मृत्युशय्यामा पुगेको चीनकै ठूलो रियल इस्टेट डेभलपर एभरग्राण्डको ‘सर्भाइभल प्लान’, ऋणदाताहरुले साथ देलान्?

बिजमाण्डू
२०८० साउन ८ गते १३:०९ | Jul 24, 2023
मृत्युशय्यामा पुगेको चीनकै ठूलो रियल इस्टेट डेभलपर एभरग्राण्डको ‘सर्भाइभल प्लान’, ऋणदाताहरुले साथ देलान्?

चीनका २२ सहरमा ५ करोड ६५ लाख स्क्वायर मिटर विकसित जग्गाको स्वामित्व ग्रहण गरिरहेको एभरग्राण्ड कोरोना महामारीपछि संकटग्रस्त बन्यो। घटेको रियलस्टेट कारोबार र बढेको ऋण दायित्वबीच तालमेल नमिल्दा चीनको सबैभन्दा ठूलो रियलस्टेट कम्पनी संकटमा परेको थियो।

Tata
GBIME
Nepal Life

लगातार तीन वर्ष ठूलो घाटामा गएपछि टाट उल्टदै गरेको कम्पनी एभरग्राण्डलाई पुनर्जीवन दिन खोज्दैछन्, त्यसका संस्थापक तथा अध्यक्ष हुइ का यान। भएको केही सम्पत्ति बेच्ने, पुर्नसंरचनामार्फत नयाँ पुँजी थप्ने उनको यो योजना अहिले हङकङ र केम्यान टापुका अदालतहरुमा अड्किएको छ।

के अब चीनको सबैभन्दा ठूलोमध्येको रियलस्टेट कम्पनी ‘सर्भाइभ’ होला ?

कुनै समय चीनको सबैभन्दा ठूलो प्रोपर्टी डेभलपर कम्पनी चाइना एभरग्राण्ड ग्रुप यतिबेला ठूलो ऋणको बोझले थिचिएको छ र त्यसलाई जोगाउन एभरग्राण्डका संस्थापक तथा अध्यक्ष हुइ का यानले महत्त्वाकांक्षी योजना अघि सारेका छन्।  

सान्जेनमा मुख्यालय रहेको उक्त कम्पनीले हङकङ र केम्यान टापुका अदालतमा ऋणको पुनर्संचरनाका लागि तयार योजनामाथि ऋणदाताहरुसँग छलफलको माग गर्दै निवेदन दिएको छ। त्यो निवेदनमाथिको सुनुवाइ भइसकेको छैन।

एभरग्राण्डले आफ्नो ऋणको ठूलो हिस्सा अर्थात ३४० अर्ब अमेरिकी डलर बराबरको ऋणलाई पुनर्संरचना गरिदिन माग गरेको छ।

सन् १९९६ मा ग्वानझाउबाट आफ्नो प्रोपर्टी फ्ल्यागशीप सुरु गरेका हुइ सन् २०१७ मा हुरुन चाइना रिच लिस्टको शीर्ष स्थानमा पुगेका थिए। त्यतिबेला उनीसँग ४३ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति थियो।

तर कम्पनी संकटमा परेसँगै उनले आफ्नो सम्पत्तिको ९३ प्रतिशत हिस्सा गुमाइसकेका छन्। सन् २०२३ को जनवरीमा उनको व्यक्तिगत सम्पत्ति ३ अर्ब अमेरिकी डलरमा खुम्चिएको देखिन्छ।

चीनमा घरजग्गा व्यवसायलाई ‘बुम’मा लैजाने श्रेय पाएका ६४ वर्षका उनै हुइ यतिबेला आफ्नो कम्पनीलाई कसरी हुन्छ जोगाउने प्रयासमा छन्।  

सन् २०२० मा ८.१ अर्ब डलर नाफा कमाएको एभरग्राण्डको घाटा सन् २०२१ मा ४७६ अर्ब युआन थियो। सन् २०२२ को डिसेम्बरसम्ममा घाटा कम भएर १०५.९ अर्ब युआनमा थियो।

कम्पनीको कारोबार सन् २०२० मा ५०७ अर्ब युआनबाट खुम्चिँदै सन् २०२१ मा २५० अर्ब युआन र सन् २०२२ मा २३०.१ अर्ब युआनमा झरेको थियो।

