आर्थिक मन्दीको चपेटामा चलचित्र क्षेत्र, फिल्म निर्माण ७० प्रतिशतले घट्यो

बिजमाण्डू
२०८० असार २९ गते १३:०७ | Jul 14, 2023
आर्थिक मन्दीको चपेटामा चलचित्र क्षेत्र, फिल्म निर्माण ७० प्रतिशतले घट्यो

काठमाडौं। फिल्म निर्माणको क्षेत्र पनि आर्थिक मन्दीले नराम्रोसँग प्रभावित भएको छ। कोरोना महामारीका कारण दुई वर्ष समस्यामा परेको चलचित्र क्षेत्र फेरि आर्थिक मन्दीको चपेटामा परेको हो। एकाध आसलाग्दो व्यापार गर्ने फिल्महरु नआएका होइनन्, तर फिल्म बनाउनेहरुबीच शिथिलता देखिएको छ।

Tata
GBIME
Nepal Life

किनकी आर्थिक वर्ष २०७९/८० मा झण्डै तीन दर्जन सिनेमा मात्र निर्माण भए। जुन कोरोना अघिका वर्षहरुभन्दा ७० प्रतिशतले कम हो। एक वर्षको अवधिमा घरजग्गा र सेयर कारोबारमा भारी गिरावट आएको छ। घरजग्गा र सेयर कारोबारबाट कमाईं गर्ने केही व्यक्तिले चलचित्र निर्माण गर्थे।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा कोरोना महामारीसँगै आर्थिक मन्दीको असरले फिल्म निर्माण घटेको बताउँछन्। निर्माणमा कमी आउँदा प्राविधिकहरुले समेत काम पाउन नसकेको उनले बताए।

‘कोरोनाका बेला फिल्महरु घोषणा भए पनि अहिले सुटिङ सुरु हुन सकेका छैनन्। कोरोना महामारीअघि वर्षमा सयको हाराहारीमा फिल्महरु बन्थे। हप्ताकै तीन-चार फिल्महरु रिलिज गर्न तँछाड मछाड हुन्थ्यो। तर, कोरोनापछि भने निर्माणकार्यले गति लिन सकिरहेको छैन। केही सीमित बाहेक अहिले धेरै प्राविधिकहरु काम नपाएर खाली हुनुभएको छ। उहाँहरुले कम सिनेमा हुँदा काम नपाएको गुनासो गर्नुहुन्छ’, लामाले भने।

२०७९ मा निर्माण कार्य सकेर प्रदर्शनमा आएका फिल्महरुको सूचीमा ‘छड्के २,’ ‘छक्का पञ्जा ४,’ ‘मिलन,’ ‘चि मुसी चि,’ ‘बहाव,’ ‘प्रसाद २,’ ‘परस्त्री,’ ‘महापुरुष,’ ‘नाईं नभन्नु ल ६,’ ‘डिसेम्बर फल्स,’ ‘के घर के डेरा’ र ‘अन्तिम संस्कार’ पर्छन्।

त्यसैगरी ‘गुन्युचोलो,’ ‘दिलमाया २,’ ‘नम्बरी सुन,’ ‘हात्तीछाप,’ ‘जय हो,’ ‘नाङ्गो गाउँ,’ ‘अगस्ट,’ ‘पशुपति प्रसाद: भष्मे डन,’ ‘ऐंचोपैंचो,’ ‘जाँड,’  ‘दुई कदम,’ ‘बाटो,’ ‘दिमाग खराब,’ ‘लण्डन टु पेरिस,’ ‘वर एण्ड बधु,’ ‘अन्तिम संस्कार’ र ‘हिड्दा हिड्दै’ लगायतका फिल्महरुले पनि यसै आर्थिक वर्षभित्र सुटिङ सकेका छन्। तर, यी फिल्महरु भने प्रदर्शन हुन बाँकी नै छन्।

चलचित्र विकास बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १४२ वटा फिल्महरुले निर्माणको लागि इजाजत लिएको देखिन्छ। जसमध्ये इजाजत लिएका एक दर्जन फिल्महरुले भने समयसीमा सकिएका कारण पुन: प्रक्रियाबाट इजाजत लिएका छन्। ३ वर्षसम्म फिल्म प्रदर्शनमा नआए पुन: इजाजत लिनुपर्ने प्रावधान छ।

पुराना वितरक सुनील मानन्धरले पनि कोरोना महामारीअघि वर्षमा सयवटा फिल्महरु बन्ने गरेको बताए।

