
काठमाडौं। बुधबार राति ११:३० बजे नेपाल वायुसेवा निगमको फ्लाइट नम्बर २२९ अन्तर्गत काठमाडौं-दुबई उडानका लागि १४० जना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका थिए।
तर निगमका दुईमध्ये एउटा न्यारोबडी जहाज ९ एन-एकेएक्स जहाज मर्मत सम्भारका लागि पठाइएको थियो। दुइटा वाइडबडी जहाज त्यही रात बैंकक र दिल्ली उडान गरेर काठमाडौं फर्किएका थिए।
त्यसको विकल्पमा २७४ सिट क्षमताको वाइडबडी बाहेकको विकल्प थिएन।
वाइडबडी जहाज उडान गर्ने तयारी रहे पनि व्यवस्थापनले पाइलट व्यवस्थापन गर्न नसकेपछि यो उडान स्थगित भयो।
‘हिजो राति ११:३० बजेको उडान आज विहान ११:३० बजे राखिएको थियो। तर निगमका वरिष्ठ क्याप्टेन विजय लामा चित्लाङ गएको भन्दै उडान दिउँसो सारियो,’ निगमका एक कर्मचारीले भने।
उडान स्थगित भएपछि काठमाडौं र दुबईमा रहेका यात्रुलाई होटलमा राखिएको छ। यो उडान अहिले १ बजे हुँदैछ। काठमाडौं-दुबईका लागि २४० जना र दुबई-काठमाडौंका लागि १८० जना यात्रु छन्।