जुलाई दोस्रो साता अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चार दिने बेइजिङ भ्रमण गरिन्। विश्वका दुई ठूला अर्थतन्त्रबीच लामो समयदेखि चलिरहेको ‘ट्रेड वार’ तथा अन्य विषयमा रहेका मतभेद् घटाउनका लागि अमेरिकी अर्थमन्त्री येलेनले गरेको यो प्रयास बाइडेन प्रशासनले चीनसँग केही अघिदेखि थालेको संवादकै अर्को कडी थियो।
भेटका क्रममा दुई देशका समकक्षीबीच कुनै ‘ब्रेक थ्रु’ वा प्रमुख सम्झौता भने भएनन्। भ्रमणका क्रममा येलेनले भनेकी थिइन्- ‘दुई देशबीच प्रशस्तै मतभेद् छन् जसबारे स्पष्ट र सिधा संवाद गर्न जरुरी छ।’ उनले प्रतिस्पर्धीका रुपमा नभई दुवै देशले स्वस्थ आर्थिक सम्बन्ध अघि बढाउन सके समग्र विश्व अर्थतन्त्रलाई फाइदा पुग्ने भनाई राखेकी थिइन्।
त्यसो त अमेरिका-चीनको सम्बन्धमा सुधारको लक्षण नदेखिएपछि सन् २०२२ को नोभेम्बरमै जी-२० को सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङलाई बालीमा भेटेका थिए। उक्त भेटमा बाइडेनले दुई देशको सम्बन्धमा सुधार गर्नुपर्ने आवश्यकता जोड दिएपछि लगाताररुपमा अमेरिकी उच्च अधिकारीले चीन भ्रमण गरिरहेका छन्। गत जुनमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिनकेन चीन पुगेका थिए। त्यसपछि अर्थमन्त्री येलेन पुगिन्। केही समयमै अमेरिकाका विशेष जलवायू दूत जोन केरी पनि चीन भ्रमणमा जाने तय भइसकेको छ।
अमेरिकी अर्थमन्त्री येलेनले चीनमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, अर्थमन्त्रीका साथै पिपुल्स बैंक अफ चाइनाका उच्च अधिकारीसँग भेट गरिन् जहाँ उनले अमेरिकाको व्यापार प्राथमिकताबारे चर्चा गरिन्। निर्यात व्यापारका अवरोध, आपूर्ति संजालको विविधिकरणका साथै राष्ट्रिय सुरक्षाका सवालमा पनि उनले छलफल गरेकी थिइन्।
तर आफ्नो कार्यतालिका अनुसारको भेटमा येलेनले कति पुरुष उच्च अधिकारीसँग संवाद गरिन् त्यसको त्यति चर्चा भएन, जति उनले केही चिनियाँ महिला अर्थविद् तथा उद्यमीसँग भेट्दा भयो।
भ्रमणका क्रममा येलेनले त्यहाँका गिनेचुनेका महिला अर्थविद् तथा उद्यमीका लागि ‘लञ्च’ होस्ट गरेकी थिइन् जसको चिनियाँ सरकारी संचारमाध्यमले कटु आलोचना गरे। कट्टर राष्ट्रवादीहरुले येलेनसँगको भेटमा सहभागी भएका महिलालाई देशद्रोही समेत भन्न भ्याए। येलेनलाई भेटेकै कारण उनीहरुले देशप्रति वफादार नरहेको आरोप मात्रै खेपेनन्, उनीहरुलाई ‘उग्र महिलावादी’को ट्याग समेत भिराइयो।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार उक्त भेटमा महिलाहरुको टोलीसँग अर्थमन्त्री येलेनले चिनियाँ अर्थतन्त्र तथा नेतृत्वदायी भूमिका र कार्यस्थलमा महिला सहभागिताको अवसरबारे छलफल गरेकी थिइन्।
