
काठमाडौं। बलिउडका कालजयी अभिनेता अमिताभ बच्चनको फिल्म ‘रण’को रिलिजसहित सन् २०१० मा भारतीय कम्पनी रिलायन्स मिडिया वर्क्स् लिमिटेडले कमलपोखरीको सिटी सेन्टरमा ‘बिग सिनेमाज्’ भित्र्याउँदा धेरैले कल्पना पनि गरेका थिएनन्- नेपालको सबैभन्दा ठूलो सहरबाट कुनै दिन ‘सिंगल थिएटर’ गुमनाम हुनेछ।
भारतका चर्चित व्यवसायी धीरुभाइ अम्बानीका कान्छा छोरा अनिलले भारत, अमेरिका, मलेसिया र नेदरल्यान्डस् पछि ‘मुभी थिएटर चेन’ नेपालसम्मै तन्काएका थिए। नेपालमा मल्टिप्लेक्स भित्र्याउने अनिलको व्यावसायिक यात्रा ओरालो बाटोमा लागे पनि नेपालमा भने मल्टिप्लेक्स ‘कल्चर’कै रुपमा बिस्तारित भइसकेको छ। सुरुवातको छोटो समयमा नै बिग सिनेमाज् नेपालबाट बाहिरियो र बिग मुभिजमा रुपान्तरित भयो।
मल्टिप्लेक्स र डिजिटल फिल्मको समानान्तर प्रवेशसँगै पछिल्लो डेढ दशकमा काठमाडौंभित्र फिल्म हेर्ने संस्कारमा आमूल परिवर्तन आएको छ। कुनै बेला ४ सय ५० भन्दा धेरै फिल्म हल नेपालमा संचालनमा थिए।

संख्यात्मक हिसाबले सिनेमा थिएटर बियरिस ट्रेन्डतिर लाग्दा मल्टिप्लेक्स भने बुलिस ट्रेन्डतिर लागिरहेको देखिन्छ। सबैभन्दा पछिल्लो समय आएकोमध्ये दरबार सिनेम्याक्स त्यसको उदाहरण हो।
यस हलमा एउटा टिकेटकै १२ सय रुपैयाँ तिर्न दर्शक तयार छन्। आजका लागि दरबार सिनेम्याक्समा हलिउड फिल्म ‘ओपनहाइमर’को टिकट किन्न शुक्रबार राति प्रयास गर्दा सबै सिट ‘फुल’ भइसकेका थिए। दरबार सिनेम्याक्स क्यूएफएक्स र गुण समूहद्वारा सञ्चालित सबैभन्दा सुविधायुक्त थिएटर हो।
बिग सिनेमाज सुरु भएको ८ महिनापछि‘क्यूएफएक्स’ ले मल्टिप्लेक्सको सुरुवात थालेको थियो। जयनेपाल र कुमारीजस्ता सिंगल थिएटरबाट मनोरञ्जन उद्योगको यात्रा थालेको क्युएफएक्स यतिखेर नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन बनेको छ।
त्यसपछि मल्टिप्लेक्सको विस्तारले यस्तो गति लियो कि काठमाडौं उपत्यकाबाट सिंगल थिएटर नै विस्थापित भइसकेको छ। मल्टिप्लेक्सको संख्या बढे पनि सबै समान रुपमा सफल भने छैनन्। दर्शकको रोजाइमा सीमित थिएटरमात्र छन् जसले सबैभन्दा धेरै कारोबार गरिरहेका छन्।
दर्शकको संख्याका आधारमा शीर्ष पाँचमा पर्ने मल्टिप्लेक्सहरु :
सिभिल मलस्थित ‘क्यूएफएक्स’

