आर्थिक वर्षको अन्तिम दिन नेप्से हरियो, मौद्रिक नीति अघि कम जोखिमयुक्त क्षेत्रतिर मोडिए लगानीकर्ता

बिजमाण्डू
२०८० असार ३१ गते १५:३५ | Jul 16, 2023
आर्थिक वर्षको अन्तिम दिन नेप्से हरियो, मौद्रिक नीति अघि कम जोखिमयुक्त क्षेत्रतिर मोडिए लगानीकर्ता


काठमाडौं। आर्थिक वर्षको अन्तिम कारोबार नेप्से हरियो भएर बन्द भएको छ। दिनभर उतारचढाव जारी नेप्से सूचक अन्त्यमा १२ अंक बढेर बन्द भयो। सूचक २०९७ को विन्दुमा कायम छ।

Tata
GBIME
NLIC

मौद्रिक नीतिअघि सेयर बजारको लय यकिन गर्न अलमल हुन थालेपछि लगानीकर्ता कम जोखिमयुक्त क्षेत्रतिर मोडिन थालेका छन्। आइतबार म्युचुअल फण्ड र ऋणपत्रमा खरिदकर्ताको चाप बाक्लै थियो।

सनराइज फोकस्ड इक्विटी फण्डमा आज सकारात्मक सर्किट लाग्यो। १० प्रतिशतले बढ्दा प्रति इकाइ मूल्य ९.६८ रुपैयाँ पुगेको छ। त्यसैगरी एनआइबीएल ग्रोथ फण्ड ९.९२ प्रतिशत, सानिमा ग्रोथ फण्ड ९.९० प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड-२ ९.९३ प्रतिशत बढे। सामूहिक लगानी कोष उपसमूह आफै पनि २ प्रतिशत बढ्यो। 

यस्तै माछापुच्छ्रे बैंकको १०.२५ प्रतिशत ब्याज दिने ऋणपत्र पनि ९.४१ प्रतिशत बढेको छ। समान ब्याज दिने नेपाल बंगलादेश बैंकको ऋणपत्र पनि ८ प्रतिशतभन्दा बढी उक्लियो। दुवै ऋणपत्र २०८५ मा परिपक्क हुने हुन्।

मूल्यको वृद्धिदर हेर्दा  म्युचुअल फण्ड र ऋणपत्र उल्लेख्य बढेपनि कारोबारमा भने शिवम् सिमेन्ट अझै पनि शिर्ष छ। हिमालयन लाइफ इन्स्योरेन्स पनि दोस्रो सबैभन्दा बढी कारोबार भएको सेयर हो। जलविद्युत समूह भारी घटेपनि माउन्टेन इनर्जीको सेयर अत्याधिक किनबेच भएको छ। 

यसबीच साताको अन्त्यसम्म राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। जसले सेयर बजार लगायत वित्तीय क्षेत्रको आगामी मार्ग पहिल्याउन सहज हुने अनुमान छ।