खपतमा कमीसँगै घटेको खाद्यान्न मूल्य फेरि लाग्दैछ उकालो, उद्योग र थोकबाटै मूल्य बढेर आयो

सरला सुवेदी
२०८० असार २७ गते १५:५२ | Jul 12, 2023
खपतमा कमीसँगै घटेको खाद्यान्न मूल्य फेरि लाग्दैछ उकालो, उद्योग र थोकबाटै मूल्य बढेर आयो


काठमाडौं। वर्षा सुरु भएर विभिन्न स्थानमा आवागमन प्रभावित हुँदा हरिया तरकारी महँगिनु स्वाभाविक छ, तर चामल, दाल, तेल लगायतका खाद्यान्न नै महँगिन थालेको छ। डेढ महिना अघिसम्म घटेको खपतसँगै सस्तिएका खाद्यान्न विस्तारै महँगिन थालेको हुन्।

Tata
GBIME

चालु आर्थिक वर्ष सकिन लाग्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेर आएको व्यवसायीले बताएका छन्। थोकमै महँगिदा खुद्रामा मूल्य अझ फरक परेको छ। आर्थिक मन्दीले खपतमा कमी आउँदा खाद्यान्नको मूल्य घट्दै थियो। त्यसमा ब्रेक लाग्दै चामल, दाल, तेल, चिनी, चिउरा, चना, केराउ लगायतमा मूल्य बढेको हो।

व्यवसायीहरुका अनुसार अपेक्षाकृतरूपमा बजारमाग र खपत परिमाण अझै उच्च भने भइसकेको छैन। तैपनि उद्योग र आयातकर्ताबाटै मूल्य बढेर आउँदा समग्र बजार प्रभावित हुन थालेको छ। चामल बोरामा २ सयदेखि २५० सम्म, खानेतेल कार्टुनमा २ सय, चिउरा केजीमा २० रुपैयाँ, चिनी केजीमा ५ रुपैयाँ र दाल प्रकारअनुसार १० प्रतिशतसम्म, चना २० रुपैयाँसम्म बढेको छ। मसलामा नभइ नहुने जिरा एक्लैको प्रतिकेजी २ सय रुपैयाँ बढिसकेको छ।

हाल बजारमा जिरा मसिनो चामलको आपूर्तिमा कमी पनि भएको छ। व्यवसायीहरुले धान खरिदमै महँगो परेको भन्दै चामलको मूल्य बढाएर बजारमा पठाएको पाइएको छ। ‘मूल्य उद्योग र थोकबाटै बढेर आउन थालेको छ,’ किराना व्यवसायी कृष्ण भट्टले भने, ‘केही साता मूल्य घट्न थालेको जस्तो भएको थियो। यतिबेला फेरि बढ्दै छ।’

नयाँ खरिदमा व्यवसायीलाई नै खाद्यान्न बढेर आएको मूल्य परिरहेको उनले बताए। जिरा मसिनो चामल प्रतिबोरा १८ सय देखि १९ सयसम्म आइपुगेको थियो, फेरि बोरामा २५० रुपैयाँसम्म बढेर आएको छ।

घट्दै गएको तेलको मूल्य कार्टुनमा २ सय रुपैयाँसम्म बढेर आएको छ। हाल सूर्यमुखीको भन्दा भटमासको तेल महँगो हुँदै आएको व्यवसायी भट्टले बताए। सूर्यमुखी र भटमासको तेल कार्टुनमा १९ सय रुपैयाँ पुगेको छ। यसअघि घट्दै कार्टुनमा १७ सयसम्म आइपुगेको थियो। बजारमा ब्राण्ड अनुसारको मूल्य फरक पर्छ।

‘पहिले भटमासभन्दा सूर्यमुखीको तेल कार्टुनमा डेढ सय रुपैयाँसम्म सस्तो हुने गरेको थियो। अहिले दुवैको मूल्य बराबरजस्तै छ,’ उनले भने।

धारा ब्राण्ड तोरी र सूर्यमुखीको तेलको मूल्य घटेको छ। पहिले प्रतिलिटर ३४० देखि ३६० रुपैयाँ रहेको धारा सूर्यमुखीको तेलको मूल्य घटेर लिटरमा २९५ रुपैयाँसम्म आइपुगेको छ। तोरी प्रतिलिटर ३ सय रुपैयाँ छ।