सिभिल मलमा रहेको ‘क्यूएफएक्स’ नेपालकै धेरै भिडभाड हुने हल हो। सन् २०१० मा खुलेको ‘क्यूएफएक्स’ ब्राण्डको पहिलो हल पनि यही हो। जहाँ ९९३ सिट क्षमता छ।
तीनवटा पर्दामा फिल्म चल्छ यहाँ। सबैभन्दा ठूलो हलमा एकैपटक ४९९ जनाले फिल्म हेर्न सक्छन्। हलमा लक्जरियस सोफासहितको सुविधा उपलब्ध छ।
सुन्धारा, न्युरोड र असन व्यापारिक केन्द्र भएकाले यहाँ बाक्लै भिडभाड हुन्छ। त्यसैकारण सिभिल मलको हलमा दर्शकको भीड लाग्ने गरेको ‘क्यूएफएक्स’की बजार प्रमुख तृप्ति गिरीको बुझाइ छ।

‘सुन्धारा आफैँमा प्राइम लोकेसन र व्यापारिक केन्द्र भएकाले सिभिल मलमा दर्शकको भीड बढी छ। हलको क्षमता धेरै छ। यहाँ सबै वर्गका दर्शक आउँछन्। अत्याधुनिक सेवासुविधाका कारण रोजाइमा परेजस्तो लाग्छ,’ गिरीले भनिन्।
क्षमतासँगै हलले दर्शक केन्द्रित अफर पनि ल्याइरहेको पाइन्छ।
‘हामी दर्शकको छनोटमा निकै ध्यान दिन्छौं। कुन समयमा कुन फिल्म राख्दा दर्शक आउँछन् भन्नेमा सतर्क हुन्छौं। बुधबार र बिहीबार २ सय रुपैयाँमै फिल्म हेर्ने सुविधा पनि दिएका छौं,’ गिरीले भनिन्।

यहाँको फोर के प्रोजेक्सन, उत्कृष्ट अडियो क्वालिटी र इम्पेरियल एम्बियन्सले दर्शकलाई आकर्षित गरिरहेको छ। एक महिनामा औसतमा २० हजार दर्शक सिभिल मल पुग्ने गरेका छन्।
फिल्म राम्रो चल्दा दर्शक ५० हजारसम्म पुगेको रेकर्ड पनि ‘क्यूएफएक्स’सँग छ। सिभिल मलको ‘क्यूएफएक्स’मा हलिउड र बलिउडभन्दा नेपाली फिल्म धेरै चल्ने गरेको छ।
एफक्युब सिनेमाज
कुनै समय गोपीकृष्ण मुभिजले चाबहिल क्षेत्रमा एकछत्र कब्जा जमाएको थियो। विश्वज्योतिमा फिल्म चलाउन कुर्नेहरु गोपीकृष्णको पर्खाइमा बस्न थालेका थिए।

महत्त्वाकांक्षी मल्टिप्लेक्सको योजनामा रहेको गोपीकृष्ण मुभिज खुम्चिँदा त्यस स्थानलाई एफक्युब सिनेमाजले लिएको छ। चुच्चेपाटीको केएल टावरमा रहेको एफक्युबले वर्षमा साढे तीन लाख दर्शक तानिरहेको छ।
आरामदायी ३ वटा हलमा थ्रीडीसहित अत्याधुनिक डल्बी साउण्ड ५.१/७.९ सिस्टम जडान गरिएको छ। ६२२ सिट क्षमताको हलमा साढे ३ सयदेखि ५ सय रुपैयाँ टिकट काटेर फिल्म हेर्न पाइन्छ।
प्रिमियम हलमा भने फोर के जडान गरिएको छ। फिल्मको साउण्डलाई सिटसँग ‘कोलाब्रेसन’ गरिएकाले दर्शकले सिटबाट पनि ध्वनि महसुस गर्न सक्छन्। एफक्युबका व्यवस्थापक रामहरि कोइराला दर्शकको रोजाइमा पर्नुमा यही सुविधाको ‘क्युब थ्री’ हललाई कारण मान्छन्।