सन् २०२२ को डिसेम्बर अन्त्यसम्ममा कम्पनीसँग नगद प्रवाह जम्मा ४.३ अर्ब युआन रहेको तथ्यांकले देखाउँछ।

सन् २०२२ को डिसेम्बरसम्म कम्पनीको कुल दायित्व २.४४ ट्रिलियन युआन थियो। यसमध्ये सबैभन्दा धेरै दायित्व ब्यापार तथा तिर्नुपर्ने अन्य भुक्तानीमा देखिन्छ जसको कुल रकम १ ट्रिलियन युआन हुन आउँछ।

सन् २०२२ मा यसको सापटी रकम ६१२.४ अर्ब युआन देखिन्छ। यो सन् २०२१ भन्दा थोरैमात्र घटेको छ। यसमा औसत रकमको लागत वार्षिक ८.१२ प्रतिशत देखिन्छ जुन सन् २०२१ मा ८.३८ प्रतिशत थियो।

कम्पनीको वासलात अनुसार यसमध्ये २० प्रतिशत जति ब्याज तिर्नुपर्ने ऋण बिदेशी ऋणदाताहरुलाई तिर्नुपर्ने ‘अफसोर लोन’का रुपमा देखिन्छ।

सन् २०२२ को अन्त्यसम्ममा कम्पनीबिरुद्ध १५ सय १९ मुद्दाहरु दायर भएका छन् जसमा तिर्नुपर्ने दायित्व कुल ३९५.४ अर्ब युआन छ। सन् २०२२ मा यसको भौतिक सम्पत्तितर्फको दायित्व बढेर ४६.८ अर्ब युआन पुगेको छ जुन अघिल्लो वर्ष ९.२ अर्ब युआन थियो।

कम्पनीको गत वर्ष नोभेम्बरसम्म कायम रहेको कुल सम्पत्ति मुल्यांकनको ८० प्रतिशत हिस्साका आधारमा हङकङस्थित डेलोइट एडभाइजरीले हालै ‘रिकभरी एनालिसिस’ गरेको थियो।

कम्पनीका अफसोर ऋणदाताहरुले ९.७३ अर्ब युआन रकम फिर्ता पाउन सक्ने विश्लेषण डेलोइट एडभाइजरीले गरेको छ। यसमा पनि डेभलपर लिलामीमा जान बाध्य भएको खण्डमा मात्र उक्त रकम रिकभर हुने अनुमान गरिएको छ।

यसमध्ये पनि अफसोर ऋणदाताहरुले पाउनुपर्ने रकममा १ डलरको जम्मा २.०५ देखि ३.५३ सेन्टमात्र पाउन सक्ने अनुमान पनि उक्त फर्मले गरेको छ। कम्पनीको बण्ड खरिद गरेका लगानीकर्ताहरुले प्रति डलरमा जम्मा ५.९२ देखि ९.३४ सेन्ट फिर्ता पाउने अनुमान गरिएको छ।

कम्पनीमा ४.२ अर्ब युआन लगानी गरेका साधारण शेयर लगानीकर्ताहरु भने पैसा फिर्ता पाउने लाइनमा सबैभन्दा अन्तिममा छन्। डेलोइटको विश्लेषणका आधारमा भन्ने हो भने उनीहरुले संभवत: आफ्नो लगानी पूर्णरुपमा गुमाउनुपर्ने हुन सक्छ।

हाल ऋणको पुनर्संरचना योजनाअन्तर्गत एभरग्राण्डले ऋणदाताका दुई समूहसँग २० अर्ब अमेरिकी डलर बराबरको डिल गरिरहेको छ।

यसमध्ये पहिलो समूहमा एभरग्राण्डले जारी वा ग्यारेन्टी गरेका बण्डहरुसँग सम्बन्धित समूह छ, जुन बण्डको परिपक्वता अवधि सन् २०२२ को जनवरीदेखि सन् २०२५ को जुनसम्म छ।

