
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्नेमा जोड दिएका छन्। उनले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले इटालीको रोममा गरेको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज सम्बोधन गर्दै आधुनिक खाद्य प्रणाली कमजोर सावित भएकाले त्यसमा सुधारको आवश्यकता औंल्याए।
वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको तथा असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको उनको भनाइ छ। उनले त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढावा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको बताए। उनले खाद्य प्रणालीमा गर्ने परिवर्तनले मात्र विविध चुनौती सम्बोधन गर्न सकिने बताए।
प्रधानमन्त्री दाहालले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधार र आर्थिक विकासमा बढावा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने स्पष्ट पारे। उनले नेपालमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ मार्फत कानुनी दायरा तयार पारी दिगो खाद्य प्रणालीमा जोड दिएको बताए।
उनले किफायती, सुरक्षित, स्वस्थ र पौष्टिक आहारका लागि दिगो खाद्य श्रृंखला विकास गर्ने प्रतिबद्धता पनि जनाए। स्थानीय र परम्परागत खाद्य प्रणालीको पुनरुत्थान गर्नु आफूहरुको मुख्य प्राथमिकता भएको उल्लेख स्पष्ट प्रधानमन्त्री दाहालले कोदो जस्ता बालीमा लगानीका अलावा चासो बढेको बताए।
उनले अल्पविकसित देशले पर्याप्त भण्डारणको अभाव, बजार, शीत भण्डारण, न्यून यान्त्रिकीकरण, उच्च उत्पादन लागत, कमजोर बजार पहुँच र असमान वितरण प्रणाली जस्ता समस्या भोग्नुपरेको गुनासो गरे।