लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक, ७ प्रतिशत भारतीयले गरे यात्रा

बिजमाण्डू
२०८० असार २८ गते २१:२२ | Jul 13, 2023
लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक, ७ प्रतिशत भारतीयले गरे यात्रा

काठमाडौं। लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन्।

Tata
GBIME
Nepal Life

आइएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए।

एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेका र यस वाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिले जनाएको छ। जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना रहेका छन्।

केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउँपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत, सशस्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने जेष्ठ नागरिक,अपांगता भएकालाई पनि टिकटमा छुट दिएको छ।

टप स्टेशनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतीको मन्दिर, भगवान शिवको वाहन नन्दी सहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाउं र संरचनाहरु छ।

२.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन समुन्द्री सतहबाट करिब तीन हजार फिट उचाईमा रहेकाले त्यहाँको हावापानी गर्मी मौसममा शितल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ। टप स्टेशनमा एक अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्वीमिङ पुल सहितको पांचतारे होटेल बन्ने प्रकृयामा रहेको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयां पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाई लम्ब्याउन योगदान पुग्ने अध्यक्ष ढकालले बताए ।