
बुटवल। गएरातिदेखि परेको अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ हेड बक्स नजिक पहिरोले सडक अवरुद्ध भएको हो।
सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।
पहिरो हटाउने काम सुरु भएपनि सवारी सञ्चालन हुन केही समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ। सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन बीच बाटोमै रोकिएका छन्।
बुटवल-पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो बग्दै आएको छ। पहिरो झरिरहने भएकाले बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ।
त्यस्तै, पहिरोले कालीगण्डकी करिडोर अन्तर्गत राम्दी-रामपुर सडकखण्ड पनि अवरुद्ध भएको छ। पाल्पाको रम्भा गाउँपालिका-१ चाँदी खोलामा सडक माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो।
यसैगरी, प्युठानको माण्डवी गाउँपालिका-१ गर्जेनीमा सडक माथिबाट लेदो र ढुङ्गासहितको पहिरो झरेपछि भालुबाङ-प्युठान सडक खण्ड अवरुद्ध भएको छ। सवारी सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, प्युठान, दाङ, अर्घाखाँची, गुल्मी आसपासका स्थानमा भारी वर्षा मापन भएको छ।