योजना आयोग उपाध्यक्ष र चिनियाँ समकक्षीबीच छलफल, पुराना सम्झौताका काम अगाडि बढाइने



बिजमाण्डू
२०८० असार २६ गते ०९:२१ | Jul 11, 2023
योजना आयोग उपाध्यक्ष र चिनियाँ समकक्षीबीच छलफल, पुराना सम्झौताका काम अगाडि बढाइने

काठमाडौं। नेपाल र चीनबीच सन् २०१८ र २०१९ मा भएका सम्झौताहरु अनुसारका कार्यक्रममध्ये सम्पन्न हुन बाँकी कामलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ।

Tata
GBIME
Zonsen

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडीआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीचको भेटमा यस्तो समझदारी भएको हो। उनीहरुबीच बेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको थियो।

भेटमा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको आयोगले जनाएको छ।

नेपाल आगामी १६औं योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडीआरसीको अनुभव साटासाट गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको आयोगले जनाएको छ।

आयोगका अनुसार डा. श्रेष्ठले लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न पनि निमन्त्रणा दिएका छन्।

पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन) को रुपमा रहेको यो चिनिया संस्था हाल (एनडीआरसी) का रुपमा चिनिन्छ। यही आयोगद्वारा अघि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा छ।

त्यसैगरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सीआइडीसीए)का उप-मन्त्री डेङ बोगिङबीच द्धिपक्षीय भेटवार्ता पनि भएको छ।

सीआइडीसीए चीनको राजधानी बेइजिङमा आयोजना भइरहेको फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट सम्बन्धी पहिलो उच्च स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रुपमा छ। उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी कामहरु हेर्ने निकाय हो।

उक्त भेटवार्ताका क्रममा दुई पक्षबीचमा चीन सरकारद्वारा नेपाललाई घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगति सम्बन्धमा छलफल भएको आयोगले जनाएको छ।

साथै पहिले समझदारी गरिएका प्रमुख कनेक्टीभिटीसँग सम्बन्धित आयोजनाहरुलाई छिटो अघि बढाउनका लागि दुवैतर्फबाट गर्नुपर्ने पूर्वतयारीका कार्यहरु बेलैमा सम्पन्न गर्ने बारेमा छलफल भएको छ।