पर्यटनमन्त्री किराती र क्यान डीजी अधिकारीबीच सुध्रियो सम्बन्ध, कसरी मेटियो एकाएक तिक्तता ?

बिजमाण्डू
२०८० असार २४ गते १९:४९ | Jul 9, 2023
पर्यटनमन्त्री किराती र क्यान डीजी अधिकारीबीच सुध्रियो सम्बन्ध, कसरी मेटियो एकाएक तिक्तता ?

काठमाडौं। पर्यटनमन्त्री सुदन किराती र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच सम्बन्ध सुध्रिएको छ।

Tata
GBIME
Nepal Life

उच्च स्रोतका अनुसार किराती र अधिकारीबीच शुक्रबार वान टु वान मिटिङ भएको थियो। त्यो मिटिङमा दुवैबीच सौहार्दपूर्ण रुपमा अघि बढ्ने सहमति बनेको हो।

‘हामीले आरोपप्रत्यारोप गर्दा नचाहिने मान्छेले खेल्ने अवसर पाए। हामी दुवै पक्ष मिलेर उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन लाग्नुपर्छ,’ स्रोतले भन्यो, ‘त्यही सहमतिका आधारमा महानिर्देशक अधिकारीले शुक्रबार पर्यटन मन्त्रालयमा जानकारी पठाएका छन्।’

स्रोतका अनुसार मन्त्री किरातीले सोधेका स्पष्टीकरणलाई सम्बोधन हुने गरी जानकारी पठाएका हुन्। ‘महानिर्देशकज्युले शुक्रबार जवाफ पठाउनुभएको थियो। हामीले उहाँले पठाएको पत्र हेर्दैछौं,’ पर्यटन सचिव सुरेश अधिकारीले बिजमाण्डूसँग भने।

९ बुँदे स्पष्टीकरण सोधेपछि पर्यटनमन्त्री किराती र महानिर्देशक अधिकारीबीचको सम्बन्धमा ठूलो दरार आएको थियो। स्पष्टीकरण सोधेपछि किराती र अधिकारीबीच सामाजिक संजालमा आरोपप्रत्यारोप नै चलेको थियो।

कसरी भयो वार्ता ?

स्पष्टीकरण सोधेपछि किराती र अधिकारीबीच तनाव झन् बढेको थियो। किराती जुनसुकै हालतमा अधिकारीलाई हटाउने पक्षमा थिए।

स्रोतका अनुसार हटाए पुनर्स्थापित कसरी हुने भन्नेमा अधिकारी ढुक्क थिए। उनलाई हटाउँदा कानुनी रुपमा पुर्नस्थापित हुने भन्दै केही समूहले मन्त्री किरातीलाई कारवाही रोक्न आग्रह गरेका थिए। त्यही आग्रहअनुसार किराती कारवाहीबाट पछि हटेका हुन्।

‘कानुनी रुपमा बलियो भएर आउँदा काम गर्न झन् समस्या हुने भएकाले कारवाहीबाट पछि हट्न सुझाव दिइएको थियो,’ स्रोतले भन्यो, ‘त्यही समूहले महानिर्देशक अधिकारीलाई पनि मन्त्रीसँग अनावश्यक रुपमा लड्न नहुने भन्दै भेट्न आग्रह गर्‍यो। त्यही आधारमा वान टु वान मिटिङ भएको हो। त्यसले सकारात्मक नतिजा ल्याएको हो।’ स्रोतका अनुसार त्यही बैठकबाट किराती र अधिकारीबीचको तिक्तता मेटियो। र, दुवै पक्ष मिलेर एग्रेसिभ काम गर्ने सहमति बन्यो।

केही समय अघि भएको भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को समेत आलोचना गरेपछि किराती टार्गेटमा परेका थिए। प्रचण्डले किरातीलाई हटाउनेसम्मको गृहकार्य गरेका थिए। तर पूर्व अर्थमन्त्री जनार्दन शर्माको कोटाबाट मन्त्री बनेका किरातीलाई माओवादी नेता वर्षमान पुनले समेत भरथेग गरेपछि प्रचण्ड अप्ठेरोमा परेका थिए। त्यसपछि प्रचण्ड किराती हटाउने विषयबाट पछि हटेका थिए।

यी सबै कारणले दुवै पक्षलाई मिलेर जान बाध्य पारेको हो।