गुगल म्यापले भोगेको हैरानीबाट जन्मिएको गल्ली, नेपाली डिजिटल म्याप एप बनाउन जुटिरहेका छन् युवा

बिजमाण्डू
२०८० साउन ३ गते १६:१९ | Jul 19, 2023
गुगल म्यापले भोगेको हैरानीबाट जन्मिएको गल्ली, नेपाली डिजिटल म्याप एप बनाउन जुटिरहेका छन् युवा

काठमाडौं। राजविक्रम महर्जनले वाट्सएपमा घर नम्बर सहितको आफ्नो अफिसको ठेगाना ३८३/११ झतपोल बलिफल मार्ग (383/11 jhatapol balifal marg) पठाए। सोही ठेगाना राजविक्रम र उनका साथी जनम महर्जन र अशोन शाक्यले नै बनाएको गल्ली म्याप्स्को सर्च बक्समा हालेर त्यसैको डाइरेक्सन पछ्याउँदै हामी पाटकढोकास्थित अशोक पार्टी प्यालेसको नजिकै रहेको एक भवनमा पुग्यौं।

Tata
GBIME
Nepal Life

राजविक्रमले म्यासेसमा नै उक्त भवनको ३६० डिग्री फोटोमा पिन गरेर पनि लोकेसन सेयर गरेका थिए। त्यसैले पनि घर बाहिर अफिसको कुनै बोर्डविना नै फोटो र घर नम्बर हेरेरै गल्ली म्याप्सको अफिस ठम्याउन हामीलाई सजिलो भयो।

अफिसमा पुग्दा राजविक्रम र उनका एक सहकर्मी ३६० डिग्री क्यामेरा फिट गरेर म्यापिङमा जाने तयारीमा थिए। अरु सबै म्यापिङका लागि डाटा इन्ट्रीको काममा व्यस्त देखिन्थे। कोरोना संक्रमणको महामारीका बेला राजविक्रम र उनका साथीहरुले नेपालका लागि बनाएको विस्तृत डिजिटल नक्सा हो गल्ली म्याप्स्।

आ-आफ्नो आवश्यकता र संरचना हेरेर हिजोआज हरेक विकसित देशहरुको आ-आफ्नो डिजिटल म्याप(नक्सा) एप छन्। आज हातमा स्मार्टफोन भएको मान्छे संसारमा कतै पनि हराउँदैन। कारण हो, डिजिटल म्याप। डिजिटल नक्सामा पनि खास खास ठाउँका लागि रैथाने छन्, जसले बाटोघाटो सजिलै देखाउँछन/बताउँछन्। नेपालको गल्ली म्याप्सजस्तै चीनमा बाइडु म्याप प्रयोगमा छ भने भारतमा म्यापमाइइन्डिया एप प्रचलित छ।

युरोपमा चेक म्याप, रसियाको यान्डेक्स म्याप छ। कोरियालीहरुले कोरियामा आफ्नै ककाओ म्याप प्रयोग गर्छन्। यस्ता म्यापहरु निकै लोकलाइजड, सटीक र विस्तृत छन्। जुन स्थानीय आवश्यकता हेरेर बनाइएको हुन्छ।

काठमाडौंको लागि पनि ड्रोन म्यापिङ कम्पनी सञ्चालन गर्दै आएका तीन साथीले गल्ली म्याप्स लिएर आएका हुन्।

राजविक्रम गल्ली म्यापलाई यसरी बुझाउँछन्, ‘गल्ली म्याप्स नेपालको आफ्नै म्याप एपलिकेसन हो। जुन हामीले नेपालको म्यापिङ सम्बन्धी समस्या समाधान गर्न सुरु गरेको पहल पनि हो।’

नेपाली डिजिटल म्याप एप

यो कसरी अरु म्यापबाट फरक छ भनेर उनले बुझाए। यसमा ३६० डिग्री फोटोहरु छ। साथै हिड्न, मोटरसाइकल र गालीको लागि छुटाछुट्टै नेभिगेसन पनि राखेको छ। र यसमा स्थानीय घर नम्बर पनि उपलब्ध छ जसले डेलिभरी सहज बनाउँछ।