यसमा एक व्यक्तिगत ऋणदाता पनि छन् जसको ऋण कम्पनीले सन् २०२२ को जनवरीमै तिर्नुपर्ने थियो। ती ऋणदातासँग कम्पनीले वार्षिक १५ प्रतिशत ब्याजदरमा ऋण लिएको थियो। ऋण तिर्ने म्याद गुज्रिसके पनि हालसम्म कम्पनीले उक्त ऋण तिरेको छैन।

दोस्रो समूहलाई कम्पनीले २.९३ अर्ब डलर तिर्नुपर्ने छ। यो कुल १४.७ अर्ब डलर दायित्व अन्तर्गतको २० प्रतिशत रकम हो। यसअन्तर्गत मार्जिन ऋण, स्ट्रक्चर्ड ऋण तथा युआन, हङकङ डलर तथा अमेरिकी डलरमा लिइएका व्यक्तिगत ऋणहरु पर्छन्। यसअन्तर्गत केही देशभित्रै तिर्नुपर्ने कम्पनीले ग्यारेन्टी गरेका ऋणहरु पनि छन्।  

हाल कम्पनीलाई रिभाइभ गर्नका लागि यसका संस्थापक तथा अध्यक्षले महत्त्वाकांक्षी योजना अघि सारेका छन्। यसअन्तर्गत ऋण भुक्तानीका लागि एभरग्राण्डले नयाँ बण्ड जारी गर्न लागेको छ।

कम्पनीले क्लास ‘ए’ र क्लास ‘सी’ वर्गीकरण गरिएका दुवै श्रेणीका ऋणदाताहरुका लागि फरक-फरक बण्ड जारी गर्ने बताइएको छ। यस्तै कम्पनीले ‘हाइब्रिङ सेक्युरिटीज’ पनि जारी गर्दैछ, जसलाई पछि सेयरमा परिवर्तन गर्न सकिन्छ। कम्पनीले यसलाई आफ्नो दुई कम्पनी प्रोपर्टी म्यानेजमेन्ट सर्भिस र न्यू इनर्जी भेहिकल ग्रुप मा लगानी गर्न सकिने हिसाबले जारी गर्न लागेको हो।  

क्लास ‘ए’ अन्तर्गतका ऋणदाताहरुका लागि एभरग्राण्डले नयाँ बण्डहरु जारी गर्नेछ जसको परिपक्वता अवधि १० देखि १२ वर्षको हुनेछ। यसकालागि कम्पनीले वार्षिक २ देखि ३ प्रतिशत ब्याज दिनेछ।

यसैगरी दुवै श्रेणीका ऋणदाताका लागि उपयोगी हुने गरी यसले थप नयाँ बण्डहरु जारी गर्नेछ जसको परिपक्वता अवधि जम्मा ५ देखि ९ वर्षको हुनेछ।  यसका लागि वार्षिक ५ देखि ७ प्रतिशत वार्षिक कुपन प्रदान गरिनेछ।

दुवै श्रेणीका ऋणदाताहरुले आफूले रुचाएको ‘सेक्युरिटी प्याकेज’ लिन सक्ने विकल्प दिइएको छ। यी प्याकेजहरुमा नयाँ बण्डहरुमा ५ वर्षपछि २.९९ प्रतिशतको ब्याजसहित जम्मा भएको पुँजी पछि एभरग्राण्डको सेयरका रुपमा परिवर्तन गर्न सकिनेछ।

यस्तै नयाँ बण्डहरु २ वर्षपछि २१.६ प्रतिशत सेयर हिस्साका रुपमा एभरग्राण्ड प्रोपर्टी सर्भिसेजको सेयरसँग साट्न सकिने छ। यस्तै नयाँ बण्डहरु ३८.९ प्रतिशत हिस्साका रुपमा एभरग्राण्डको न्यु इनर्जी भेहिकल ग्रुपको सेयरसँग साट्न सकिने छ। यीमध्ये आफूलाई उपयुक्त विकल्पका रुपमा ऋणदाताले बण्डमा लगानी गर्न सक्नेछन्।

योजनाअनुसार कम्पनीले १५ अर्ब डलरभन्दा बढी रकम नयाँ बण्डहरुबाट प्राप्त गर्नेछ तथा कम्पनीमाथि दायित्वको रुपमा रहेको ४.२५ अर्ब अमेरिकी डलरको ऋणलाई सेयरका रुपमा तीन कम्पनीहरुमा परिवर्तन गर्न सकिन्छ।

