
काठमाडौं। ४१७ मेगावाटको नलगाड जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढ्ने भएको छ।
विस्तृत अध्ययन पुरा भएको उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन स्वीकृत हुने चरणमा पुगेको छ। वन तथा वातावरण मन्त्रालयले प्रतिवेदनमा स्वीकृति दिनुअघि सरोकारवाला निकायहरुसँग आयोजना निर्माण र कार्यान्वयन गर्दा कुनै प्रतिकूल असर पर्ने भए सात दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रह गरेको छ।
प्रतिवेदन स्वीकृत भएपछि निर्माणको बाँकी प्रक्रिया अघि बढाइने नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ।

प्रस्तावित आयोजना जाजरकोटमा निर्माण हुनेछ। यो आयोजनाले नलगाड नगरपालिका वडा नम्बर २, ५, ७ र ८ तथा बारेकोट गाउँपालिका वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ लाई प्रभावित पार्नेछ।
आयोजना जलाशय प्रकृतिको हुनेछ। सुक्खायाममा ६०४.९ गिगावाट घण्टा उत्पादन हुनेछ। १२८०.४ गिगावाट घण्टा सरदर वार्षिक उत्पादन उत्पादनबाट हुनेछ।
जलाशयको कुल भण्डार क्षमता ४७ करोड ४० लाख घनमिटर हुनेछ। यो आयोजनाले १ हजार १७२ घरपरिवारका कुल ७ हजार २८४ जनसंख्यालाई प्रभावित पार्नेछ।

अष्ट्रेलियन कम्पनी स्मेक र एमडब्लुएच तथा नेपालको उदय जेभीले ७ वर्ष लगाएर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेका हुन्। ३१ महिनामा सक्ने गरी कम्पनीलाई २०७३ मा जिम्मा दिइएको थियो।
निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि पटक-पटक म्याद थपिएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सहसचिव सुनिल पौडेलका अनुसार पटक-पटक ताकेता गरी दबाब दिएर काम लगाएपछि डीपीआर पुरा भएको हो।
डीपीआर पुरा भएसँगै आयोजनाले ईआइएको प्रक्रिया अगाडि बढाएको हो। आयोजना निर्माणमा १ खर्ब २३ अर्ब लाग्ने अनुमान छ। आयोजना निर्माण सुरु गरेको साढे ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।