‘पहिले सयको हाराहारीमा फिल्महरु बन्थे र, रिलिज पनि त्यति नै हुन्थे। तर, अहिले पहिलेजस्तो अवस्था छैन। रिलिज भएको फिल्मले १ लाख पनि उठाउन सक्दैन। लगानी रिटर्न नआउँदा निर्माता पनि फिल्म बनाउन डराउँछन्। फेरि अहिले बजारमा पनि पैसा छैन,’ मानन्धरले बिजमाण्डूसँग भने।

निर्देशक नवीन सुब्बाले पनि आर्थिक मन्दीको प्रभावले फिल्म निर्माण न्यून रहेको सुनाए। उनले पनि कोरोना महामारीअघि सयौँको हाराहारीमा फिल्म बन्ने गरेको जानकारी दिए।

ठूलो बजेटका हिन्दी फिल्मले पनि अपेक्षित व्यापार गर्न नसकेको अवस्था हेरेर नेपाली निर्माताहरु घोषणा गरिसकेका फिल्म पनि छायांकन थाल्न ढिला गर्दै

मन्दीको असर सिनेमा हलमा पनि

वैशाख १ गतेबाट नेपाली सिनेमाहलमा ‘जारी,’ ‘बिहे पास’ र ‘बुलाकी’ प्रदर्शनमा आएका थिए। ‘बिहेपास’ले कमजोर व्यापार गर्दा ‘बुलाकी’लाई भने निर्माण टिमले शो नपाएको भन्दै तीन दिनमै उतारे। दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको ‘जारी’ भने १०० औँ दिन मनाउने तरखरमा छ।

‘जारी’ पछि सिनेमाहलमा बहुप्रतिक्षित हलिउड र बलिउड फिल्महरु पनि रिलिज भए। तर, ती कुनै फिल्महरुले व्यापार गर्न सकेनन्। ‘जारी’पछि रिलिज भएका कुनै पनि फिल्महरुले दर्शक तान्न नसकेको हल सञ्चालकहरु बताउँछन्।

कोरोना महामारी कम भएसँगै गत वर्षबाट नेपाली सिनेमाहल चलायमान भएको थियो। गत वर्ष वैशाखदेखि असारसम्ममा रिलिज भएकामध्ये भारतीय फिल्म ‘केजीएफ २’ ले राम्रो व्यापार गर्‍यो भने नेपाली फिल्म ‘ए मेरो हजुर ४’ र ‘कबड्डी ४’ को कलेक्सन पनि निकै उत्साहजनक रह्‍यो। यसवर्ष भने हलहरु सुनसान देखिन्छन्।

कोरोनाअघि तुलनामा अहिले फिल्मको निर्माणमा कमी आएको छ। पहिले वर्षमा ८० देखि १०० को हाराहारीमा फिल्महरु बन्थे। संख्यात्मक हिसाबले कम नै बनेका हुन्, हलको अवस्था पनि राम्रो छैन।

नरेन्द्र महर्जन, महासचिव, नेपाल चलचित्र संघ

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका हलहरुमा पनि खासै फिल्महरु चल्न सकेका छैनन्। राम्रो कन्टेन्ट भएको फिल्म नआउनुको साथै मन्दीको असरले पनि दर्शक घटेको हुनसक्ने क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरीको अनुमान छ।

फिल्मको निर्माणका साथै हलमा पनि आर्थिक मन्दीको असर परिरहेको नेपाल चलचित्र संघका महासचिव तथा हल सञ्चालक नरेन्द्र महर्जन बताउँछन्। ‘कोरोनाअघि तुलनामा अहिले फिल्मको निर्माणमा कमी आएको छ। पहिले वर्षमा ८० देखि १०० को हाराहारीमा फिल्महरु बन्थे। संख्यात्मक हिसाबले कम नै सिनेमा बनेका हुन्। हलको अवस्था पनि राम्रो छैन। हलवालाहरु पनि विकल्पको बाटो खोज्नुपर्ने बताइरहेका छन्,’ उनले भने।

महर्जन आर्थिक मन्दीका साथै कन्टेन्ट राम्रो नहुँदा दर्शकहरु हलसम्म पुग्न नसकेको धारणा राख्छन्। भन्छन्, ‘फिल्म चल्न कन्टेन्ट पनि राम्रो हुनुपर्छ। जारी सय दिन पुग्न लागिसक्यो। राम्रो फिल्म हुँदा त सलमान खानको फिल्मलाई पनि पछार्दो रहेछ नी !’

सीडीसी सिनेमाजका हल व्यवस्थापक जीवन शाक्य पनि पछिल्लो समय दर्शक कम आएको बताउँछन्। उनी भन्छन्, ‘अहिले हलमा दर्शक नै छैनन्। फिल्मको कन्टेन्ट राम्रो नहुनुका साथै आर्थिक मन्दीको प्रभाव पनि हलमा परेको छ।’