एभरग्राण्ड र हुइले विदेशमा रहेका केही सम्पत्तिहरु भने आफ्नो चीनको घरजग्गा ब्यापारसँग सम्बन्धित नभएको ‘प्रोपर्टी’ भनेको छ। सन् २०२२ को अगस्टमा ती सम्पत्तिको मूल्य ४ अर्ब डलर बराबर रहेको देखिन्छ जसलाई बेचेर कम्पनीले नगद प्राप्त गर्न सक्ने बताइएको छ।

भविष्यमा परिवर्त्य वा साट्न सकिने मूल्य भने चाइना एभरग्राण्डको प्रतिसेयर ५५.७५ हङकङ सेन्ट, एभरग्राण्ड प्रोपर्टी सर्भिसेजको प्रतिसेयर २.३० हङकङ डलर तथा एभरग्राण्ड न्यू इनर्जी भेहिकलको सेयरको ३.८४ हङकङ डलर तय गरिएको छ।

ऋण पुनर्संरचनाको टाइमलाइन

एभरग्राण्डले हङकङ, केम्यान टापु र पूर्वी क्यारेबियनका अदालतहरुबाट ऋणदाताहरुसँग भेटी उक्त योजनाबारे  सहमति जुटाउन स्वीकृति माग गरेकोमा आगामी जुलाइ २४ देखि २५ तारिखमा उक्त मागको सुनुवाइ हुने बताइएको छ।

अदालतबाट सहमति पाएको खण्डमा एभरग्राण्डले अगस्टमा उक्त योजनाहरुबारे छलफल अघि बढाउने तथा उक्त योजना लागू गर्न ती अदालतहरु समक्ष माग प्रस्तुत गर्ने योजना बनाएको छ।

आगामी सेप्टेम्बरमा एभरग्राण्डले आफ्नो ऋण पुनर्संरचनालाई कानुनी रुपमै प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

सेप्टेम्बरकै अन्त्यसम्ममा एभरग्राण्डले अमेरिकाको ‘बैंकरप्सी कोर्ट’मा केस फाइल गरी आफ्नो ऋणको पुनर्संरचनाको योजनालाई विश्वव्यापी रूपमा सार्वजनिक गर्ने तय गरेको छ।

सोचेजस्तै सहज छ कार्यान्वयन?

एभरग्राण्डले बनाएको यस योजनालाई विश्लेषकहरुले भने ‘सहज’ मानेका छैनन्। यसअघि नै हुईले प्रस्ताव गरेको अफरहरु ऋणदाताहरुले स्वीकार नगरेको तथा कम्पनीको बित्तीय विवरण र उक्त प्रस्तावलाई उसले नै नियुक्त गरेका अडिटले पनि समर्थन नगरेको अवस्थामा हाल हुइले भनेकै अनुसार बण्डधारकहरुले यसलाई स्विकार्ने अवस्था नदेखिएको विश्लेषकहरु बताउँछन्। 

काइयुन क्यापिटलका प्रमुख लगानी अधिकृत ब्रोक सिल्भर्सले यस योजनाबाट आउने परिणामले सजिलै बिदेशी ऋण पुनर्संरचनालाई सहज नबनाउने बताए। ‘ऋणदाताहरु एभरग्राण्डको यसअघिकै अफरहरुबाट पनि प्रभावित भएनन्। परिणाम त्यसको ब्यालेन्स सिटमै देखिएको छ।’- उनले भने- ‘आगामी साता हङकङको अदातलमा हुने सुनुवाइ कम्पनीको पक्षमा हुनेछ भनेर आशावादी हुने अवस्था म देख्दिन।’

यस्तै सिंगापुरस्थित रिसर्च संस्था क्रेडिट साइट्सका एसिया प्रशान्त क्षेत्र हेर्ने सह-प्रमुख सान्द्रा चाउ अर्थपूर्ण विश्लेषण नगरी उनीहरुमाथि विश्वसनीयताको प्रश्न उठिरहेको सन्दर्भमा योजनाले सार्थकता पाउने विषयमा केही भन्न नसक्ने बताउँछिन्।