
काठमाडौं। ६० मेगावाटको माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि १२ अर्ब ८६ करोड रुपैयाँ लाग्ने भएको छ।
युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन अनुसार प्रतिमेगावाट लागत २२ करोड २१ लाख रुपैयाँ रहेको छ।
कम्पनीको आयोजना सम्भाव्यता अध्ययन भइसकेको छ भने इआइए प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइसकेको छ। उक्त प्रतिवेदन स्वीकृति भएपछि निर्माणको बाँकी प्रक्रिया अघि बढाउने तयारीमा कम्पनी छ।
प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ भएर बग्ने तमोर खोलामा निर्माण हुनेछ। आयोजना कन्चनजंघा सरंक्षण क्षेत्रभित्र पर्छ।

यो आयोजनाको इन्टर्नल रेट अफ रिटर्न ११.६१ प्रतिशत रहेको छ। लगानी फिर्ता अवधि ७.११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि १८.४१ वर्ष रहेको छ।
आयोजनाको माथिल्लो तटीय क्षेत्रमा कुनै पनि जलविद्युत आयोजना प्रस्ताव गरिएको छैन। तल्लो तटीय क्षेत्रमा सुपर तमोर र याङमा खोला गरी दुई जलविद्युत आयोजना रहेका छन्।
आयोजनासम्म पुग्नका लागि करिब २० किलोमिटरको पहुँचमार्ग निर्माण गर्नुपर्छ। यो आयोजना निर्माण गर्दा कुनै पनि घरधुरी प्रभावित हुने छैन। वन क्षेत्रको ११.५९२ हेक्टर स्थायी र ७.५८२ हेक्टर अस्थायी जग्गा अधिग्रहण गरिनेछ।
आयोजनाको ग्रस हेड ९६८ मिटर र नेट हेड ९४३.७२ मिटर हुनेछ। यो आयोजना वार्षिक ३३३.८२२ गिगावाट घण्टा उत्पादन हुनेछ। सुक्खायाममा १००.३०७ गिगावाट घण्टा र बर्षायाममा २३३.८२२ गिगावाट घण्टा उत्पादन हुनेछ।
यो नदी प्रवाहमा आधारित प्रकृतिको हो। आयोजनाको हेडवर्क्स क्षेत्र दिगसम्बा र तमोर नदीको दोभानबाट ३.५ किलोमिटर तल तमोर नदीको दायाँ किनारमा पर्छ।
विद्युत गृह तमोर नदीको दायाँ किनारमा जोंगिम भन्ने ठाउँमा रहेको झोलुङ्गे पुल नजिकै पर्छ। विद्युत उत्पादनपछि १३२ किलो भोल्टको १५ किलोमिटर सिंगल सर्किटको प्रसारणलाइन निर्माण गरेर २२०/१३२/३३ केभी ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।
आयोजना निर्माणका लागि तीन वर्ष लाग्ने अनुमान छ।