भेटमा महिलाहरुसँग येलेनले भनेकी थिइन्- ‘मैले विभिन्न बैठकमा जाँदा प्राय आफूलाई एक्लो महिलाका रुपमा पाउँछु, मलाई लाग्छ निर्णायक तहमा हुने त्यस्ता बैठकमा तपाईंहरुको पनि अनुभव मेरै जस्तो छ।’
येलेन र ती महिलाहरुसँगको भेटलाई चिनियाँ सामाजिक संजालमा आलोचनाको विषय बनाइयो। चीन र पश्चिमी देशहरुबीच चलिरहेको तनावका कारण यसले राष्ट्रवादको मुद्दालाई अझै उचालिदियो। बेइजिङको महिलावादप्रतिको आशंकालाई बल दिँदै प्रमुखताका साथ सामाजिक संजालमा तिक्तता पोखियो।
विश्लेषकहरु भन्छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले महिलावादलाई पश्चिमी देशहरुबाटै सिर्जित सिद्धान्तका रुपमा व्याख्या गर्दै आएको छ।’
हाल चर्चामा रहेको यस परिघटनाले चिनियाँ कम्युनिष्ट पार्टीभित्र पुरुष बाहुल्यताको नेतृत्वले महिला अधिकारका विषयलाई हेर्ने दृष्टि र अमेरिकी इतिहासमै सबैभन्दा बढी ‘जेन्डर डाइभर्स’ बाइडेन सरकारबीचको भिन्नतालाई समेत उजागर गरेको छ।
७६ वर्ष भैसकेकी, सेतै कपाल फुलेकी येलेन जो अर्थमन्त्री हुनुअघि नाम चलेकी अर्थशास्त्री तथा गभर्नर पनि थिइन्, उनैसँग लञ्चका लागि डाइनिङ टेबलमा बसेका महिलाहरुको एउटा तस्वीर सामाजिक संजालमा पोष्ट भएपछि घटनाक्रम सुरु भयो।
येलेनसँग लञ्च टेबलमा कुल ९ महिला थिए जसमध्ये एक थिइन् चीनस्थित द इकोनोमिस्ट ग्रुपकी म्यानेजिङ डाइरेक्टर लिउ कियान। उनले ट्वीटरमा येलेनलाई ‘प्रेरणादायी रोल मोडल’ भनेर लेखेकी थिइन्। लिउले ट्वीटमा येलेनसँगको भेट आफ्ना लागि ठूलो सम्मानको विषय भएको बताएकी थिइन्।
येलेनसँगै लञ्च गर्ने अर्की थिइन् लेखक हाओ जिङफाङ। अर्थशास्त्रकी पीएचडी हाओले सन् २०१६ मा ‘फोल्डिङ बेइजिङ’ नामक साइन्स फिक्सन लेखेकी थिइन् जसका लागि उनले हुगो अवार्ड समेत पाएकी छन्।
हाओलाई सामाजिक संजालमा कडा प्रश्न तेर्सियो, ‘किन येलेनसँग बसेर खाएको?’
कटु आलोचनाको नरम जवाफ दिँदै उनले भनिन्, ‘चीनप्रति उनको व्यवहार मित्रवत छ।’
जब येलेन र चिनियाँ महिलाहरुको लञ्च मिटिङको तस्वीर चिनियाँ सामाजिक संजालमा भाइरल भयो त्यसबिरुद्ध राष्ट्रवादीहरुको बाढी नै उर्लियो। लञ्च टेबलमा येलेन र सहभागीहरुबीच के र कस्ता विषयमा कुराकानी भएको थियो भन्ने वास्तविकता नै थाहा नभइ उनीहरुले सहभागी महिलालाई चरम महिलावादी, देशद्रोही तथा अमेरिकी जासुससम्म भन्न भ्याए।
‘खासमा सित्तैंमा भन्ने केही हुँदैन, खाना पनि!’ सांघाइस्थित फुदान विश्वविद्यालयका अन्तर्राष्ट्रिय राजनीतिका प्रोफेसर सेन यीले सामाजिक संजालमा लेखेलगत्तै त्यसलाई समर्थन गर्नेहरु ओइरिए। २० लाखभन्दा बढी फलोवर रहेको वेइबोमा उनले लेखेका छन्, ‘खानाको बदला उनीहरुले अमेरिकी सरकारलाई केही त दिएकै हुनुपर्छ। यसमा वैचारिक खुराक र तथ्य पनि हुन सक्छन्।’
