
काठमाडौं। मनाङ एयरको हेलिकोप्टर दुर्घटना छानबिनमा सरकारी जाँचबुझ आयोगलाई मौसमी प्रतिकूलताले अप्ठेरो पारेको छ।
जाँचबुझ आयोगका पदाधिकारी मौसमी प्रतिकूलताका कारण दुर्घटनास्थल सोलुखुम्बुको लामजुरा जान सकेका छैनन् । असार २६ गते सोलुखुम्बुको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर दुर्घटना हुँदा वरिष्ठ क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना मेक्सिकन पर्यटकको निधन भएको थियो।
दुर्घटना छानबिनका लागि पाँच दिन अगाडि आयोग गठन गरिएको थियो । आयोगका संयोजक बुद्धिसागर लामिछानेले दुर्घटनास्थल जान नपाए पनि सूचना लिने काम भइरहेको बताए। उनले भने ‘मौसम अनुकूल भएलगत्तै हामी दुर्घटनास्थल गएर अध्ययन गर्नेछौँ।’
मौसमी प्रतिकूलताका कारण भग्नावशेष संकलन पनि हुन सकेको छैन । भीईएमडी (भेहिकल एण्ड इन्जिन मल्टिफंसन डिस्प्ले) ल्याएर दुर्घटनास्थलको अध्ययन गर्ने आयोगको तयारी छ ।