‘अरु म्यापमा पनि ३६० इमेज त छ। तर फोटोमा पिन गर्न मिल्दैन। हाम्रो पिन गरेर सेयर गर्न मिल्छ। रोड नेटवर्क एकदमै विस्तृत रुपमा समेटिएको छ,’ उनले भने, ‘गुगल म्याप हेर्नु भयो भने गल्लीलाई पनि उस्तै बाटो, भर्‍याङहरु भएको ठाउँमा पनि उस्तै देखाउँछ। हामीले गल्लीलाई गल्ली नै राखेको छौं भर्‍याङलाई भर्‍याङ नै।’

उनले थपे, ‘हिडेर जान पर्दा भर्‍याङ प्रयोग गरियो भने त छोटो पर्छ। गल्लीभित्र मोटरसाइकल छिर्छ हामीले त्यही अनुसारको रुट सजेस्ट गर्छौँ। गल्लीमा त गाडी छिर्दैन त्यसैले हामीले गाडीको लागि त्यो रुट नै ब्लक गर्दिन्छौं। हामीले हिड्न, मोटरसाइकल र गाडीका लागि छुटाछुट्टै नेभिगेसन राखेका छौं।’ 

राजविक्रमले गल्ली म्याप्स विकास गर्न उनीहरु आफैंले संकलन गरेको डाटा, स्थानीय सरकारसँग भएको डाटा को र ओपन सोर्सबाट पनि डाटा सङ्कलन गरेको बताए।

गल्ली म्यापस बनाउन यी तीन साथीले सन् २०२०को लकडाउनमा सुरु गरे। लकडाउन अघिसम्म उनी नगरपालिकाहरुको ड्रोन म्याप बनाउने गर्थे। स्याटलाइट म्यापभन्दा ड्रोन म्यापमा १० गुणा हाइ रिजोल्युसन म्याप हुन्छ। नगरपालिकाहरुले घर नम्बर राख्न र अर्बन प्लानिङको लागि ड्रोन म्याप प्रयोग गर्ने गरेको उनले बुझाए।

स्याटलाइट म्याप लो रिजोल्युसन हुन्छ। गुगल म्यापमा नेपालका ठाउँहरु खोजेर जुम गर्दै हेर्‍यो भने फोटो धमिलो आउँछ। अमेरिका हेर्‍यो भने क्लियर हुन्छ किनभने नेपालको लागि प्रयोग गरिएको स्याटेलाइट इमेजरीको रिजोल्युसन विकसित राष्ट्रहरूमा प्रयोग हुने जत्तिकै उच्च गुणस्तरको हुँदैन।

चीनबाट सन् २०१४ मा एरोनोटिकल इन्जिनियर अध्ययन सकेर आएका राजविक्रमले भने, ‘अब यहाँ त कोर एरियामा त गल्ली-गल्ली हुन्छ। घरहरु टाँसिएका हुन्छ। त्यसैले उहाँहरुलाई हाइ रिजोल्युसन म्याप चाहिएको हुन्छ। त्यसको लागि ड्रोन म्यापिङ नै एउटै विकल्प थियो।’

उनीहरुले कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका, शंखरापुर नगरपालिका, काठमाडौं महानगर अन्तर्गतको वार्ड २२ लगायतको सरकारी संस्थाको लागि ड्रोन म्याप बनाएका थिए।

आफैंले खेपेको हैरानीबाट आवश्यकता महसुस

कोरोना संक्रमण लगातार बढेलगतै देशमा लकडाउन भयो। मानिसहरु सबै घरमा नै सीमित भए। दोस्रो पटकको लकडाउनमा राजकी आमालाई कोराना संक्रमण भयो। 