उनको दाबी अनुसार नेपालका अरु कुनै पनि हलमा यसखाले सुविधा छैन। दर्शकलाई सेवा र सुविधा दिने मामिलामा कुनै कमी हुन नदिएको कोइरालाको दाबी छ।
यस हलमा मंगलबार र बुधबार दुई सय रुपैयाँमा फिल्म हेर्न सकिन्छ। चाबहिलसँगै बौद्ध, पुरानो बानेश्वर, महाराजगञ्ज, कालोपुल र बुढानीलकण्ठ क्षेत्रका दर्शक एफक्युबका मुख्य ग्राहक हुन्। हल चल्नका लागि लोकेशन र सेवासुविधा मुख्य कारक ठान्छन् कोइराला।
एफ क्युबमा धेरैजसो हिन्दी फिल्महरु चल्ने गर्छन्। गोपीकृष्ण हल बन्द भएसँगै एफक्युबमा नेपाली फिल्मका दर्शक पनि बढेको कोइरालाले सुनाए।

‘खासगरि एफक्युबमा हिन्दी फिल्महरु नै बढी चल्छ। गोपीकृष्ण बन्द भएपछि नेपाली फिल्मको क्राउड बढेको छ। अहिले हिन्दी फिल्मभन्दा नेपाली फिल्मले नै मल्टिप्लेक्स टिकाएका छन्,’ उनले भने।
कोइरालाको दाबी अनुसार ‘कबड्डी’, ‘जारी’ र ‘छक्कापञ्जा’ले यही हलबाट मात्रै करोडभन्दा माथिको व्यापार गरेका थिए।
फिल्म राम्रो चल्दा दैनिक ३ हजार टिकट बिक्री हुने गरेको समेत उनको भनाइ छ। गत आर्थिक वर्षमा झण्डै साढे तीन लाख टिकट बिक्री भएको बताउँदै उनले वर्षमा हलले ८ देखि १२ करोडसम्मको व्यापार गर्ने बताए।

कोरोना संक्रमणका कारण हल बन्द हुँदा एफक्युबले नयाँ स्वरुपमा ल्याएको हो। दर्शकलाई नयाँपन दिन सिट फेर्नेदेखि वेटिङ स्पेसमा सजावट गरिएको छ। बिस्तारै शाखा विस्तारको योजनामा पनि छ एफक्युब।
बिग मुभिज
कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिज पनि धेरै दर्शकको रोजाइमा परेको मल्टिप्लेक्स हो। तीन पर्दासहित ८८७ दर्शक क्षमता बिग मुभिजमा छ। थ्रीडी सिनेमा हेर्न मिल्ने एउटा हलमा अत्याधुनिक डल्बी एटमस साउण्ड पनि जडान छ।
प्राइम लोकेशनर सेवासुविधा नै दर्शक तान्ने आधार रहेको बताउँछन् बिग मुभिजका प्रमुख कार्यकारी अधिकृत दीपेश शर्मा।

‘सिनेमाहलमा सबैभन्दा ठूलो कुरा सेवा हो। दर्शकहरु मनोरञ्जन लिन र माइन्ड फ्रेस गर्न सिनेमाहल आउँछन्,’ शर्माले भने, ‘दर्शकलाई बुकिङदेखि इन्ट्रीसम्म सजिलो वातावरण बनाएका छौं। तीनघण्टा राम्रोसँग बितोस् भनेर भित्रबाट फुड अडर गर्न समेत मिल्छ।’
बिग मुभिजमा हिन्दी फिल्महरु धेरै चल्ने गर्छ। तर कोरोना महामारीपछि भने नेपाली फिल्ममा दर्शकको भीड बढ्दो छ। त्यसको उदाहरणमा उनले फिल्म ‘जारी’ र ‘कबड्डी ४’का दर्शकलाई लिएका छन्।
बिग मुभिजमा बिहानीको शोमा विद्यार्थीहरु आउँछन् भने दिउँसो र साँझ परिवार। बिग ब्यानरका फिल्म रिलिज हुँदा भने हरेक शो हाउस फुल हुने गर्छ।

