
विराटनगर। आगामी आर्थिक वर्षको बजेटले परिवर्तन गरेका नीतिगत निर्णयहरू धमाधम कार्यान्वयनमा आइरहेको राजस्वका एक अधिकारीले बताएका छन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डीबी क्षेत्रीले आगामी आर्थिक वर्षको बजेटले संशोधन गरेका निर्णयहरूको कार्यान्वयन तत्काल सुरु गरिएको जानकारी दिएका हुन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था विराटनगर शाखाले गरेको ‘पोस्ट बजेट अन्तरक्रिया’मा प्रमुख क्षेत्रीले ढुवानीमा लागेको मूअकर कार्यान्वयनमा आइसकेको स्पष्ट पारे ।
‘एक पटक लाग्यो, फेरि हट्यो’, क्षेत्रीले भने, ‘यस पटक पुनः लागेको छ । त्यसैले ढुवानी सेवाको पुनः दर्ता धमाधम भइरहेको छ ।’
उनले कुनै पनि व्यक्ति वा संस्थाले मलाई कानुनका बारेमा थाहा भएन भनेर छुट नपाउने उल्लेख गर्दै व्यवसाय गर्नेले पनि यससम्बन्धी ऐन, नियम र कानुनहरू के छन् भनेर अध्ययन गरिरहनु पर्ने सुझाव दिए ।
उनले करका दरमा परिवर्तन हुँदा थोरै समय असजिलो अनुभव भए पनि निरन्तरको अभ्याससँगै करदाताले सहज महसुस गर्ने बताए।
संस्थाका शाखा अध्यक्ष सिए अश्विनी वंशलले लामो समयदेखि मूअकर र अन्तःशुल्क ऐनमा भएका त्रुटिलाई सरकारले अझै सच्याउन नसकेको टिप्पणी गरे। अध्यक्ष वंशलले मूअकरमा एकल दर हुँदा समस्या नभएको तर अन्तःशुल्कमा नकारात्मक दरसमेत देखिँदा व्यवसायी अप्ठ्यारोमा परेको धारणा प्रकट गरे ।
समयअनुसार अन्तःशुल्कका दरमा घटबढ गर्नुपूर्व अर्थ मन्त्रालयले बृहत् छलफल गर्नुपर्ने उनको भनाई छ। कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ कोशी प्रदेशका अध्यक्ष सिए मनोज अधिकारीले चार्टर्ड एकाउन्टेन्टहरूले आफू करको कन्सल्ट्यान्ट हुँ कि लेखापरीक्षक भन्ने छुट्याउन सक्नुपर्ने कुरामा जोड दिए ।
सिए अधिकारीले एक वर्ष कुनै वस्तुमा मूअकर लगाउने, अर्को वर्ष हटाउने र फेरि अर्को वर्ष लगाउने नीतिले सम्पूर्ण राजस्वप्रणालीमै अस्थिरता सृजना गरिरहेको आरोप लगाए ।
कार्यक्रममा सिए प्रवीणराज काफ्लेले कोशी प्रदेशका १ सय लेखापरीक्षकलाई बजेटपछिका करनीति र दरका बारेमा प्रशिक्षण दिएका थिए ।