उनको पुरै घर नै सिल भयो। बाहिर निस्किन मिल्ने अवस्था थिएन। तरकारीदेखि औषधिसम्म सबै अनलाइनबाट नै मगाउनु पर्ने बाध्यता आयो।

उनले अक्सिजन नाप्ने अक्सिमिटिर मागाउँदाको भोगेको हैरानीको बारेका सुनाए, ‘आउन त आयो। तर लोकेसन ठ्याक्कै ठम्याउन नसकेर आधा घण्टा जस्तो फोनमा नै अलमल भयो। घर नजिकै पुगेपछि सामान डेलिभरी गर्नेले लोकेसन सोध्न थाल्नु भयो। फोनमा बुझाउँदा कहिले उहाँ धेरै अगाडि पुग्ने कहिले पछाडि।’

अरु बेला जस्तो निस्केर चोकमा नै गएर सामान लिन नि मिल्ने अवस्था थिएन। ‘गुगल म्यापमा लोकसन पिन गरेर पठाउँदा पनि घरको मूल ढोका एक तर्फ बाटो पछाडि पट्टिको देखाएछ। फेरि उहाँ पछाडि अड्किनु भएछ,’ उनले भने, ‘फोनबाट बुझाएर हुन्न रहेछ भनेर म आफैं पन्जा, मास्क लगाएर वरिपरि कोही नभएको मौका छोपेर निस्केँ, उहाँ भएको ठाउँमा गएर अक्सिमिटर ल्याएँ।’

घर आएपछि उनलाई लाग्यो आफू हाइ रिजोल्युसन डिजिटल नक्साको काम गरिरहेको छु। तर आफ्नै घरको लोकेसन बुझाउन यस्तो हैरानी खेप्नु परिरहेको छ। यो त आफ्नो कामको के महत्त्व भयो र ?

उनले सम्झे, चीनमा पढ्दाताका देखेको इ-कमर्स कम्पनी अलिबाबा। जो निकै प्रख्यात छ। अधिकांशले अनलाइन सपिङ गर्थे। किनभन्दा त्यो त्यहाँको जीवनशैली अति व्यस्त। प्रविधि निर्भर मानिसका दैनिकी। क्लिक गरेको भरमा नै ढोकामा नै सामान आउँछ र त्यसैले नै अनलाइन सपिङ चीन, अमेरिका लगायतको देशहरुमा बुम भयो।

‘तर यहाँ अनलाइन सपिङ गरेको सामान फेरि चोकमा गएर लिन परेको छ। तीन चार पटक फोन गर्न परेको छ। यो त कन्भिनियन्ट नै भएन,’ उनले सुनाए। 

त्यसैले उनीहरुलाई जुन-जुन नगरपालिकाको लागि ड्रोन म्यापिङ गरिरहेको थिए ती स्थानीय सरकारले घर नम्बर राख्ने काम गरिरहेका छन् भन्ने थाहा थियो।

उनले गल्ली म्याप्सको लागि प्लानिङ गर्दै गर्दा कोरेको नोट बुकको पाना पल्टाउँदै भने, ‘उहाँहरुले कुन घरले कति कर तिर्‍यो भनेर रेकर्ड राख्नको लागि हाउस नम्बरिङ गर्नुभएको थियो। तर त्यही नम्बर पार्सल डेलिभरीको लागि प्रयोग गर्न सकिन्छ। विकसित देशहरुमा गुगल म्यापमार्फत नै खोजेर जान्छन्। तर यहाँ त्यस्तो छैन।’

पुराना साथीहरुको सहकार्यले जन्मिएको गल्ली म्याप्स

उनले नेपालका लागि लोकलाइज्ड म्याप बनाउने आइडिया आफ्ना प्लस टुका बेलाको साथी मोबाइल एप डेभलपर र इलोक्ट्रोनिक इन्जिनियर जनम महर्जन र सफ्टवेयर डेभलपरसमेत रहेका कम्प्युटर इन्जिनियर अशोनलाई सुनाए।

