंकको नाफा बढेको हो। बैंकले ५ अर्ब ८५ करोड खुद ब्याज आम्दानी गरेको छ। १७.३० प्रतिशत आम्दानी बढ्यो। संचालन मुनाफा पनि १३.४२ प्रतिशत बढेर ३ अर्ब नाघेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।

तर बैंकसँग मात्रै एक अर्ब वितरणयोग्य मुनाफा छ। यो पोहोर असार मसान्तभन्दा २१.९८ प्रतिशत कम हो। बैंकले ७.३० प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ। अघिल्लो आर्थिक वर्ष ९ प्रतिशत लिएको थियो।

निष्कृय कर्जाको अनुपात पोहोरभन्दा १ प्रतिशत बिन्दु बढेर ३.१९ प्रतिशत पुगेको छ। तर चैतभन्दा केही कम छ। चैतमा यस्तो अनुपात ३.९८ प्रतिशत थियो। खराब कर्जा ह्वात्तै बढेकाले कर्जा जोखिमलाई ७३ करोड रुपैयाँ प्रोभिजनिङ छुट्याउनु परेको छ।

बैंकसँग असारसम्म एक खर्ब ६८ अर्ब निक्षेप छ। जसमध्ये एक खर्ब ४० अर्ब कर्जा दिएको हो। सीडी रेसियो ८२.४ प्रतिशत छ। 

१४ अर्ब २० करोड चुक्ता पुँजी भएको बैंकको जगेडा र अवितरित नाफा कोषमा ७ अर्ब ११ करोड रुपैयाँ संचित छ। यो पोहोरभन्दा १४.५६ प्रतिशत बढी हो।

 गत आर्थिक वर्षको अन्त्यसम्म प्रति सेयर आम्दानी १५.५९ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५० रुपैयाँ कायम छ।