भारतीय हवाई उद्योग आक्रामक विस्तारमा, एयर इन्डियाले पनि अघि सार्‍यो महत्त्वाकांक्षी योजना

बिजमाण्डू
२०८० असार ३१ गते ०९:०५ | Jul 16, 2023
भारतीय हवाई उद्योग आक्रामक विस्तारमा, एयर इन्डियाले पनि अघि सार्‍यो महत्त्वाकांक्षी योजना


भारतमा पछिल्लो समय हवाई उद्योगको आक्रामक विस्तार भइरहेको छ। त्यहाँ एकपछि अर्को एयरलाइन्सले नयाँ नयाँ योजनाहरु ल्याएर हवाई उद्योगलाई गति दिइरहेका छन्। यसैक्रममा टाटा समूहले स्वामित्व लिएको एयर इन्डियाले पनि एक महत्त्वाकांक्षी परियोजना अघि सारेको छ।

Tata
GBIME

एयर इन्डियाले आगामी महिनादेखि हरेक महिना ५ सयभन्दा बढीलाई नयाँ रोजगारी दिने बताएको छ।

टाटाले स्वामित्व लिएपछि एयर इन्डियाले हरेक महिना ५ सय भन्दा बढी क्रु मेम्बरलाई रोजगारी दिनका लागि नयाँ भर्ना तथा क्रु रोस्टरिङ प्रोजेक्ट सुरु गर्ने बताएको हो।

एयर इन्डियाका सीइओ क्याम्पबेल विल्सनका अनुसार सिस्टमलाई व्यवस्थित बनाउँदै चालक दल र क्रु मेम्बरको संख्या थप्न लागिएको हो। एयर इन्डियाले महत्त्वाकांक्षी परियोजनाका रुपमा क्रु रोस्टरिङ प्रोजेक्ट सुरु गर्न लागेको उनले बताए।

यस अतिरिक्त हरेक महिना ५ सय भन्दा बढी नयाँ कर्मचारी भर्ना गर्ने तथा पुरानालाई थप दक्ष बनाउन प्रशिक्षण दिने पनि उनले बताए। यो परियोजनाले एयरलाइन्सले आफ्नो चालक दललाई पर्याप्त संख्या र प्राविधिक रुपमा थप क्षमतावान बनाउने उनको उनको भनाइ छ।

टाटा समूहको सबै चार एयरलाइन्समा कर्मचारीको कुल संख्या २० हजार छ। सन् २०२३ सुरु भएदेखि हालसम्म एयर इन्डिया तथा एयर इन्डिया एक्सप्रेसले ५ सयभन्दा बढी पाइलट तथा २४ सय क्याबिन क्रुसहित अन्य ३ हजार ९ सयलाई रोजगारी दिइसकेको छ।

टाटा समूह ४ सय ७० जहाजहरु थप खरिद गर्नका लागि अर्डर दिइसकेको छ। नयाँ जहाजहरुको संचालनका लागि एयर इन्डियाले हायरिङ तथा क्रु रोस्टर प्रोजेक्ट ल्याउन लागेको हो।