बिग मुभिजमा बनेपादेखि बौद्धसम्मका अडियन्सहरु पुग्ने शर्माले बताए। सामान्य टिकट मूल्य ३५० रुपैयाँ हुँदा हलले बुधबार र बिहीबार भने १८५ रुपैयाँमै फिल्म देखाउने गरेको छ। गत आर्थिक वर्ष करिब १० करोडको व्यापार गरेको छ यस मल्टिप्लेक्सले।
लबिम मलको क्यूएफएक्स
ललितपुरको पुल्चोकस्थित लबिम मलमा रहेको क्यूएफएक्समा पनि दर्शकको उपस्थिति उत्साहनजक हुन्छ। मलमा हल सञ्चालन हुँदा दर्शकहरुको अकुपेन्सी राम्रो भएको क्यूएफएक्सकी बजार प्रमुख गिरी बताउँछिन्।
‘क्यूएफएक्सका धेरैजसो हलहरु मलकै सेटिङमा सञ्चालनमा छन्। मल र हलसँगै हुँदा सामान किन्नेदेखि मुभी हेर्नेसम्मको सुविधा एउटै ठाउँमा मिल्छ। त्यस हिसाबले हल र बिजनेस दुवैलाई फाइदा भएको देखिएको छ,’ उनले कारण खुलाइन्।

ललितपुरमा लबिम मल खुलेसँगै क्यूएफएक्स संचालनमा आएको हो। मलमा आउने ग्राहक लिजर टाइममा फिल्म हलमा छिर्न थालेपछि यसले व्यावसायिक सफलताको बाटो लियो।
‘लबिम मल ललितपुरकै राम्रो मल हो, जसले हाम्रो हललाई पनि प्लस पोइन्ट भयो,’ गिरीले भनिन्।
लबिङको क्यूएफएक्समा ५४५ सिट क्षमता रहेको तीनवटा स्क्रिन छन्। फिल्मका अलावा फुड सर्भिस, पार्किङ सुविधादेखि फोर के प्रोजेक्सन र साउण्ड क्वालिटी पनि हलका राम्रा पक्ष हुन्।

‘हामी अडियन्सलाई मुभीबाहेक के मन पर्छ भनेर ध्यान दिइरहेका हुन्छौँ। हलको एम्बियन्सदेखि फुड र टिकटमा अफर दिएर उहाँहरुलाई खुसी बनाउने कोसिस गर्छौँ। जसले सबैखाले दर्शकहरु यहाँ आउन मन पराउनुहुन्छ,’ उनले भनिन्।
ललितपुरका साथै काठमाडौं र भक्तपुरबाट पनि फिल्म हेर्ने दर्शक लबिम मलसम्म पुग्छन्। तीन बजेपछिको शोलाई हलले प्राइम टाइम मानेको छ। यहाँ हलिउडमा निर्मित फिल्ममा बढी दर्शकहरु आउने समेत गिरीले जानकारी दिइन्।
‘लबिम मलको बनावट विदेशी मलजस्तै देखिन्छ। ओपन स्पेस अनि आकर्षक डिजाइनले पनि यहाँ हलिउड फिल्म हेर्नेको चाप धेरै हुन्छ। विदेशीहरु पनि यहाँको हलमा फिल्म मन पराउनुहुन्छ,’ उनले भनिन्।

आइप्लेक्स मलस्थित वान सिनेमाज
नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा रहेको वान सिनेमाज छोटो समयमै दर्शकको रोजाइमा पर्न सफल भएको मल्टिप्लेक्स हो। ‘सी एमेजिङ, हियर एक्ट्राअडिनरी, इट डेलिसियस’ भन्ने थिमसहित खुलेको यस हलमा तीनवटा अडिटोरियम छन्।
४८० सिट क्षमताको हलमा सोनीको फोर के प्रविधिबाट सिनेमा हेर्न मिल्छ। साथै, डल्बी सराउण्ड ७.२ साउण्ड सिस्टम छ।
भिजुअल र अडियो क्वालिटी तथा प्राइम लोकेसनका कारण हलले दर्शकको साथ पाउन सकेको वान सिनेमाजका निर्देशक प्रज्वल शमशेर जबराले जानकारी दिए।

