क्यानका ५०% कर्मचारी सिनामंगलको नयाँ भवनमा, सेफ्टी विभाग र आयोजना निर्देशनालय पनि सर्दै

बिजमाण्डू
२०८० साउन १ गते ११:१४ | Jul 17, 2023
क्यानका ५०% कर्मचारी सिनामंगलको नयाँ भवनमा, सेफ्टी विभाग र आयोजना निर्देशनालय पनि सर्दै


काठमाडौं। नागरिक उड्डयन प्राधिकरणको सिनामंगलको नयाँ भवनमा बबरमहलका ५० प्रतिशत कर्मचारी स्थान्तरण भएका छन्। प्राधिकरणले सिनामंगलमा रहेको एयर सेफ्टी डिपार्टमेन्ट र राष्ट्रिय गौरव आयोजना निर्देशनालय कार्यालय पनि नयाँ भवनमै सार्न सुरु गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए।

Tata
GBIME

‘कर्मचारी स्थान्तरणको काम सुरु भइसकेको छ। महानिर्देशकसहित इन्जिनियरिङ, मेकानिकल, नियमनकारी लगायतका विभागका कर्मचारी स्थान्तरण गरिएको छ। कर्पोरेट डिपार्टमेन्ट सर्न बाँकी नै छ। सरसफाइको काम थोरै बाँकी छ। त्यो सकिएलगत्तै उद्‍घाटन गरिनेछ,’ प्रवक्ता निरौलाले भने।   

बबरमहलमा कार्यरत करिब पाँच सय कर्मचारीमध्ये करिब २५० लाई विभागअनुसार नयाँ भवनमा स्थान्तरण गरिएको उनले जानकारी दिए। प्रशासनिक र कानुन विभाग भने बबरमहलमा रहने छ।

सिनामंगलको १७ रोपनी क्षेत्रफल जग्गामध्ये चार रोपनीमा नयाँ भवन करिब दुई अर्बको लागतमा बनाइएको हो। भवनको बेसमेन्टमा करिब १०० वटा गाडी र १ सय ७५ वटा पार्किङ क्षमता छ।

बबरमहलस्थित हालको पुरानो भवन भत्काएर नयाँ बनाउने योजना प्राधिकरणको छ। यसका लागि प्रारम्भिक प्रक्रिया अगाडि बढिसकेको छ। प्राधिकरणअन्तर्गत सेवा प्रदायक र नियमनकारी निकायअनुसार १ हजार १ सय २२ कर्मचारी छन्।