संरक्षण अभावमा जीर्ण बन्दै गएको चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोदार सुरु

रासस
२०८० साउन ११ गते १३:४१ | Jul 27, 2023
संरक्षण अभावमा जीर्ण बन्दै गएको चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोदार सुरु


भरतपुर। चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोदार सुरु गरिएको छ। इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो।

Tata
GBIME

यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए। पुरातत्व विभागसँगको समन्वयमा कोत घर, काठे पुल, ढोका र मन्दिरको जीर्णोदार गर्न सुरु गरिएको इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए।

उनले पुरातत्व विभागको डिजाइन र अनुगमनमा जीर्णोदारको काम भइरहेको जानकारी दिए।

‘गढीको पुरानोस्वरुप बिग्रँदैन,’ उनले भने, ‘जीर्णोद्धारपछि कोत घरलाई पुरानै अवस्थामा ल्याउँछौँ।’

उनले गढी बाहिरको क्षेत्रमा खानेपानीको व्यवस्था, यात्रु प्रतीक्षालय र शौचालय निर्माण गर्न लागिएको बताए। गाँउपालिकाको आन्तरिक स्रोतबाट जीर्णोद्धारको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले गढीको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग पनि बजेट माग गरिएको बताए।

उनले गढीको जीर्णोद्धारसँगै जग्गा संरक्षणको कामलाई पनि अघि बढाएको बताए। चितवन र समग्र देशको इतिहाससँग जोडिएको गढीलाई गाउँपालिकाले प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन लागेको छ।

गाउँपालिकाले यस वर्ष उक्त गढी लगायत पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजना गरेको छ।

‘उपरदाङगढीको विकासका लागि गाउँपालिकाको बजेट पर्याप्त छैन,’ अध्यक्ष गुरुङले भने, ‘प्रदेश र केन्द्र सरकारसँग बजेट मागेर यसको विकास गर्छौं।’

पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपरदाङगढीसँगै इच्छाकामना मन्दिर, पाथिभरा, सिँराइचुली र जलवीरे झरनालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा अघि बढाइने उनले जानकारी दिए। सडक सञ्जालसँग जोडिएपछि र पूर्वाधार निर्माण हुन थालेपछि यस ऐतिहासिक गढी घुम्न आउनेको संख्या बढेको छ।

जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै एक घण्टामा मोटरसाइकल र साना गाडीमा सहजरुपमा उपरदाङगढी पुगिन्छ। शक्तिखोर फिस्लिङ सडकका कारण पनि यहाँ घुम्न आउने बढेका हुन्।

स्थानीय गणेश बहादुर थापाले पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको संख्या बढेको बताए। उनले दैनिक सयौँको संख्यामा यहाँ घुम्न, फोटो खिच्न र एतिहासिक गढीको जानकारी लिन आउने गरेको जानकारी दिए।

यहाँ बस्नका लागि केही होमस्टे (घरबास) सञ्चालनमा छन्। उनका अनुसार गढीमा मासिक १ लाख रुपैयाँको टिकट बिक्री भएको छ। गढीमा घुम्न आउनेबाट पालिकाले ५० रुपैयाँ शुल्क लिने गरेको छ।

इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका गरिरहेको छ। नगरपालिकाका प्रमुख विनोद रेग्मीले उपरदाङगढीसम्म पुग्न सडक पूर्वाधार निर्माण भइसकेको भन्दै दुई पालिका जोडेर पर्यटकीय गतिविधिको विकास गर्ने गरी काम गरिरहेको बताए।

चितवनका डाँडाकाँडामा पर्यटन प्रवर्द्धनको राम्रो सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको उनको भनाइ छ।

सन् १९६० को सुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो। इतिहासमा उल्लेख गरिएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीबाट सञ्चालन हुन्थ्यो।

तल्कालीन बाइसे चौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए। गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ। भित्र हतियार घर, कुँवा र दुईकोठे घर छन्।

समुद्री सतहबाट एक हजार दुई सय ७५ मिटर उचाइमा रहेको उपरदाङगढीबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ। स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लाम्टाङ, इच्छाकामना, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र सजिलै देखिन्छन्।

यो रमणीय स्थान चेपाङ, मगर र गुरुङको पातलो बस्तीले घेरिएको छ। यी जातजातिको आफ्नै मौलिक परम्परा, संस्कृति र रीतिरिवाज छन्।