
बुटवल। अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले कमजोर भएको अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा सोमबार गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले मौद्रिक नीतिले बैंकहरूको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताए।
‘मौद्रिक नीतिले नीतिगत दर (पोलिसी रेट) ६.५ प्रतिशत तोकेको छ, यसले बैंकको ब्याजदर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ,’ उनले भने, ‘कमजोर बनेको अर्थतन्त्र मौद्रिक नीति खुकुलो हुनेबित्तिकै चलायमान भएर सहजतातर्फ जान्छ।’
कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले सरकारले वित्त नीतिमा अर्थतन्त्र सुधारका महत्त्वपूर्ण कार्यक्रम राखेको बताए। अहिले लागत महँगो हुँदा पुँजी प्रवाह हुन नसकेको र यसले समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उनको भनाइ थियो।
बैंकको ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने उनले बताए। साथै पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनुपर्ने उनको भनाइ थियो। गतवर्ष राजस्व संकलनमा गिरावट देखिए पनि यो वर्ष लक्ष्य अनुसारको राजस्व संकलन हुने दाबी उनले गरे।
घरजग्गा लगायत अनुत्पादक क्षेत्रमा लगानी हुनु, कर्जाको ठूलो हिस्सा निश्चित ठूला घरानाले सहुलियतपूर्ण रुपमा प्रयोग गर्नु, सहकारी संस्था समस्याग्रस्त हुँदै जानु लगायत समस्या वित्तीय क्षेत्रमा रहेकाले सुधार्नु पर्ने उनको भनाइ थियो। तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेको भन्दै उनले १०० किलो सुन बरामद गरिएको र यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताए।
सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर कांग्रेस सांसद डा. सुनिल शर्माले पार्टीको केन्द्रीय समितिमा बोलेका थिए। उक्त अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्थ्य बीमा बोर्डको बीमा रकम नपाएका कारण मनपरी बोलेको आरोप लगाए।
पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्दा यथार्थ कुरा बाहिर आएको बताउँदै अर्थमन्त्री महतले बाहिर चर्चाका लागि बोल्ने नेताहरूबारे भ्रम हटेको बताए।