उनीहरु सेन्ट जेभियर कम्प्युटर काउन्सिलमा पनि सँगै थिए। उनले भने, ‘हामी सधैँ  पछि गएर सँगै काम गर्ने भन्थ्यौँ र मैले उनीहरुलाई त्यतिबेला हामीले सँगै केही गर्नुपर्छ अब चाहिँ सही समय आयो हैँ भनेँ।’

दुवै सहकार्यको लागि सहमत पनि भए। घर बसेर प्रोटोटाइप बनाए। यो बनाउन करिब तीन महिना खर्चिए। लकडाउनको समयमा बुम भएको इ-कमर्सलाई लक्षित गर्दै म्याप तयार गरे। होम डेलिभरीमा सहजता होस् भनेर नै यो टोलीले घर नम्बर सहितको विस्तृत म्याप एप तयार गरे र  प्रोटोटाइप एण्डरोइड भर्जनमा लञ्च पनि गरे।

गल्ली म्याप्सको प्रोटोटाइपदेखि लञ्च गर्दासम्म आफ्नै ३० लाख हाराहारी पैसा लगाए र हालसम्म ६५ लाख लगानी लागेको उनले बताए। राजविक्रमको टोलीसँग ३६० क्यामेरा पनि थियो। जुन उनले चिडियाखाना, म्युजियम लागायत ठाउँको भर्चुअल टु बनाउन प्रयोग गर्थे। 

बाहिर गुगलले ३६० डिग्री थ्रीडी क्यामेराहरु फिट गरेको पुरै सहर नै घुमाउँछ। जसले कुन पोइन्टमा कति वटा घर छ कस्तो छ सबै हेर्न मिल्छ। 

उनले सुनाए, ‘त्यो लेभलमा गर्न नसके पनि हामीले सानो लेभलमा ३६० डिग्री म्यापिङ पनि गर्‍यौँ। सन् २०२१ सुरुवातमा ललितपुर वडा नम्बर ९ को गर्‍यौँ। अरु ठाउँमा गरेनम। घरै त हेर्ने हो भनेर। हेरेर के गर्ने भनेर त्यति नै छोड्यौँ।’

यसमा समय, पैसा, साधान प्रोसेसिङ पावर धेरै पनि लाग्छ। तीन जनाको बाट त यो सकिदैन भनेर नगर्ने भए। 

३६० डिग्रीको फोटोसहितको म्याप

पछि एउटा सानो घटनाले उनलाई ३६० इमेज राख्न आवश्यक रहेको बुझायो। खाना अर्डर फुडमाण्डु गरे। लोकेसन पिन गरेर सेयर गर्दा पनि डेलिभरी गर्ने व्यक्ति लोकेसनमा आइसकेपछि पनि कुन घर हो भनेर फोन गर्नु भयो। रातो रङ गरेको घरको हो। फेरि बुझाउँदैमा हैरान भए। 

३६० मा त घरको फोटो नै देखिन्छ। गल्ली म्यापसमा फोटोमा नै पिन गरेर सेयर गर्न सकिन्छ। त्यसपछि राजविक्रम, जनम र अशोन मिलेर पुरा काठमाडौँ उपत्यकाको ३६० डिग्री फोटो खिचे।

उनले सुनाए, ‘दसैंको बेला थियो। काठमाडौं सुनसान नै थियो। गाडीमा क्यामेरा फिट गरेर रिङरोड पुरै घुमेका थियौं। पाँच दिन लगाएर गर्‍यौं।’

 ‘म्याप बनाउने काम टेक्निकली च्यालेन्जिङ हो। समय धेरै लाग्छ। पैसा पनि त्यतिकै लाग्ने, दक्ष जनशक्ति चाहियो,’ उनले गल्ली म्याप्सको संघर्षहरु सम्झिए, ‘डाटा संकलन गर्न पनि उत्तिकै चुनौतीपूर्ण रह्यो। स्थानिय निकायबाट डाटा लिनलाई नै झण्डै दुई वर्ष लाग्यो। फण्डिङको पनि ठूलो चुनौती थियो। टेक्नोलोजीमा पैसा हाल्ने धेरै हिच्किचाउने पाएको छु।’

