
काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सेवा दिएका स्वास्थ्य संस्थाहरुले दाबी भुक्तानी लिन आफ्नै फार्मेसी अनिवार्य राख्नुपर्ने भएको छ। जथाभावी भुक्तानीको दाबी आउन थालेपछि अस्पतालहरुलाई कार्यशैली सुधार्न स्वास्थ्य बीमा बोर्डले निर्देशन दिएको हो।
चालु आर्थिक वर्ष २०७९/८० मा आठौं पटकको दाबीअनुसार गत शुक्रबार मात्रै बोर्डले मुलुकका ३ सय ७१ वटा स्वास्थ्य संस्थालाई २ अर्ब ९२ करोड ९२ लाख ३६ हजार ४ सय ५४ रुपैयाँ भुक्तानी गरेको छ। केहीको दाबीअनुसार पुरै भुक्तानी पठाएको छ भने केहीलाई पेस्की पठाएको छ। केहीका दाबी कागजात नमिलेर रोकिएका छन्।
केही सरकारी तथा निजी अस्पतालले बीमितलाई उपचार गरी औषधि दिँदा बाहिरका फार्मेसीको नामबाट बिल पठाउन थालेकाले दाबी भुक्तानीमा समस्या भएको बोर्डले जनाएको छ।
सरकारले चलाएको कार्यक्रमअन्तर्गत तोकिएका अस्पतालले उपचार सेवा दिएबापत बोर्डबाट भुक्तानी पाउँछन्। सेवा दिने स्वास्थ्य संस्थाले आफ्नै फार्मेसी राख्न अनिवार्य भएको बोर्डले जनाएको छ। सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमाको दाबी भुक्तानी लिन आफ्नै फार्मेसीको नाममा बिल पठाउनुपर्ने व्यवस्था गरिएको बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बताए।
अस्पतालहरुको आफ्नै फार्मेसी हुनुपर्ने नियम नै छ। यद्यपि धेरै अस्पतालले बाहिरका फार्मेसीको बिल बोर्डमा दाबी भुक्तानीका लागि पेस गरिरहेका छन्। ‘स्वास्थ्य बीमाको सेवा दिदै आएका केही अस्पतालहरुको बिलमा समस्या देखिएको छ। बोर्डले यसबारे अनुगमन गर्दा अस्पतालहरुले आफ्नै फार्मेसी संचालन नगरेको पाइयो,’ उनले भने।
उनका अनुसार हाल समस्या पुरानो अस्पतालहरुमा देखिएको हो। पछिल्लो समय स्वीकृति पाएका अस्पतालहरुले आफ्नै फार्मेसी राख्न थालेका छन्। जसमा पूर्वका केही अस्पतालहरुबाट यस्तो गुनासो आएको छ। अस्पतालले बाहिरका व्यक्तिलाई भाडामा फार्मेसी संचालन गर्न दिएका छन्। यसले गर्दा औषधिबाट हुने नाफा पनि अस्पताल बाहिर गएको उनले बताए।
करिब एक वर्षदेखि बोर्डले फार्मेसी राखिएका अस्पतालहरुलाई मात्र भुक्तानी पठाउने गरेको उनले बताए। यस अवधिमा अर्को फार्मेसीबाट बिल बनेर दाबी आएका अस्पतालहरुको सबै भुक्तानी रोकिएको छ। फार्मेसी नराखेका अस्पतालहरुलाई पुनः जानकारी गराइएको प्रवक्ता ज्ञवालीले बताए।
कतिपय स्वास्थ्य संस्थाहरुले बीमितलाई सेवा उपलब्ध गराउदा लाग्ने खर्च अनुसारको बिल नदिने गरेको गुनासो बोर्डमा पुगेको छ। बोर्डबाट भुक्तानीका लागि बीमा व्यवस्थापन सूचना प्रणालीमा पेस गर्नुपर्ने कागजातहरु नपुग्दा पुनरावलोकनमा दाबीमा अन्यथा हुन सक्ने भएकाले प्रक्रियालाई सहजीकरण गर्न पनि सूचना गरिएको छ।
बोर्डले सूचना जारी गर्दै दाबी भुक्तानीका लागि आफ्नै फार्मेसी भई अस्पतालको नामबाट जारी गरिएको बिल समावेश गर्नुपर्ने जनाएको छ। कुनै कारणबाट अस्पतालको आफ्नै फार्मेसी नभएको गुनासो वा उजुरी आए भुक्तानीमा कठिनाई हुने सूचनामा उल्लेख छ।
अस्पताल भर्ना, प्याकेज, औषधि, प्रयोगशाला तथा अन्य सामग्रीहरुको दाबी गर्दा बीमा बोर्डको दररेट बमोजिम बिल अनिवार्य राख्नुपर्ने बोर्डले जनाएको छ।