महरा बाबुछोरा भेपभित्रको ९ किलो सुन प्रकरणमा प्रहरीको अनुसन्धानमा किन तानिएनन् ?



सविन ढकाल
२०८० साउन ३ गते १८:४६ | Jul 19, 2023
महरा बाबुछोरा भेपभित्रको ९ किलो सुन प्रकरणमा प्रहरीको अनुसन्धानमा किन तानिएनन् ?

काठमाडौं। गत पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप (इलेक्ट्रिक चुरोट) ल्याएका थिए।

Tata
GBIME
Zonsen

भेपभित्रको ९ किलो सुन फिल्मी शैलीमा भन्सारको गोदामबाट बाहिर ल्याएर बिक्री गरेपछि तस्करीको शैली र संलग्नता खुलेको थियो। जसमा जोडिए सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल।

प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनले उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने देखाउँछ। दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको र काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको अभियोगत्रमा सुन ल्याउने समूहमा महरा र राहुलको नाम प्रस्ट राखिएको छ। तर अरु झैँ महरा बाबुछोरा अनुसन्धानको र्‍याडरमा परेनन्।

विदेशबाट सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबुछोराको सम्पर्क देखिन्छ। उनीहरू एक अर्काबीच परिचित पनि छन्। मोबाइलमा पटक पटक सम्पर्क भएको प्रहरी अनुसन्धानमै देखिएको छ। मोबाइल फोनको कल डिटेल (सीडीआर) अनुसार कति पटक फोन भयो भन्ने पनि खुल्छ।

पुस १० गते आएको भेप जफत भएपछि लिलामीका लागि राहुलले त्रिभुवन भन्सार कार्यालयका अधिकृतलाई फोन गरे। फोन गरेको कुरा उनी र अधिकृत दुवैले स्वीकारेका छन्।

प्रहरीले तीन समूहको कनेसक्सनलाई जोडेर अनुसन्धान गर्‍यो । विदेशबाट सुन ल्याउने, भन्सारबाट भेपभित्रको सुन चोरी गर्ने र अन्तिममा सुन किन्ने समूह छुट्याइएको छ। पहिलो लेयरमा महरा बाबुछोरासहित सात जनाको नाम छ।

चिनियाँ नागरिक डाजिङ वाङ र लोकेन्द्र पौडेल पहिलो समूहमै पर्छन् । महराको दुई चिनियाँ नागरिकसँग फोन सम्पर्क हुन्छ। राहुलले चिनियाँ नागरिकका साथै लोकेन्द्रसँग सम्पर्क गरेको देखिन्छ। त्यस्तै भेपको लिलामीका लागि राहुलले भन्सार कार्यालयका अधिकृत मुक्ति श्रेष्ठलाई सम्पर्क गरे।

दोस्रो लेयरमा रहेका नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत लगायतको कनेक्सन अरु माध्यमबाट सुन किन्ने व्यापारीसम्म देखिएको छ।

प्रहरीले महरा बाबुछोरालाई सोधपुछ गर्ने आधार प्रस्ट देखिएको छ। सामान्य मानिस भएको भए प्रहरीले यति प्रमाणलाई पर्याप्त मानी आधारमा अनुसन्धानको दायरामा ल्याउन ढिलाई गर्दैनथ्यो। संदिग्धलाई हत्कडी लगाएर हिरासतमा राखिसक्थ्यो। तर भेपभित्रको ९ किलो सुन प्रकरणमा पर्याप्त प्रमाण देखिँदा पनि महरा बाबुछोरा भने अनुसन्धानको घेराभन्दा बाहिरै छन्।

नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल महरा बाबुछोरामाथि अनुसन्धान नहुनुलाई ‘राजनीतिक संरक्षण’ भन्छन्। ‘उनीहरू अनुसन्धानबाट राजनीतिक आडमा जोगिएका हुन्। सामान्य मानिस भएको भए यस्तो हुँदैनथ्यो। उच्च राजनीतिक व्यक्ति देखिएपछि प्रहरीले पनि खुट्टा कमाउँछ नै’ मल्लले भने।

महरा पूर्वसभामुख हुन्। उनी सभामुख हुँदा संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा २०७६ असोज १९ गते निवासबाटै पक्राउ परेका थिए। तर जिल्ला अदालत काठमाडौंले पक्राउ परेको १ सय ३ दिनपछि सफाइ दियो।