तर अहिले भने लगानीकर्ताहरुको प्रस्ताव आइरहेको उनले बताए। यो म्याप आइओएसमा र एन्ड्रोइड दुवैमा उपलब्ध छ। सर्वसाधारणका लागि यो एप फ्री नै हुन्छ। उनले भने, ‘ फुडमाण्डू,  सस्तोडिल, पठाओ, लगायतका राइड सेयरिङ एप, इ-कमर्स प्लेटफर्म, फुड तथा पार्सल डेलिभरी गर्ने एपहरुलाई म्याप बेेचेर आम्दानी गर्ने सोचेका छौं।’ 

इ-कमर्स, राइड सेरिङ तथा डेलिभरी कम्पनीका लागि किफायती म्याप

नेपाली कम्पनीहरुले अहिले रुपैयाँमा कमाएर डलरमा गुगल म्यापलाई पैसा बुझाइरहेका छन्। यस्ता कम्पनीहरुबाट मासिक २० हजार डलर बाहिर जाने उनको अनुमान छ।  

जुन निकै महँगो पर्छ। गुगल म्यापभन्दा गल्ली म्याप निकै सस्तो पर्ने उनले दाबी गरे।

उनले भने, ‘गुगलले लिने शुल्कलाई ५ भाग लगाए, त्यसको एक भाग बराबर मात्रै हामीले लिन्छौं। जति म्याप प्रयोग गर्‍यो त्यति नै शुल्क बढ्दै जाने हो। अहिले गो ट्याक्सी, वर्ल्डलिंक, भूगोल टुर, फुडमाण्डू, उपायले गल्ली म्याप्स टेस्ट गरिरहेका छन्।’

यस्ता कम्पनीले गल्ली म्याप्स आफ्नो प्लेटफर्ममा समावेश गर्न गल्ली म्यापको वेबसाइटमा गएर ‘बिल्ड विथ गल्ली म्याप’मा क्लिक गरेर एउटा फर्म भर्नुपर्ने हुन्छ। 

राजविक्रमले बुझाए, ‘त्यस्मा आफ्नो नाम, कम्पनीको नाम, के को लागि चाहिने र केके सेवा चाहिने भनेर उल्लेख गर्नुपर्छ। उहाँहरुलाई सर्च, म्याप, डिरेक्सन र ३६० सर्भिसमा के के चाहिने छान्न सकिन्छ। यसै अनुसार नै शुल्क निर्धारण हुन्छ।’

यो पछि गल्ली म्याप्सले टोकन आइडी पठाउँछ। त्यही प्रयोग गरेर प्लेटफर्ममा गल्ली म्याप्सको सेवा पाइने उनी बताउँछन्।

आगामी साउनबाट यसैबाट नै गल्ली म्याप्सले करिब दुई लाख आम्दानी गर्ने लक्ष्य रखेको उनी सुनाउँछन्। साथै भविष्यमा गल्ली म्याप्समा रिपोर्ट फिचर र सार्वजनिक यातायातको जानकारी सहित समावेश गर्ने तयारी भइरहेको राजविक्रमले सुनाए।

उनले भने, ‘फुटपाथ ब्लक भएको छ खाल्डो देख्नु भयो भने फोटो खिचर सम्बन्धित वडा वा संस्थामा जाने गरी रिपोर्ट गर्न मिल्ने फिचर थप्न खोज्दै छौँ। अबको एक वर्षमा यो काम पुरा गर्ने लक्ष्य छ।’

नेपालमा जमिसकेपछि राजविक्रमले गल्ली म्याप्सको नेटवर्क साउथ एसियामा पनि फैलाउने सोच राखेका छन्।