
विश्व फुटबलको ‘ट्रान्सफर मार्केट’मा हाल चर्चाको केन्द्रमा छन् फ्रेन्च कप्तान किलियन एम्बाप्पे। सन् २०२४ सम्म फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग करार भएका एम्बाप्पेले सम्झौता थप्न अस्वीकार गरेसँगै ‘ट्रान्सफर मार्केट’ तातेको हो।
करार सकिन एक वर्षअघि नै उनको मूल्य चुकाएर कुन क्लबले लैजान सक्छ? यस विषयले एम्बाप्पेको अगाडिको गन्तव्य कहाँ होला भन्ने निर्क्योल गर्नेछ। उनले करार थप्न नचाहेको खण्डमा र अहिले एम्बाप्पेले नछाडे अर्को सिजन उनी ‘फ्री एजेन्ट’ बनेर क्लबबाट बाहिरिने छन् र पीएसजीको हातमा केही पर्ने छैनन्।
त्यसैले पीएसजी उनलाई अर्को एक वर्षका लागि करार गराउन चाहन्छ या अहिले नै बेच्न। एम्बाप्पेलाई अनुबन्धन गर्न ठूला क्लबहरु लागि परेका छन्। जसमा सबैभन्दा अघि सरेको छ साउदी क्लब अल हिलाल।
एम्बाप्पे पीएसजी कटुता
यसपाला प्रि सिजन खेल्न पीएसजी जापानमा छ। तर, त्यो टोलीमा एम्बाप्पे छैनन्। एम्बाप्पेले पीएसजी छाड्ने चर्चा बीचबीचमा चलिरहने गर्छ। यसबीचमा उनको क्लबसँगको असहमतिका कुरा पनि उत्तिकै चर्चामा आउँछन्।
सन् २०२३ को जुन महिनामा एम्बाप्पेले पीएसजी छाड्ने चर्चाबीच ट्वीटर गर्दै हाललाई आफू पीएसजीमै रहने तर सन् २०२४ पछि भने करार अगाडि बढाउन नचाहेको बताएका थिए। त्यसपछि क्लब व्यवस्थापनसँग उनको सम्बन्ध राम्रो नभएको चर्चा सुरु भएको थियो।
यही जुलाई महिनामा एम्बाप्पेले पीएसजी ‘विभाजनकारी’ भएको भन्दै टिप्पणी गरेका थिए। फलस्वरुप पीएसजीले प्रि सिजनमा एम्बाप्पेलाई जापान लगेन। लगत्तै फ्रेन्च फुटबलर्स संघले एम्बाप्पेमाथि ‘मोरल ह्यारासमन्यान्ट’ भएको भन्दै पीएसजीमाथि आरोप नै लगायो।
चर्चा र विवादबीच साउदीको क्लब अल हिलालले एम्बाप्पेलाई अनुबन्धन गर्न २५ करोड ९० लाख पाउण्ड (साढे ४३ अर्ब रुपैयाँ) को प्रस्ताव पीएसजीलाई गरेसँगै फुटबल क्षेत्रमा अहिले तहल्का मच्चिएको छ। यदि यो पीएसजीले स्वीकार गरेमा कीर्तिमानी मूल्यको ट्रान्सफर हुनेछ। नेइमार बार्सिलोनाबाट २० करोड बढी पाउन्डमा पीएसजी गएका थिए। त्यो हालसम्मको ठूलो ट्रान्सफर रकम हो।
क्रिस्टियानो रोनाल्डोलाई कीर्तिमानी मुल्यमा भित्र्याएको साउदी लिगले एम्बाप्पेलाई भित्र्याउन अर्को ठूलो रकम खर्चन तयार भएको हो। उसो त अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई पनि साउदीले ठूलो अफर नदिएको होइन। तर, उनले रोजे अमेरिका।
ठूलो अफरमा साउदी नगए कहाँ?
साउदीको चर्चा आउनुअघि एम्बाप्पेले जान चाहेको क्लब हो – रियल मड्रिड। सानैदेखि क्रिस्टियानो रोनाल्डोको समर्थक रहेका एम्बाप्पेले रियल मड्रिडबाट खेल्न चाहेका थिए।
मड्रिडसँगसँगै चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटेनहम हट्स्पर, इन्टर मिलन र बार्सिलोनाले पनि उनीमाथि चासो दिइरहेका छन्। यद्यपि उनलाई भित्र्याउन युरोपेली फुटबल महासंघ (यूएईएफए)को ‘फाइनान्सियल फेयर प्ले’ भित्र रहेर ठूलो मूल्य चुकाउन सहज भने छैन। तर, यो साउदीमा अनिवार्य छैन। किनभने साउदी एसियाली फुटबल महासंघ अन्तर्गत पर्छ।
खेलसम्बन्धी चर्चित अनलाइन पोर्टल द एथलेटिकका अनुसार साउदीको अल हिलालले एम्बाप्पेका लागि एक अर्ब १० करोड अमेरिकी डलर (एक खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी) खर्च गर्न तयार भएको छ। जसमा पिएसजीसँगको ट्रान्सफर डिलमै ३३ करोड अमेरिकी डलर खर्चिने र एम्बाप्पेलाई वर्षकै ७७ करोड अमेरिकी डलर खर्चिने उल्लेख छ।