प्रोफेसर सेनको उक्त भनाईले चीनका राष्ट्रवादी विचारधारा बोकेका र चीन सरकारका अधिकारीको दृष्टिकोणकै झल्को पनि दिन्छ। किनभने उनीहरुको बुझाई छ, वासिङटन चिनियाँ कम्युनिष्ट पार्टीको सरकारलाई उसका नागरिकसँग मतभेद् उत्पन्न गराएर नागरिकसँगको सम्बन्ध बिगार्न चाहन्छ।
चीनले खुलेरै ट्रम्प तथा बाइडेन प्रशासनका उच्च अधिकारीलाई चिनियाँ कम्युनिष्ट पार्टी र जनताबीचको रगत र मासुको जस्तो सम्बन्धलाई बिगार्न चाहेको आरोप लगाउँदै आएको छ। उसले माइक पम्पियोदेखि एन्थोनी ब्लिनकेनसम्मलाई यो आरोप लगाइसकेको छ।
अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनको भाषणलाई गत वर्षको जुनमा तत्कालीन चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले चीनको कम्युनिष्ट पार्टी र चिनियाँ जनताबीच फाटो गराउने प्रयास भनेका थिए। गत वर्ष मे महिनाको अन्त्यतिर जर्ज वासिङटन विश्वविद्यालयमा ब्लिन्केनले गरेको भाषणमा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सरकारसँग वासिङटनको प्रशस्तै मतभेद् रहेपनि दुई देशका नागरिकबीच भने कुनै मतभेद् छैन भनेका थिए। ‘अमेरिकी नागरिकको चिनियाँ नागरिकप्रति उच्च सम्मान छ’, उनको भाषणको अंशमा थियो।
यसपटक येलेनको लञ्चले पनि उस्तै खाले आलोचना खेप्नुपर्यो। किनभने धेरैअघि नै चिनियाँ राष्ट्रपति सीले महिलावादका सन्दर्भमा पश्चिमी देशहरुसँग सैद्धान्तिक द्वन्द्व रहेको भनेर ब्याख्या गरिसकेका छन्।
सन् २०१८ को नोभेम्बरमा सीले अल चाइना विमेन्स फेडरेसनका क्याडरहरुलाई पार्टीको संरचनामा बलियोसँग आवद्ध हुन तथा विदेशी महिलावादी संस्था वा ‘धनाढ्य महिला क्लब’ जस्तो व्यवहार नदेखाउन चेतावनी दिएका थिए। एक महिनाअघि पार्टीको साहित्य तथा प्रेस विभागबाट प्रकाशित ‘सन् २०१२ देखि २०२३ सम्ममा सीका विचारधाराहरुको संग्रह’ मा उक्त कुरा उल्लेख छ।
यस्तै सन् २०१८ मै सीले भाषणका क्रममा विदेशी शक्तिले उदाउँदो बलियो शक्तिका रुपमा रहेको चीनलाई क्षति पुर्याउन सक्दो प्रयास गर्ने भन्दै पार्टीले गम्भीर तथा जटिल राजनीतिक संघर्ष ब्यहोर्नुपर्ने परिस्थितिको सामनाका लागि तयार रहन भनेका थिए।
वासिङटनस्थित स्टिमसन सेन्टरस्थित ‘चीन कार्यक्रम’का निर्देशक युन सनले येलेनको लञ्च मिटिङलाई ‘असामान्य’ वा ‘प्रोटोकल बाहिर’को नभएको बताएकी छन्।
‘आफ्नो कार्यकालभर येलेनले सधैं महिलाको भूमिका तथा आवाजलाई प्रोत्साहन गरिरहिन्। येलेनले कुनै पनि देशका महिला अर्थशास्त्रीसँग यसरी भेटेको पहिलो पटक होइन’, सन भन्छिन्, ‘अर्को अचम्मलाग्दो तथ्य चाहिं के भने येलेनलाई भेटेका चिनियाँ महिला अर्थशास्त्रीको चीनभित्रै किन यति खेदो खनिँदैछ?’
