मौद्रिक नीतिपछि लगातार घट्यो सेयर, मंगलबार ३६.१९ अंकले घट्यो, होटलमा भने बहार

बिजमाण्डू
२०८० साउन ९ गते १५:२७ | Jul 25, 2023
मौद्रिक नीतिपछि लगातार घट्यो सेयर, मंगलबार ३६.१९ अंकले घट्यो, होटलमा भने बहार


काठमाडौं। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको दिन ६३ अंकले बढेको बजार त्यस यता निरन्तर घटिरहेको छ। मौद्रिक नीतिपछि सेयर बजारमा गिरावट रोकिएको छैन।

Tata
GBIME

मंगलबार पनि सेयर बजार फराकिलो अंकले घटेको छ।

मंगलबार बजार ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.८४ अंकले घटेको छ। सेयर बजार सोमबार र मंगलबार ६२.१९ अंकले घटेको हो।

नीतिमा सेयर धितो कर्जाको ५० लाख सम्मको जोखिम भार मात्र पुनरावलोकन भएपछि ठुला लगानीकर्तालाई समेट्न सकेन्। साना लगानीकर्ताले मात्रै राहत पाएका कारण बजार ओरालो लागेको हो।

५० लाख भन्दा बढीको सेयर कर्जा जोखिमभार १५० प्रतिशत नै रहने छ। यस अघि २५ लाख सम्मको सेयर धितोकर्जाको जोखिमभार १०० प्रतिशत थियो।

मंगलबार कारोबारमा पनि गिरावट आएको छ। यो दिन २ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ। सोमबार ४ अर्ब ७३ करोड बराबरको सेयर किनबेच भएको थियो।

कारोबारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा छ। कम्पनीको १५ करोड २७ लाख बराबकरो सेयर किनबेच भएको छ। यस्तै शिवम् सिमेन्टको पनि १० करोड बराबरको सेयर कारोबार भएको हो।

बजारमा फराकिलो अंकको गिरावट आउँदा पनि किसान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य प्रति कित्ता ८७.१० रुपैयाँले बढ्यो। यस्तै सिटी होटलको ५३ रुपैयाँ र युनिलिभर नेपालको सेयर मूल्य प्रति कित्ता २ हजार २०० रुपैयाँले बढेको छ।

कारोबार भएका १३ उप समूह मध्ये १२ उप समूह घटेको छ भने होटल तथा पर्यटन क्षेत्र १.२२ प्रतिशतले बढेको छ।

यो उपसमुह अन्तर्गतका चारवटा कम्पनीको सेयर मूल्य बढेको छ। सिटी होटलको ५३.४० रुपैयाँ, ओरियन्टल होटलको ५ रुपैयाँ, सोल्टी होटलको ७ रुपैयाँ र तारागाउँ रिजेन्सी होटलको ७.४० रुपैयाँ सेयर मूल्य बढेको छ।