त्यतिखेरको घटनाक्रम र अहिलेको सुन प्रकरण नितान्त फरक भएकाले राजनीतिक संरक्षण मिलेको प्रहरीको बुझाइ छ। यतिखेर महरा आवद्ध माओवादी केन्द्रले नै सरकारको नेतृत्व गरिरहेको छ। प्रहरी प्रशासनको नेतृत्व गर्ने गृह मन्त्रालय पनि माओवादीकै भागमा छ। यसले पनि उनलाई थप संरक्षण मिलेको पूर्वडीआइजी मल्ल बताउँछन्।

दुई महिना अगाडि त्रिभुवन भन्सार कार्यालयका प्रमुख अरुणप्रसाद पोखरेलको जाहेरीपछि सीआईबीले भेपभित्रको सुन प्रकरणको अनुसन्धान थालेको थियो।

यो प्रकरणमा भन्सार कार्यालयका नायव सुब्बा खड्का, भन्सार एजेन्ट बस्नेत, सुरक्षा गार्ड निर्मल विक, सुन व्यापारी वेदप्रसाद अग्रवाल र साहेव राव पाण्डुङ मरगको संलग्नता खुलेको छ। संलग्नता देखिएका रामकेशव थापा, गोपाल सुवेदी र दीपेश बस्नेत फरार छन्। पक्राउ परेका ६ मध्ये अमृत कार्कीबाहेक पाँच जना जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

सीआईबीले दुई महिना लगाएर अनुसन्धान गरेपछि रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले अनुसन्धान चित्त नबुझे प्रतिवेदन प्रहरीलाई फिर्ता समेत पठाउन सक्छ। थप मानिसलाई प्रतिवादी बनाउनुपर्ने भए राय सुझावसमेत दिन सक्छ।

तर सरकारी वकिल कार्यालयले पनि महरा बाबुछोरालाई बयान लिने प्रमाण देखिंदा आँखा चिम्लिदियो। ‘उनीहरूको हकमा प्रतिवादी बनाउने पर्याप्त आधार देखिएन। तर हामीले थप अनुसन्धान गर्नु भनेका छौं। अनुसन्धानको फाइल बन्द गरिएको भन्ने होइन’ सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बिजमाण्डूसँग भने।

यो प्रकरणमा चिनियाँ नागरिकमाथि पनि पर्याप्त अनुसन्धान गरेको देखिंदैन। उनीहरुलाई पनि प्रतिवादी बनाइएको छैन। महरासँग कनेक्सन देखिएका चिनियाँ नागरिक पक्राउ गर्दा थप प्रमाण भेटिन सक्थ्यो। तर फरार भएको भनेर प्रहरी उम्किन खोजेको छ।

सुन ल्याउने चिनियाँ नागरिक लि सुसङ विमानस्थलमा जफत भएको सुन लिलामी नहुने थाहा पाउने बित्तिकै चीन गएको खुल्छ। त्यसपछि बाँकी प्रक्रियामा अर्का चिनियाँ नागरिक दोजिन वाङ जोडिन्छन्। उनी पनि केही समयपछि चीन फर्किएको प्रहरीको दाबी छ। उनीहरूले आफूलाई फलफूलको व्यापारी बताउने गरेको अभिव्यक्ति महराले दिएका छन्।

यो प्रकरणमा अरु नेपाली समेत मुख्य योजनाकार भएको देखिए पनि प्रहरीले तीमाथि अनुसन्धान गरेको छैन। फोन सम्पर्क गरेकै आधारमा महरा बाबुछोरालाई प्रतिवादी बनाउन नसक्ने अवस्था रहेको सीआईबीका प्रवक्ता सञ्जयसिंह थापा बताउँछन्। ‘सम्पर्क भएको देखिन्छ। तर त्यो सम्पर्क सुन तस्करीका लागि नै थियो भन्ने प्रष्ट हुँदैन’ एसपी थापाले भने। अनुसन्धान भने जारी राखेको उनको भनाइ छ।

भन्सारको गोदामबाट भेपभित्रको सुन ९ दिन लगाएर झिकिएपछि दीपेश र गोपालको सहयोगमा न्युरोडमा रहेका प्रकाश अग्रवाल, साहेव राव लगायत व्यापारीलाई बिक्री गरियो। सुनको मूल्य ६ करोड २१ लाख भए पनि २१ लाख छुट दिएर बिक्री गरिएको थियो।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं राजनीतिक दलको संरक्षणमा भ्रष्टाचार र कमिसनखेर मौलाएको भन्छन्। उनको कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र बहालवाल सचिव पक्राउ परे। तर आफ्नै पार्टीका नेताको नाम जोडिएको घटनामा भने उनले अझैसम्म मुख खोलेका छैनन्।