बाइडेनको २५ सदस्यीय क्याबिनेटमा १३ महिला सदस्य छन् जसमध्येकी एक येलेन अमेरिकामा अर्थ मन्त्रालय हाँक्ने पहिलो महिला समेत हुन्। अमेरिकी सरकारले नै पहिलो राष्ट्रिय लैंगिक रणनीति तयार पारेको हो जसले अन्तर्राष्ट्रियस्तरमा लैंगिक समानता प्रवर्द्धन गर्नका लागि २ अर्ब ६० करोड डलरको रेकर्डस्तरको फण्ड प्रतिबद्धता समेत गर्यो।
सन् भन्छिन्, ‘मानिसहरुले यो मिटिङ र यसको सन्देशलाई गलत अर्थ्याएर अमेरिकाले चीनको वर्तमान राजनीतिक प्रणाली तथा सिद्धान्तलाई अवमूल्यन गरेको रुपमा लिए। अप्रत्यक्षरुपमा यसले चीनका राष्ट्रपति तथा पुरुष प्रधान चिनियाँ राजनीतिलाई अपमान गर्न खोजेको भनेर सशंकित हुँदै यसको आलोचना गरेका हुन्।’
चीनमा महिलाहरु राजनीतिमा सधैं अल्पसंख्यामा छन्। गत वर्ष नेसनल पार्टी कंग्रेसको पोलिटब्यूरोमा एक जना पनि महिला सदस्य छनोट भएनन्। २० वर्षको इतिहासमै यो अवस्था पहिलोपटक आएको हो। विश्लेषकहरूले यो अवस्थालाई लैंगिक विविधताका पक्षमा एक कदम पछि गएको अर्थात प्रतिगमन भनेका छन्।
पार्टीको उच्च निर्णायक दुवै तह ७ सदस्यीय पोलिटब्यूरो स्ट्यान्डिङ कमिटी र २४ सदस्यीय पोलिटब्यूरो अब पूर्णरुपमा पुरुषको कब्जामा छ।
केन्द्रीय कमिटीका २०५ सदस्यमध्ये ११ जना मात्र महिला हुन्। सन् २०१७ मा यो कमिटीमा २०४ सदस्य थिए जसमा १० जना मात्र महिला थिए।
संयुक्त राष्ट्रसंघले गत मेमा सार्वजनिक गरेको एक प्रतिवेदनले चीनमा सरकार, कानुन तथा न्याय क्षेत्र, वैदेशिक सेवाजस्ता निर्णायक क्षेत्रमा सरकारले महिलाको सहभागिता बढाउनका लागि आरक्षण तथा लैंगिक समानताको प्रणाली अंगिकार गर्नुपर्ने बताएको छ।
महिलामाथिको विभेद निवारण गर्न बनेको संयुक्त राष्ट्रसंघीय कमिटीले चीनमा हालैका वर्षमा राजनीतिक तथा सार्वजनिक जीवनमा महिलाहरुको प्रतिनिधित्व बढ्दै गरेको उल्लेख गरेको भएपनि त्यो पर्याप्त भने छैन। १४ औं नेसनल पिपुल्स कंग्रेसमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत पुगेको भएपनि गत अक्टोबरदेखि पिपल्स कंग्रेसको पोलिटब्यूरोमा महिलाको उपस्थिति शून्य रहेकामा पनि कमिटीले चिन्ता व्यक्त गरेको छ।
अक्सफोर्ड विश्वविद्यालयस्थित चाइना सेन्टरका अनुसन्धानकर्ता जर्ज म्यागनस चीनमा येलेनले गरेको लञ्च मिटिङलाई लिएर भइरहेको आलोचनालाई लिएर छक्क पर्छन्।
‘दुई दिनसम्म १० घण्टा येलेनले चिनियाँ उच्च तहका पुरुष अधिकारी तथा नेतृत्वसँग गरेको द्वीपक्षीय वार्ता विना कुनै विवाद सकियो। तर येलेनले आर्थिक तथा नीतिगत मुद्दामा केही महिलासँग गरेको छलफलले भने यति ठूलो रुप लियो। तीब्र विरोध भए र सहभागी महिलाहरुलाई देशद्रोहीसम्मको आरोप लाग्यो’, उनले भने।
माओ जे दोङले महिलाहरुलाई ‘आधा आकाश’को संज्ञा दिएका थिए तर चीनमै समाज र सरकारमा महिलाहरुको पहुँच र उनीहरुलाई गरिने व्यवहार अझै पनि खराब र असंवेदनशील देखिन्छ।
सन् १९४९ मा कम्युनिष्ट पार्टीले सत्ता सम्हालेपछि माओ जे दोङले उत्पादन बढाउनका लागि महिलाहरु श्रम शक्तिकारुपमा जोडिनुपर्छ भनेर अभियान नै चलाएका थिए। उनले भनेका थिए, ‘जे काम पुरुष कमरेडहरुले गर्न सक्छन् त्यो महिलाहरुले पनि पक्कै सक्छन्।’
