काठमाडौं। वर्षायाम सुरु भएसँगै काठमाडौंमा तरकारीको मूल्य आकासिएको छ। निरन्तरको वर्षाका कारण आपूर्तिमा कमी भएपछि मूल्य आकासिएको हो।
तरकारी व्यवसायी अनुसार हाल खुद्रा बजारमा उपलब्ध हुने अधिकांश तरकारीको मूल्य किलोमा सय रुपैयाँभन्दा कम छैन। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले आपूर्ति कम भएपछि तरकारीको भाउ एकाएक बढेको बताए।
अहिले खुद्रा बजारमा काउली प्रतिकिलो एक सय १० रुपैयाँ, सिमी किलोको एक सय ६० रुपैयाँ, गाजर किलोको १२० रुपैयाँ, काँक्रो १२० रुपैयाँ, परबल किलोको ११० रुपैयाँमा बिक्री भइरहेको छ।
त्यस्तै, उपभोक्ताले लौका प्रतिकिलो एक सय ३० रुपैयाँ, बोडी किलोको एक सय ६० रुपैयाँ, भिन्डी किलोको एक सय ४० रुपैयाँ, तिरेर किनिरहेका छन्। करेला, राजमा र भेडे खुर्सानीको मूल्य पनि १२० रुपैयाँ पुगेको छ।
पछिल्लो दुई सातामा तरकारीको मूल्य ५० प्रतिशतदेखि शतप्रतिशतसम्म बढेको तरकारी व्यापारीहरु बताउँछन्। समितिले सार्वजनिक गरेको तरकारीको दैनिक थोक मूल्य सूचीमा भिन्डी प्रतिकिलो औसत ११५ रुपैयाँ, भन्टा डल्लो औसतमा ९५ रुपैयाँ, तने बोडी औसत १२८ रुपैयाँ छ।
त्यस्तै, कालिमाटी तरकारी बजारमा घिउसिमी ११६ रुपैयाँ छ। परबलको ८५ रुपैयाँ छ। टाटे सिमीको मूल्य किलोमा १३५ रुपैयाँ छ। करेलाको मूल्य किलोको १०५ रुपैयाँ छ। लौका प्रतिकेजी ७६ रुपैयाँ छ । काउलीको मूल्य ७० रुपैयाँकाे हाराहारीमा छ । गोलभेंडाको मूल्य किलोको ४५ रुपैयाँ छ । यी सबै थोक बजारको मूल्य हो।
करिब दुई साताअघि मात्र कालिमाटी तरकारी बजारमा घिरौला औसतमा ३५ रुपैयाँ थियो। परबल ४५ रुपैयाँ किलो थियो। यस्तै करेला ३५ रुपैयाँ, घिउ सिमी ३८ रुपैयाँ र भन्टा ४५ रुपैयाँ हाराहारी बिक्री भइरहेको थियो।
श्रेष्ठले सिजनको प्रभाव भएको बताउँदै वर्षायाममा सधैं उत्पादन कम आउने र मूल्य बढ्ने बताए। उनले भने, ‘तरकारीहरु कम आइरहेका छन्। आउँदा पनि सामानहरु बिग्रेर आउने गर्छ। यस बेलामा उत्पादनमा पनि असर हुन्छ। वर्षातको प्रत्यक्ष असर उत्पादन भएको, हुनलागेको, भोलिको दिनमा हुने बालीलाई प्रभावित गर्छ।’
उत्पादनलाई बजारसम्म ल्याउन पनि अहिले बाटोको समस्याले गाह्रो बनाएको उनले बताए, ‘मुग्लिनमा पहिरो जाँदा २४ घण्टा भन्दा बढी रोकिनुपरेको छ। यस्ता कारणले पनि लागत बढेको हुन्छ।’
सामान्य अवस्थामा भित्रिने तरकारीभन्दा वर्षामा धेरै कम तरकारी बजारमा आउने विनयले बताए। जेठ २६ सम्म २६ हजार किलो हाराहारीमा भित्रिएकोमा अहिले ११ हजार किलो मात्रै भित्रिएको छ। करेला ५७०० किलोमा पनि झरेको समितिको रेकर्डमा छ।
२० हजार किलोसम्म भित्रिने बोडी अहिले तीन हजार किलोमा सीमित भएको छ।