
काठमाडौं। विद्युत विकास विभागले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ५७ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ।
यो विभागले संकलन गरेको अहिलेसम्मकै धेरै रोयल्टी हो। विभागले उपलब्ध गराएको तथ्यांक अनुसार आव २०७७/७८ मा विभागले २ अर्ब ८३ करोड रुपैयाँ रोयल्टी संकलन गरेको थियो। यसअघि आव २०७५/०७६ मा सबैभन्दा धेरै ३ अर्ब २ करोड रुपैयाँ रोयल्टी संकलन भएको थियो।
१२१ वटा जलविद्युत आयोजनाले रोयल्टी बुझाउँछन्। आव २०७८/०७९ मा जडित क्षमताबापत करिब ६३ करोड ४८ लाख रुपैयाँ र ऊर्जा बिक्री वापत २ अर्ब ४२ करोड २४ लाख रुपैयाँ संकलन भएको छ।
एक मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाबाट रोयल्टी संकलन गर्ने प्रावधान रहेको छ। अनुमतिपत्र प्राप्त व्यक्तिले जलविद्युतको व्यापारिक उत्पादन सुरु गरेको १५ वर्षसम्म प्रति जडित किलोवाट वार्षिक १ सय रुपैयाँ र प्रतियुनिट (किलोवाट घण्टा) सरदर बिक्री मूल्यको २ प्रतिशतका दरले रोयल्टी बुझाउनुपर्छ।
१५ वर्षपछि अनुमतिपत्र प्राप्त व्यक्तिले प्रति जडित किलोवाट वार्षिक १ हजार रुपैयाँ र प्रतियुनिट (किलोवाट घण्टा) सरदर बिक्री मूल्यको १० प्रतिशतका दरले रोयल्टी बुझाउनु पर्ने प्रावधान छ।