काठमाडौं। सेवा शुल्क खारेजीबाट दक्ष जनशक्ति पलायन हुन थालेपछि होटलले कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएका छन्। सर्वोच्च अदालतको आदेशपछि तारे होटल र रेष्टुरेन्टमा सेवा शुल्क खारेज भएको थियो।
यो खारेजीसँगै धमाधम जनशक्ति विदेश पलायन हुन थालेपछि प्रोत्साहन भत्ता दिने तयारी भएको हो। काठमाडौंका मेरियट, र्याडिसन, एलफ्ट, होटल याक एण्ड यती, एभरेष्ट, होटल हिमालय र ह्यात प्लेसले प्रोत्साहन भत्ता दिने निर्णयमा पुगेका छन्। केही होटलले प्रोत्साहन भत्ता दिइसकेका छन् भने केही होटलले साउनदेखि प्रोत्साहन भत्ता कार्यान्वयनमा ल्याउने तयारी गरेका छन्।
‘सामान्यतया पाँच तारे होटलका क्लिनरले न्यूनतम मासिक करिब १५ हजार पारिश्रमिक लिँदै आएका थिए। त्यसमा उनीहरुले सेवा शुल्क वापत अतिरिक्त २०-३० हजार रुपैयाँ बुझ्दै आएका थिए,’ एक व्यवसायीले भने,’सेवा शुल्क खारेज भएपछि महँगीमा जीविका चलाउनै मुस्किल भ विभीन्न होटलले आफ्नो गक्ष अनुसार भत्ताको व्यवस्था गर्न लागेका छन्।’
नक्सालमा रहेको मेरियट होटलले कर्मचारीलाई प्रोत्साहन भत्ता दिन थालेको छ। होटलका चेयरम्यान शशिकान्त अग्रवालले पाँच प्रतिशतका दरले प्रोत्साहन भत्ता दिन थालेको जानकारी दिए। ‘कारोबारका आधार बनाएर प्रोत्साहन भत्ता दिने गरेका छौं,’ उनले भने।
यस्तै ठमेलस्थित फेयरफिल्ड मेरियटमा पनि प्रोत्साहन भत्ता कार्यान्वयनमा आइसकेको अग्रवालले जानकारी दिए। ‘पहिला मेनुमा सेवा शुल्क छुट्टै लिँदै आइएको थियो। त्यही अनुसार कर्मचारीलाई वितरण गरिन्थ्यो। अहिले सेवाशुल्क समावेश गरेर मेनु बनाउँदा पनि भार त ग्राहकलाई नै पर्छ,’ उनले भने,’अब स्ल्याव अनुसार भत्ता वितरण गर्दा जस्तै तीन सय जना कर्मचारी छन् भने अतिरिक्त १७ हजार रुपैयाँ भत्ता पाउन सक्छन्।’
लाजिम्पाटस्थित होटल र्याडिसनले पनि कारोबारका आधारमा कर्मचारीलाई भत्ता दिने तयारी थालेको छ। मासिक कारोबारका आधारमा पाँच प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय नजिक पुगेको एक कर्मचारीले बताए। केही दिनअघि होटल व्यवस्थापन र कर्मचारी युनियनबीच प्रोत्साहन भत्ताका बारेमा छलफल भएको थियो।
दरबारमार्गमा रहेको होटल याक एण्ड यतीले जुलाईदेखि कर्मचारीको पदका आधारमा १०देखि १५ हजार प्रोत्साहन भत्ता दिने भएको छ। होटलको मानव संशाधन विभागकी कार्यकारी अधिकृत देवी गिरीले जुलाईदेखि पद अनुसार प्रोत्साहन भत्ता दिने निर्णय भएको जानकारी दिईन्।
‘हामीले फेब्रुअरी अगाडि भर्ती हुनुभएका कर्मचारीका लागि इन्सेन्टिभबापत अधिकतम १५ हजार रुपैयाँ दिने योजना बनाएका छौँ,’ उनले भनिन्,’कर्मचारी युनियनलाई यो विषयमा पत्राचार भइसकेको छ।’
उनका अनुसार हाल होटलमा २८० जना कर्मचारी कार्यरत छन्। ठमेलस्थित होटल एलफ्ट काठमाडौंले सेवा शुल्कको विकल्पमा कर्मचारी भत्ता व्यवस्थापनका लागि आन्तरिक छलफल सुरु गरिसकेको महाप्रवन्धक विक्रम सिंहले बताए। ‘पहिला सेवा शुल्कवापत अधिकतम २० हजार रुपैयाँ पाउँदै आउनुभएको थियो। खारेजीसँगै धेरै समस्या भएको छ,’ उनले भने,’हामीले कर्मचारीको मनोबल बढाउन प्रोत्साहन भत्ता दिने तयारी थालेका छौं।’
कुपण्डोलको होटल हिमालयले प्रोत्साहन भत्ता व्यवस्थापनका लागि छलफल अन्तिम चरणमा पुगेको जनाएको छ। ‘कर्मचारीले पाउँदै आएको सेवा शुल्क खारेजीपछि विकल्पमा निश्चित इन्सेन्टिभ दिने तयारी गर्दैछौं,’ संचालक दिनेश तुलाधरले भने,’ छलफल अन्तिम चरणमा रहेको छ।’
कोभिड-१९ संक्रमणपछि लयमा फर्किएको विश्वभरकै होटल उद्योगमा जनशक्तिको अभाव छ। कोभिडको समयमा विश्वभरका होटल उद्योगले आफ्ना कर्मचारी हटाएका कारण जनशक्तिको कमी भएको हो। नेपालको होटलको अधिकतम ३० प्रतिशत जनशक्ति विदेश पलायन भइसकेको जनाइएको छ।