फाष्ट ट्रयाकको २० अर्बको ३ वटा खण्डको ठेक्का आह्वान, किन निकालियो फेरि ठेक्का ?

बिजमाण्डू
२०८० असार २८ गते २१:११ | Jul 13, 2023
फाष्ट ट्रयाकको २० अर्बको ३ वटा खण्डको ठेक्का आह्वान, किन निकालियो फेरि ठेक्का ?

काठमाडौं। नेपाली सेनाले काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) को सडक र पुल गरी करिब २० अर्बको ठेक्का पुन: निकालेको छ।

Tata
GBIME
Nepal Life

पहिलो पटक निकालिएको ठेक्कामा आवश्यक कागजात नभएको भन्दै सेनाले रद्द गरेर पुन: ठेक्का निकालेको हो। सेनाले ८ र ९ प्याकेजमा पर्ने ३ वटा खण्डको ठुलो ठेक्का निकालेको हो।

यो ठेक्का गत वैशाख ८ गते  र १० गते ठेक्का निकालिएको थियो। गत असार ४ र ५ गतेसम्म टेण्डर आवेदनको समयावधि दिइएको थियो। तर आवेदन दिएकाले आवश्यक कागजात पूरा नदिएको पाइएपछि ठेक्का रद्द गरिएको हो।

त्यसैको अहिले पुन: टेन्डर आह्वान गरिएको हो। आयोजनाले बिहीबार एक सूचना जारी गर्दै प्याकेज नम्बर ८ को खण्ड ‘ख’ र प्याकेज नम्बर ९ को खण्ड ‘क’ र ‘ख’ गरी ३ वटा खण्डको पुन: ठेक्का आह्वान गरेको हो। आयोजनाले प्याकेज नम्बर ८ को एउटा खण्ड र प्याकेज नम्बर ९ को दुवै खण्ड गरी जम्मा ३ वटा खण्डको ठेक्का निकालेको सेनाका प्रवक्ता कृष्ण भण्डारीले बताए।

यसमा डबल लेन क्यारिजवे भएको स्ट्यान्डर्ड एक्सप्रेस वे सडक, पुलहरु, स्लोप स्टेबलाइजेसन र अलाइड वर्क्सहरु रहेका छन्। यी प्याकेजमा कुल ११.२९ किलोमिटर सडक निर्माण गर्ने योजना छ। जसमा २.९६५ किलोमिटर लम्बाईका २१ वटा पुलहरु निर्माण गरिने उनले बताए।

यो आयोजना सरकारको आफ्नै लगानीमा निर्माण भइरहेको छ। जसको लागत २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। यो आयोजनाको म्याद २०८३ चैतसम्मका लागि थपिएको छ।

प्याकेज नम्बर ८ को खण्ड (क) मा निर्माण सडक र पुल निर्माणको ठेक्कामा आवेदन दिने निर्माण कम्पनीले कम्तीमा ६ अर्ब ६४ करोड ७६ लाख रुपैयाँसम्म आर्थिक प्रस्ताव पेस गर्न सक्ने क्षमताको हुनुपर्ने आयोजनाले जनाएको छ। यस्तै यो प्याकेजको ठेक्का आवेदन दिन इच्छुक निर्माण व्यवसायीले १८ करोड ९५ लाख रुपैयाँ बिड सेक्युरिटी रकम जम्मा गर्नुपर्ने हुन्छ।

यो ठेक्कामा ४.६२ किलोमिटर लामो सडक र ६ वटा पुलहरु निर्माण गर्नुपर्ने भण्डारी बताउँछन्। यसमा निर्माण गरिने ६ वटा पुलको लम्बाई कुल ४२० मिटरको छ।

यस्तै प्याकेज ९ को खण्ड (क)मा पर्ने सडक र पुल निर्माण गर्ने ठेक्कामा आवेदन दिन इच्छुक निर्माण व्यवसायीले कम्तीमा ६ अर्ब ७० करोड रुपैयाँ आर्थिक प्रस्ताव पेस गर्न सक्ने क्षमताको हुनुपर्ने आयोजनाले जनाएको छ। यसमा आवेदन दिन निर्माण कम्पनीले बिड सेक्युरिटी बापत २० करोड ९६ लाख रुपैयाँ अनिवार्य रुपमा जम्मा गर्नुपर्ने हुन्छ।

यो प्याकेजमा ३.९४० किलोमिटर सडक निर्माणसहित ८ वटा पुल निर्माण गरिने भण्डारीले बताए। पुलको लम्बाई ७४५ मिटर रहेको छ।

यसैगरी, आयोजनाका अनुसार प्याकेज ९ को खण्ड (ख)मा पर्ने सडक र पुल निर्माण गर्न आह्वान गरिएको ठेक्कामा आवेदन दिने निर्माण व्यवसायीले कम्तीमा ५ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ आर्थिक प्रस्ताव पेश गर्न सक्ने क्षमताको हुनुपर्नेछ। साथै, यसमा आवेदन दिने निर्माण कम्पनीले बिड सेक्युरिटी बापत १८ करोड ५९ लाख रुपैयाँ अनिवार्य रुपमा जम्मा गर्नुपर्ने हुन्छ।

यसका लागि इच्छुक निर्माण कम्पनीले साउन १० गते १२ बजेसम्म आवेदन दिन सकिने आयोजनाले जनाएको छ। त्यसपछि सो टेन्डर खोलिने आयोजनाले जनाएको छ।

प्याकेज ९ (ख)मा २.७३० किलोमिटर सडक निर्माण गर्ने काम छ। यो सडक सिमल्टारको सिस्नेरीदेखि दामसिंटारसम्म रहेको छ। साथै, यसमा दक्षिणकाली सडकबाट ५ किलोमिटरको दुरीमा सो सडक पर्छ।

यो प्याकेजमा खर्पा खोला र कुलेखानी खोला पर्छन। यस्तै अन्य खहरे खोलाहरु पनि यो क्षेत्रमा पर्ने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार यो प्याकेजमा रहेका सडकहरुको सबै साइट क्लियर छ।

यस्तै ३५ मिटरदेखि ४० मिटरसम्मको स्पाम भएको ४ वटा पुल निर्माण गर्नुपर्ने छ। त्यसमा अर्को ४० मिटरको स्पाम भएको २ वटा बक्स पुल निर्माण गर्नु पर्नेछ। साथै एउटा ओभरपास निर्माण पनि यसैमा छ। निर्माण हुने ७ वटा पुलहरु सबैको लम्बाई कुल १८०० मिटरको हुने प्रवक्ता भण्डारीले बताए।

यो सडक निर्माण गर्ने निर्माण व्यवसायीहरुले सडकबीचमा ३ मिटरको रुखसहितको मेडियन ब्यारियर बनाउन पर्नेछ।

गत जेठ २६ गतेसम्म यो आयोजनाको भौतिक प्रगति २३.४५ प्रतिशत भएको भण्डारी बताउँछन्। आयोजनामा हालसम्म २५.६४ प्रतिशत अर्थात ४४ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए।

आयोजनामा ६ वटा सुरुङमार्ग बन्ने गरी डिजाइन परिवर्तन भएको थियो। त्यही अनुसार अहिले ३ वटा सुरुङमार्गको निर्माणको काम पनि धमाधम भइरहेको छ।