एनएसीको न्यारोबडी जहाजमा मर्मतको ५ घण्टामै पुनः समस्या, मलेसियामा डेढ सय यात्रु अलपत्र

बिजमाण्डू
२०८० साउन २ गते ११:३५ | Jul 18, 2023
एनएसीको न्यारोबडी जहाजमा मर्मतको ५ घण्टामै पुनः समस्या, मलेसियामा डेढ सय यात्रु अलपत्र


काठमाडौं। नेपाल वायुसेवा निगमको नाइन एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज मर्मत गरेर उडाएको ५ घण्‍टामै समस्या आएको छ। नाइन एन-एकेडब्लु कलसाइनको जहाज सगरमाथाको ककपिटमा अक्सिजन अभावको समस्या आएपछि उडान रोकिएको हो।

Tata
GBIME

उक्त जहाज मंगलबार बिहान ९ः३५ बजे क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं अवतरणको तालिका थियो। उतै ग्राउन्डेड भएपछि करिब १५२ यात्रु अलपत्र भएका छन्।

मर्मत सकेर सोमबार राति १० बजे काठमाडौं-मलेसिया उडान गरेको उक्त जहाजमा अवतरण लगत्तै ककपीटमा पर्याप्त अक्सिजन नभएको पाइएको निगमका एक उच्च अधिकारीले बताए।

‘मर्मत सकेर जहाज रिलिज गरेपछि उडान पूर्व पुनः चेकजाँच हुन्छ। तर यसमा इन्जिनियरिङ टीमको लापरवाही देखिएको छ,’ उनले भने,’जहाज उडानकै क्रममा अक्सिजन सकिएको भए झन् ठूलो समस्या हुन्थ्यो।’

काठमाडौं-मलेसिया उडान दुरी साढे चार घण्टाको छ। ककपिटको अक्सिजन सकिएको जानकारी आएसँगै निगम व्यवस्थापनले एयर एसियासँगको समन्वयमा ककपिट अक्सिजन व्यवस्था गरेको उनले बताए।