कम्युनिष्ट पार्टीले बनाएको चीनको पहिलो संविधानमा स्पष्ट लेखिएको छ, ‘राजनीतिक, आर्थिक, साँस्कृतिक, शैक्षिक र सामाजिक जीवनमा महिलाहरुको पनि पुरुषसरह समान अधिकार छ।’
हालैका दशकमा चीनमा आर्थिक गतिविधिमा महिलाहरुको सहभागिता एसियाकै उच्च मध्ये एक मानिन्छ।
तर लैंगिक समानताका नारा, नीतिगत प्रतिवद्धता तथा उच्च श्रमशक्ति सहभागिताका बाबजुद् राजनीतिक नेतृत्व तह तथा उच्च ओहदामा महिलाहरुको उपस्थिति असाध्यै कम छ।
चिनियाँ सरकारमा उच्च तहमा पुग्न सफल नेतृ हुन् सीन यिक्विन। उनी पाँच स्टेट काउन्सिलरमध्ये एक हुन्। उनलाई त्यहाँका मन्त्रीलाईभन्दा माथिल्लो दर्जा दिइएको छ। उनी सामाजिक सुरक्षा, समसामयिक विषय तथा खेलकुदका क्षेत्र हेर्ने गर्छिन्।
चीनको सबैभन्दा हाइप्रोफाइल महिला उ इ हुन् जो सन् २००२ मा पोलिटब्यूरोमा पूर्णकालीन सदस्यका रुपमा चयन भएकी थिइन्। त्यसलगत्तै उनी भाइस प्रिमियरका रुपमा चुनिइन्। उनैले चीनलाई सन् २००१ मा विश्व व्यापार संगठनमा आबद्धता दिलाउन प्रमुख भूमिका खेलेकी थिइन्। सन् २००३ मा सार्स रोगविरुद्ध राष्ट्रिय अभियानको नेतृत्व समेत उनैले गरेकी थिइन्।
चीनको राजनीतिक परिदृश्यमा उदाएकी अर्की महिला हुन् सुन चुनलान जो कोभिड महामारीविरुद्ध फिल्ड कमान्डरका रुपमा खटिएकी थिइन्। उनले सन् २०१२ मा पोलिटब्यूरोमा ज्वाइन गरेकी हुन्। तर उनले हासिल गरेको उपलब्धि त्यसै साल शासनसत्ता हातमा लिएका सी चिनफिङको अवधारणाको विपरित छ। सीले परम्परागत भूमिका अर्थात असल श्रीमती र आमाका रुपमा महिलाको भूमिकालाई महत्व दिने गरेका छन्।
सन् २०१३ मा नेसनल विमेन्स फेडरेसनका कार्यकर्तालाई सम्बोधन गर्दै सीले भनेका थिए, ‘हामी समाजमा महिलाका भूमिकालाई लिएर असाध्यै चिन्तित छौं। उनीहरुको पारिवारिक भूमिकालाई लिएर चिन्तित छौं किनभने महिलाको भूमिका पारिवारिक सुख शान्ति, सामाजिक सद्भाव र भावी पुस्ताका लागि स्वस्थ विकाससँग सम्बन्धित छ।’
हालैका वर्षमा यस्तै किसिमका भनाई अझ बढी मुखरित हुने गरेका छन्। चीन आफ्नो जनसंख्या कम भएकामा चिन्तित छ। न्यून जन्मदरका कारण जनसंख्या बढाउने योजनामा काम गरिरहेको चीनले महिलाहरुलाई अझ बढी परम्परागत भूमिका तथा बच्चा जन्माउनका लागि प्रोत्साहित गर्दै आएको छ।
स्वतन्त्र राजनीतिक विश्लेषक प्रोफेसर चेन दाओयिन चीनका केही राजनीतिक नेताको लाइन नै राष्ट्रवादको नारा बोकेर अमेरिकाविरोधी तथा महिलावादविरोधी अवधारणा नै राजनीतिकरुपमा सही हो भन्ने स्थापित गर्नु हो। उनीहरुको यो लाइन बेइजिङकै धारणासँग मिल्दोजुल्दो छ जसले महिलावादलाई ‘वेस्टर्न प्लट’का रुपमा बुझेको छ।
चीनमा महिलावादी संस्था पार्टीकै औजारका रुपमा काम गर्छन् जसको प्रमुख काम भनेकै पार्टीलाई जनतासँग जोड्नु हो। यी संस्थाहरुको भूमिका पश्चिमा महिलावादी संस्थाहरुभन्दा पूर्णत: फरक छ।
प्रोफेसर चेन भन्छन्, ‘महिलावादको उदय हुनु भनेको हरेक महिला स्वतन्त्र राजनीतिक शक्तिकारुपमा स्थापित हुनु हो जसले उदारीकरण तथा राजनीतिक, आर्थिक र सामाजिक समानताका पक्षमा लड्छन्। यसको गुण भनेकै अधिनायकवादलाई परास्त गर्नु हो, त्यही कारण चीनको कम्युनिष्ट पार्टीले महिलावादलाई कहिल्यै पनि सफल हुन दिँदैन।’