
काठमाडौं। नेपाल वायुसेवा निगमको दुई वटै न्यारोबडी जहाज ग्राउण्डेड भएको छ। दुई वटा न्यारो बडी जहाज ग्राउण्डेड भएपछि निगमको उडान तालिका प्रभावित बनेको छ।
एक साताअघि निगमको न्यारोबडी जहाज ९ एन-एकेएक्स जहाजको रिभर्सलमा समस्या आएपछि मर्मतका लागि भारतको हैदरावाद पठाइएको थियो। त्यो जहाज मर्मत गरेर नआउँदै निगमको अर्को न्यारोबडी ९ एन-एकेडब्लु कलसाइनको जहाजको ब्रेक प्याडमा समस्या आएर ग्राउण्डेड भएको छ।
ब्रेक प्याड तत्कालै फेरेर जहाज उडान गर्न सकिन्छ। तर निगम व्यवस्थापनले सामान्य पाटपुर्जा समेत जगेडा नराख्दा ग्राउण्डेड भएको जहाजको मर्मत अनिश्चित बनेको छ। निगम व्यवस्थापनले केही वर्षअघिसम्म जगेडा पाटपुर्जा व्यवस्था गर्दैआएको थियो। तर निगमका कार्यकारी अध्यक्षमा युवराज अधिकारी आएपछि जहाज मर्मत सम्भारका लागि आवश्यक न्यूनतम पाटपुर्जा समेत राख्न छाडिएको छ।
‘निगमलाई चाहिने न्यूनतम पाटपुर्जा पनि नराख्दा सामान्य मर्मतका लागि पनि जहाज विदेश नै लैजानुपर्ने अवस्था सिर्जना भएको छ,’ निगमका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘यसले निगमको दैनिक उडान मात्रै प्रभावित भएको छैन, विश्वसनीयतामा पनि प्रश्न खडा भएको छ।’
ती कर्मचारीका अनुसार पछिल्लो समयमा सामान ल्याएर राख्ने भन्दा पनि भाडामा ल्याएर कमिसन लिने प्रवृत्ति मौलाएको छ। ‘१५ दिनका लागि भनेर भाडामा ल्याइएको इन्जिन एक वर्ष भन्दा बढी चलिसकेको छ। कमिसनका लागि आफूसँग भएको इन्जिन नबनाएर भाडाको चलाएबाटै अहिलेको व्यवस्थापनको नियत स्पष्ट हुन्छ,’ उनले भने, ‘४६ अर्ब ऋण बोकेको त्यो पनि पेन्सनधारी संस्थाबाट लिएर चलाएको संस्थाको बेथितिमा कुनै निकाय पनि बोलेको छैन। यो भन्दा उदेयकलाग्दो के हुन्छ ?’
नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट निगमले ठूलो मात्रामा ऋण लिएको छ। त्यसको साँवा-ब्याजको किस्ता नियमित गर्न निगमलाई निकै गाह्रो भएको छ।
ती कर्मचारीका अनुसार निगममा भइरहेको बेथितिमा तालुकदार मन्त्रालय झन् बढी गैरजिम्मेवार देखिन्छ। ‘सुरुमा पर्यटनमन्त्री सुदन किरातीले हप्कीदप्की गर्नुभयो। त्यो बाहिर भाइरल हुन मात्रै रहेछ,’ उनले भने, ‘अहिले उहाँ चुपचाप हुनुहुन्छ। दुई वटा जहाज नचलेको विषयमा पनि उहाँलाई खासै चिन्ता छैन।’
बिग्रियो उडान तालिका
बैंकक जाने तालिका रहेको न्यारोबडी जहाज ग्राउण्डेड भएपछि उक्त उडान निगम व्यवस्थापनले वाइडबडीमार्फत उडान गर्ने योजना बनाएको छ।
‘आज बिग्रिएको जहाज १० दिन अघिमात्रै बैंग्लोरमा मर्मत सम्भार गरेर ल्याइएको थियो। तर यति छिट्टै समस्या आउनु अस्वाभाविक हो,’ निगम स्रोतले भन्यो,’हैदरावाद पठाइएको जहाज शुक्रबार आउने तालिका रहे पनि अझै टुंगो छैन। यसले सबै उडान प्रभावित भएको छ।’
एउटा जहाज ग्राउण्डेड हुँदा एक सातादेखि चारवटा उडान प्रभावित भएको उनले जानकारी दिए। एक सातादेखि मलेसिया, दुबई, मुम्बई लगायत गन्तव्यका उडान तालिका प्रभावित भएको छ।
उनका अनुसार निगमको एउटा न्यारोबडी जहाज नहुँदा २१, २७, २८ र ३० तारिखको मलेसिया, दुबई, मुम्बईतर्फका उडान प्रभावित भएको हो। शुक्रबार हुनुपर्ने मुम्बई उडान भने निगमले रद्द नै गरेको जनाइएको छ।
‘एउटा न्यारोबडी जहाज मेन्टिनेन्सका लागि पठाइँदा ठूलो जहाजमार्फत उही किसिमको टिकट बिक्री गरेर उडान गर्न सकिन्थ्यो। तर निगम व्यवस्थापनले यसका लागि पाइलट नै व्यवस्थापन गर्न सकेको छैन,’ ती कर्मचारीले भने,’ठूलो जहाजमा यात्रु पठाउन पाइलट छैनन्।’