काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताएका छन्।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला अर्थमन्त्रीले खुकुलो मौद्रिक नीतिको वकालत गरेका हुन्। आगामी बर्षको बजेटमार्फत खासै सुधारका कार्यक्रम ल्याउन नसकेका अर्थमन्त्रीले मौद्रिक नीतिबाट अर्थतन्त्र चलायमान बनाउन खोजेका हुन्।
आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताए।
‘खुकुलो बनाउने कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौं। अब आउने मौद्रिक नीतिमा मार्जिनल्ली पोलिसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘मौद्रिक नीतिका टुल्सहरु समयसापेक्ष प्रयोग हुन आवश्यक छ।’
गभर्नर अधिकारी भने चालु बर्षको मौद्रिक नीतिलाई नै निरन्तरता दिने पक्षमा छन्। उनी आगामी बर्ष पनि ऋण बिस्तार गर्ने पक्षमा छैनन्।
‘अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण पक्ष हो। यसको सञ्चालन गर्न हामीले राष्ट्र बैंकलाई जिम्मा लगाएका छौं। अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै पनि आएको छ। कतिपय अवस्थामा कार्यान्वयन भएको छ, कतिपय अवस्थामा हुन बाँकी छ’ मन्त्री महतले भने।
उनले राष्ट्र बैंकले स्वयत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पुर्याउन सक्छ भन्ने कुरालाई पनि ध्यान दिओस् भन्ने पक्षमा आफू रहेको बताए। उनले राष्ट्र बैंकलाई एक तहको स्वायत्तता दिएको बताए।
राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको बताउँ उनले भने, ‘मौद्रिक नीति र वित्त नीति समन्वयमा जानुपर्छ, त्यसको एउटै लक्ष्य हुनुपर्छ। मौद्रिक नीति एउटा बाटोमा, वित्त नीति अर्को बाटोमा जाँदा यसले लक्षित उद्देश्य प्राप्त हुँदैन।’
सरकारले आगामी बर्ष ६ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य लिएको छ। यसका लागि राष्ट्र बैंकले ऋण बिस्तारमार्फत सहयोग गर्नु पर्ने हुन्छ। ऋणको माग बढाउनका लागि राष्ट्र बैंकले ब्याज दर घटाउने नीति अगाडि बढाउनु पर्छ। तर गभर्नर अधिकारी अहिले नै लचक हुने अवस्थामा छैनन्।
उनले बैंकरहरुलाई केही दिनअघि बोलाएर ऋण बिस्तारमा आक्रमक नहुन भन्दै बैंकले बनाउने बजेट पनि त्यही अनुसार निर्माण गर्न भनेका थिए। चालु बर्ष राष्ट्र बैंकले १२.६ प्रतिशतको ऋण बिस्तार लक्ष्य लिएको थियो, तर साढे तीन प्रतिशतको मात्र बृद्धी छ।
आगामी बर्ष अहिले प्रवाह भएको चालु पुँजीलाई सीमामा ल्याउँदै त्यही पैसामार्फत लगानी गर्ने पक्षमा गभर्नर छन्। उनले ऋण बिस्तारलाई प्रभावित गर्ने काउन्टर साइक्लिकल बफरलाई यसपाली कार्यान्वयन गर्ने बताएका छन्। यसले नयाँ ऋण बिस्तरामा अवरोध गर्छछ।
यस्तोमा सरोकारवालाले अर्थमन्त्रीसँग लचिलो मौद्रिक नीतिका लागि पहल गरिदिन भनिरहेका छन्।
अर्थमन्त्री महतले व्याजदर अर्को महत्वपूर्ण पक्ष भएको भन्दै कति व्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको बताए।
‘ऋण लिनेहरुले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ। बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरको कारणले पूँजी प्रवाह हुन सकेको छैन। अहिले हाम्रो अर्थतन्त्रलाई चलायमान गर्नुपर्ने आवश्यकता छ। चलायमान बनाउनका लागि समस्या आइरहेको छ’ उनले भने।
उनले पूँजीगत खर्च भनेजति विनियोजन गर्न नसकिएको बताउँदै जति विनियोजन भएको छ, त्यसलाई पूरै खर्च गर्न सकिए रि–साइकल भएर उत्पादन दिने उल्लेख गरे।
‘अहिले मौद्रिक नीति थोरै खुकुलो बनाएर जाँदा हाम्रो अर्थतन्त्र चलायमान गराउन मद्दत पुग्छ,’ उनले भने।