‘दर्शकहरुलाई कसरी अरु हलभन्दा फरक अनुभव गराउने हाम्रो लक्ष्य हो। दर्शकहरुको लिजर टाइमलाई विशेष बनाउन हामीले विशेष ट्यागलाइनसहित हल सञ्चालन गर्यौँ। हामीले तीन वर्षमै चार लाख बढी अडियन्सहरु भित्र्याउन सकेका छौँ,’ उनले भने।
बानेश्वर ‘मिक्स डेमोग्राफिक एरिया’मा रहेकाले वान सिनेमाजमा विद्यार्थीदेखि बैंकर तथा व्यवसायीसम्म फिल्म हेर्न पुग्छन्। नयाँ बानेश्वरलाई ‘मीड प्वाइन्ट’ बनाउँदा २ किलोमिटर वरिपरि बस्नेहरु हलका टार्गेटेड अडियन्स रहेको प्रज्वलले प्रष्ट्याए।
अनामनगर, मैतीदेवी, बानेश्वर, बत्तीसपुतली, शंखमुल, सिनामंगल र तीनकुने क्षेत्रका मानिसहरु यहाँका नियमित दर्शक हुन्।

‘हाम्रो हलमा फिल्म हेर्न आउँदा अडियन्सले फुल प्याकेज पाउनुहुन्छ। फुड हल भित्रैबाट अडर गर्न मिल्ने सुविधा छ। आरामदायी सोफालगायत दुईवटा अडीमा सुतेर हेर्न मिल्ने सिट पनि राखिएको छ। पिक्चर र साउण्ड क्वालिटी हलिउड लेबलको छ,’ जबराले भने।
दर्शकबाट राम्रो साथ पाएसँगै वान सिनेमाजले सेवा सुविधा विस्तार गर्दै लगेको छ। दुई स्क्रिनबाट सुरु गरेको वान सिनेमाजले प्रिमियम हलसमेत थप गरेको छ।
प्रिमियममा आरामदायी सोफामा बसेर दर्शकले फिल्मको मजा लिन सक्छन्। वान सिनेमाजले २५० देखि ५०० सम्मको टिकटहरु राखेको छ।

आर्थिक वर्ष २०७९/८० मा वान सिनेमाजबाट १ लाख १८ टिकटहरु बिक्री भएको म्यानेजर उमेशराज गिरीले जानकारी दिए। बलिउड र हलिउड फिल्मभन्दा गतवर्ष नेपाली फिल्मको कलेक्सन बढी भएको उनले सुनाए।
सिंगलबाट मल्टिप्लेक्स यात्रा
नेपालमा मल्टिप्लेक्स यात्रा थाल्नुअघि जय नेपाल र कुमारी हल क्यूएफएक्सले संचालन गरेको थियो। दुवै हल अहिले संचालनमा छैनन्। तर नेपालमा थिएटरको ३० प्रतिशतभन्दा बढी मार्केट हिस्सा क्यूएफएक्सले लिने दाबी गिरीको छ।
‘नेपालभर क्यूएफएक्सको मार्केट सेल बढी नै छ। हालै रिसर्च गर्दा हामीले नेपालभरकै हलमध्ये ३० देखि ४० प्रतिशत बिजनेस क्यूएफएक्सले कभर गरेको पाइयो। क्यूएफएक्सका सबै आउटलेटमा प्रति महिना औसतमा १ लाख ८० दर्शक आउने गर्छन्,’उनले भनिन्।

चेन निर्माणमा अग्रणी रहेको क्यूएफएक्सबाहेक अन्य मल्टिप्लेक्स पनि काठमाडौंमा चलिरहेका छन्। सिंगल थिएटर रहेको रञ्जनामा अहिले तीनवटा पर्दा सहित मल्टिप्लेक्स संचालनमा छ।
सिंगल थिएटरबाटै जमलको विश्वज्योति मल्टिप्लेक्समा रुपान्तरित भएको छ। कमलादीमा क्यूज सिनेमाले तीनवटा पर्दाबाट फिल्म प्रदर्शन गरिरहेको छ। क्यूएफएक्सले भक्तपुरमा रहेको भाटभटेनीमा पनि मल्टिप्लेक्स संचालन गरिरहेको छ। यसैगरी दुई हलसहित सीडीसी सिनेमाज पनि सञ्चालनमा छ।