चामल र तेलसँगै दालको मूल्यमा पनि बढोत्तरी छ। मास र रहर दालको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै बढेर आएको व्यवसायी ओमप्रकाश मोरले बताए। उनका अनुसार रहर दाल प्रतिकेजी १८० बाट बढेर थोकमै २३० रुपैयाँसम्म पुगेको छ। मासको दाल १४० बाट बढेर १९० रुपैयाँ पुगेको छ। ‘मूल्य बढ्दै छ तर बजारको माग र खपत बढेको छैन,’ उनले भने, ‘दालको डिमान्ड पहिलेभन्दा घटेको छ।’

मास र रहरहो साटो मुसुरो र मुङ खोज्नेलाई भने केही राहत छ। मुसुरो र मुङ तुलनात्मकरूपमा बढेको छैन। मुसुरो दाल प्रकारअनुसार प्रतिकेजी १२० र मुङ १४० रुपैयाँबाट घटेर ११० मा आइपुगेको छ।

यस्तै चिनीको मूल्य पनि बढेको छ। होलसेलमै केजीमा ५ रुपैयाँसम्म बढेर प्रतिकेजी ९८ रुपैयाँ पुगेको छ। यसअघि चिनीको होलसेल मूल्य प्रतिकेजी ९२ देखि ९३ रुपैयाँ थियो। तराई ताइचिन चिउरा प्रतिकेजी ७० बाट ९० रुपैयाँ पुगेको छ।

सरकारले गेडागुडीमा १३ प्रतिशत भ्याट लगाएका कारण बजार मूल्य बढ्न थालेको साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए। ‘दाल, गेडागुडी महँगिनुको कारण भ्याटसँग जोडिएको छ,’ उनले भने,’चामलको मूल्यमा धान खरिदमा महँगो परेको असर हो।’ बजारमा हरियो केराउ कम आपूर्ति भइरहेको जानकारीमा भएको सुनाएका उनले त्यसमा पनि भाउ बढेको पाइएको बताए।

चना २० रुपैयाँ बढ्दै प्रतिकेजी १२० रुपैयाँ पुगेको छ। यसअघि प्रतिकेजी एक सय रुपैयाँ थियो। राजमा केजीमा ३० रुपैयाँसम्म बढेको छ। जिराको मूल्य अत्यधिक बढेको छ, बजारमा धनियाँको बिक्री घटेको छ। जिरा प्रतिकेजी १२ सय रुपैयाँ पुगेको छ। डेढ महिना अघिसम्म प्रतिकेजी ९ सय रुपैयाँ थियो।

मैदाको मूल्य डेढ सय रुपैयाँसम्म घटेर बोरामा ३३ सय रुपैयाँ छ। यसमा पनि बजार अस्थिर देखिएको छ। गहुँ आन्तरिक उत्पादनले माग धान्दैन। भारतबाट कोटाको आपूर्ति भए मात्रै पिठो र मैदाको मूल्य सन्तुलनमा रहन्छ। आपूर्ति सुरु भइसकेको छैन। त्यसैले बजार भाउ बढ्न सक्ने वय्वसायी अनुमान गर्छन्।

यतिबेला एकाधबाहेक सबैजसो खाद्यान्नको मूल्य विस्तारै बढ्नुको यथोचित कारण भने देखिदैन। ‘इन्डियामा चामलको भाउ बढेको छैन, ढुवानीले हामीकहाँ अलिकति महँगो त हुनु स्वाभाविक हो तर सबैथोकको भाउ एकैपटक बढ्नुपर्ने कारण देखिदैन,’ एक व्यवसायीले भने।

साउन १ देखि सबै वस्तुमा सरकारले लेबलिङ अनिवार्य गरेको छ। यसलाई कारण देखाउँदा पनि सबै वस्तुको मूल्य एकैपटक बढाउन नहुने उनको तर्क छ।

बजार भाउ र गुणस्तरमा निगरानी गर्ने सरकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजारमा मूल्यवृद्धिको कारण खोज्न सक्रियता देखाएको छैन। तर प्रवक्ता होमनाथ भट्टराई भन्छन् ‘दैनिक उपभोग्य वस्तुका सम्बन्धमा गुनासो र उजुरी धेरै आउँछन्। विभागले अनुगमन-निरीक्षण गरिरहेको छ।’

खाद्यान्नको गुणस्तरका तुलनामा उपभोक्ताहरुबाट मूल्यवृद्धिको गुनासो आइरहेको उनले बताए।